मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधामा ११ स्रष्टालाई सम्मानित गर्ने भएकाे छ ।झरनाले ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा आयोजना गर्ने महाेत्सवमा उनीहरुलाई पुरस्कारसहित सम्मान गर्ने भएकाे हाे ।
शनिबार हेटौंडामा पत्रकार भेटघाट गर्दै झरनाले उक्त पुरस्कार तथा महाेत्सवमा बारेमा जानकारी दिएकाे हाे । झरना साहित्यिक परिवारले आगामी ५ र ६ फागुनमा महेन्द्र मावि, बकैयामा ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सव र महाेत्सव कार्यक्रम गर्ने झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महाेत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचनलगायतको कार्यक्रम हुनेछ ।
झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुकलाई सम्मानित गर्ने भएकाे छ । बकैयाका साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेकाे उक्त सम्मानबाट यसअघी भैरहवाका प्रा. डा. कपिल प्रसाद लामिछाने (२०८१), काठमाडौंका डा. गीता त्रिपाठी (२०८०), प्रा.डा. जीवेन्द्रदेव गिरी (२०७९), प्रा.डा.देवी नेपाल (२०७८), प्रा.डा. भीम खतिवडा (२०७७), डा. नवराज लम्साल (२०७६) सम्मानित भएका छन् ।
यस्तै मुक्तक विधामा योगदान गरेवापत प्रदान गरिने नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ बाट रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई सम्मानित गरिने भएकाे छ । साहित्यकार रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेकाे यो पुरस्कारबाट यसअघि इलामका शिव अधिकारी (२०८१), मोरङका बाबुराम पोखरेल (२०८०), रुद्र अधिकारी (२०७९), वियोगी बुढाथोकी (२०७८), ज्ञानुवाकर पौडेल (२०७७), उषा शेरचन (२०७६) सम्मानित भइसकेका छन् । यो पुरस्कार चैतको चौंथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिनेछ आयोजकले जनाएकाे छ ।
यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिदै आएकाे नगद १५ हजार ५ सय ५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका साहित्यकार डा. निमेष निखिल सम्मानित हुने भएका छन् । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेकाे उक्त सम्मानबाट यसअघि देवराज खरेल (२०८१), साम्ब ढकाल (२०८०), कथाकार नवराज शर्मा (२०७९), साहित्यकार आर.सी. रिजाल (२०७८), कवि आर.आर. चौलागाईं (२०७७), व्यङ्ग्यकार रामचन्द्र आचार्य (फुर्सती) (२०७६) सम्मानित भएका छन् ।
साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ८ हजार ५ सय रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल सम्मानित हुने भएकी छिन् ।साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेकाे यो सम्मानबाट यसअघि मकवानपुरका बिर्खे अञ्जान (२०८१), स्याङ्जाका मिलन समीर (२०८०), सिन्धुलीका अमला अधिकारी (२०७९), धादिङका यात्रीप्रकाश पाण्डे (२०७८), नुवाकोटका सुमित्रा सुमी (२०७७), काठमाडौंका विनोदविक्रम केसी (२०७६) सम्मानित भएका छन् ।
यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी संगीता थापा सम्मानित हुने भएकी छिन् । साहित्यसेवी राजन दङ्गालले आफ्नी छोरीको स्मृतिमा स्थापना गरेकाे उक्त सम्मानबाट यसअघि गजलकार बबी थापा (२०८१), गजलकार बिमला कार्की “सुसं” (२०८०), कवि अनिता न्यौपाने (२०७९), कवि शान्ति प्रियवन्दना (२०७८), साहित्यकार रुकु कार्की (२०७७), कवि विना थिङ तामाङ (२०७६) सम्मानित भएका छन् ।
मकवानपुरको साहित्यकाे सेवा गरे वापत प्रदान गरिदै नगद ७ हजार ७ सय ७७ रुपैंया राशिकाे सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली सम्मानित हुने भएका छन् । साहित्यसेवी तुलसी गिरीले स्थापना गरेकाे उक्त सम्मानबाट यसअघि बाराकी नियात्राकार अप्सरा पुडासैनी (२०८१), भरतप्रसाद सापकोटा (२०८०), कृष्ण प्रसाद चौलागाईं (२०७९), बेल प्रसाद दाहाल (२०७८), मनहरी लामिछाने (२०७७), साहित्यसेवी मुक्तिगोविन्द वैद्य (२०७६) सम्मानित भएका छन् ।
मकवानपुरमा रही संस्थाको गतिविधिलाई पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिदैं आएकाे नगद ११ हजार १ सय ११ रुपैंया सहित गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका पत्रकार दीपक अधिकारी सम्मानित हुने भएका छन् । गोकर्ण गौतमको परिवारद्वारा स्थापना गरिएको उक्त सम्मान यसअघि मकवानपुरका ज्योति न्यौपाने (२०८१), मकवानपुरका रामकुमार एलन(२०८०), भानुभक्त आचार्य (२०७९) सम्मानित भएका छन् ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने उदेश्यले स्थापना भएकाे नगर ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी सम्मानित हुने भएकी छिन् । बकैयाका चन्द्रकुमार राईले स्थापना गरेकाे उक्त सम्मानबाट यसअघि सन्तोष वि.क.(२०८१), अजर फुयाँल (२०८०), स्वस्तिका दाहाल (२०७९), विजय दोङ (२०७८), दीपशिखा घिमिरे (२०७७) सम्मानित भएका छन् ।
बकैयामा रही कला क्षेत्रकाे माध्यमबाट योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी सम्मानित हुने भएका छन् । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेकाे उक्त सम्मानबाट यसअघि मुर्तिकार ओमभक्त भण्डारी (२०८१), बाँसुरी बादक विष्णु घतानी (२०८०), ऋषि केवि (२०७९), कलाकार बाबुलाल वाईवा (२०७८) सम्मानित भएका छन् ।
यसैगरी छन्द कवितामा योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ९ हजार ९ रुपैयाँ राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल सम्मानित भएकी छिन् । जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेकाे उक्त सम्मानबाट यसअघि ललितपुरका रत्न विरही घिमिरे (२०८१) सम्मानित भएका छन् ।
यस वर्ष स्थापना भएकाे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी सम्मानित हुने भएका छन् । आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १११् राशिकाे उक्त सम्मान लोक गीतसंगीतमा सेवा गरेबापत प्रदान गरिने छ ।
बकैया ४ स्थित महेन्द्र माविकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे सहयोगमा साहित्यिक महाेत्सव हुने भएकाे हाे । पत्रकार भेटघाटमा झरनाकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी, सचिव नीलहरि ढुङ्गेल लगायत उपस्थित थिए ।
मकवानपुर । बागमती प्रदेशमा सडक पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोडिने भएको छ । प्रदेश सरकारले सडक निर्माणलाई स्थानीय उत्पादन र जीविकोपार्जनसँग जोड्ने नीति अघि सारेको हो ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सडकले सहरको सामान गाउँ पुर्याउने तर गाउँको उत्पादन सहर नल्याउने हो भने त्यसले परनिर्भरता मात्र बढाउने बताए। “प्रादेशिक सडकमार्फत जीविकोपार्जन सिर्जना सम्बन्धी निर्देशिका तयारीको चरणमा रहेको छ” मन्त्री देवकोटाले भने “सडक पूर्वाधारको एकतर्फी प्रवाहलाई रोक्नुपर्नु पर्छ ।” प्रदेशमा सडक सञ्जाल विस्तारमा लोभलाग्दो प्रगति भए पनि त्यसको आर्थिक प्रतिफल कमजोर रहेको उनले बताए ।
“हामीले गौरव गर्न लायक बाटो त बनायौँ, तर त्यो बाटोले के बोक्यो? सहरबाट चाउचाउ र एलपी ग्यास बोकेर गाउँ गयो। तर फर्केर आउँदा के आयो? केही पनि आएन, गाडी रित्तै फर्कियो” उनले भने । करोडौं खर्चेर बनाएको सडकमा दैनिक न्यून सवारी चाप हुनु र आर्थिक गतिविधि नहुनुले लगानीको औचित्यमाथि प्रश्न उठ्ने उनले बताए । ‘ट्रेडिङ इकोनोमी’ होइन, ‘स्वाभिमानी अर्थतन्त्र’ नेपालको अर्थतन्त्र भ्याट र करमा आधारित ‘ट्रेडिङ इकोनोमी’ (व्यापारिक अर्थतन्त्र) मा सीमित भएको भन्दै मन्त्री देवकोटाले चिन्ता व्यक्त गरे । विदेशबाट सामान ल्याउने र कर उठाएर राज्य चलाउने परिपाटीको साटो अब आफ्नै माटोमा ‘स्वाभिमानी अर्थतन्त्र’ निर्माण गर्नुपर्ने उनले बताए ।
“बागमती प्रदेशका १३ जिल्लामा रहेका सम्भावनाका क्षेत्रहरू पहिचान गरी सडक सञ्जालसँग जोड्न सके मात्र ‘हरित उद्यम’ र स्वाभिमानी अर्थतन्त्र निर्माण हुनेछ” उनले भने । विकासका काममा अन्तर–मन्त्रालय समन्वयको अभाव रहेको औंल्याउँदै उनले भने “कृषि, वन, पर्यटन र उद्योग मन्त्रालयसँग उत्पादनको ज्ञान र बजेट छ, तर उनीहरूलाई सडक कहाँ बनेको छ भन्ने जानकारी छैन। अर्कोतर्फ, भौतिक मन्त्रालयले सडक त बनायो तर त्यहाँ के फल्छ भन्ने जानकारी राखेन।” यही सूचना र समन्वयको खाडल पुर्न अब भौतिक पूर्वाधार मन्त्रालयले कृषि र वन मन्त्रालयसँग भएका ‘पकेट क्षेत्र’ को तथ्याङ्क लिएर सडक सञ्जाललाई पुनः परिभाषित गर्ने उनले बताए ।
मन्त्री देवकोटाले इन्जिनियरहरूलाई सडकलाई केवल रिटेनिङ वाल र कालोपत्रेको प्राविधिक आँखाले मात्र नहेर्न आग्रह गरे । “तपाईंहरूले ५–१० प्रतिशत ध्यान यसमा पनि दिनुहोस् कि, मैले बनाएको सडकले त्यहाँको रैथाने उत्पादन, जुनार वा जडिबुटी बजार पु¥याउन कसरी मद्दत गर्छ ?” उनले प्रश्न गरे ।
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले भौतिक पूर्वाधारमा ठूलो फड्को मारे पनि त्यससँगै जोडिनुपर्ने नागरिकको जीविकोपार्जनको पाटो ओझेलमा परेको बताए । विगतमा साँघुरा ट्र्याक खन्दा सँगै आउने आयआर्जनका योजना अहिले फराकिला र पक्की सडक बन्दा छुट्नु विडम्बनापूर्ण रहेको उनले बताए । “मन्त्रीको सोच अनुरुप मन्त्रालय अघि बढेको छ” उनले भने “ठूलो महत्वाकांक्षा भन्दा पनि सुरुमा सानो र नमुना कार्यक्रमबाट काम थालनी गर्दै। सडकलाई उत्पादनसँग जोड्ने विषयमा प्रशासनिक र नीतिगत सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”
चैतभित्र निर्देशिकाको मस्यौदा तयार हुने यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका निर्देशक नविन कुमार सिंहले बताए । ‘प्रादेशिक सडकमार्फत जीविकोपार्जन सिर्जना’ सम्बन्धी निर्देशिका तयारीका लागि कार्यशालामार्फत ’टास्क फोर्स’ले विज्ञहरूको सुझाव संकलन गरिरहेको उनले बताए । “विज्ञहरूबाट प्राप्त सुझावलाई संकलन गरेर आगामी दुई महिनाभित्र मस्यौदा तयार हुनेछ” उनले भने । उक्त निर्देशिका मन्त्रिपरिषदबाट पास भएपछि सडक योजना छनौट र निर्माण गर्दा यो नयाँ मोडेल कार्यान्वयनमा आउने छ ।
मकवानपुर । गीतकार किरण खरेल १ लाख राशीको पुरस्कारबाट हेटौंडामा सम्मानित भएका छन् ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा बिहीबार ‘बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार खरेललाई सम्मान गरिएको हो । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले सम्मान तथा साङ्गीतिक कार्यक्रमको आयोजना गरि खरेललाई १७ औ सस्करणको उक्त पुरस्कार प्रदान गरिएको हो ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका थिए ।
२०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ … सदावहार गीतका सर्जक हुन गीतकार खरेल । नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए खरेलको ‘ए दूरका सितारा..’ बोलको गीत पहिलाे रचना हाे ।
खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको बताइएको छ ।
गीतकार खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
सोही अवसरमा खरेललाई गीतकार संघले समेत सम्मान गरेको छ । साङ्गीतिक कार्यक्रममा गीतकार खरेलका गीत गायीका निशा देसार, स्थानीय तथा दार्जिलिङका गायक पवन गोले (हावासँगै बगूँ भन्छ ..का गायक) लगायतले आफ्नो प्रस्तुतिले माहौल तताएको थिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको छ ।
मकवानपुर । यस वर्षकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट गीतकार किरण खरेल सम्मानित हुने भएका छन् । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले खरेललाई १ लाख राशीकाे उक्त पुरस्कारबाट हेटौंडामा आज (बिहीबार) सम्मान गर्न लागेकाे हाे ।
बिहीबार हेटौंडामा सांगीतिक कार्यक्रमसहित गीतकार खरेललाई १७ औं संस्करणकाे ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत सात दशकदेखि निरन्तर कलम चलाउँदै आउनु भएका खरेलले आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत लोकप्रिय गीतहरू सिर्जना गरेका छन् । खरेलले त्यसयता सात सयभन्दा बढी गीत लेखेका छन् । खरेलले २०२० को दशकमा बनेको नेपाली फिल्म माइतीघरको लागि लेखेकाे ‘वसन्त नै बस्न खोज्छ यहाँ’ गीत नसुनेका सायदै नेपाली होलान् ।
उमेरको ८७ औं वर्षमा रमाउँदै गरेका उनै खरेल बागमती प्रदेशकाे राजधानी हेटौंडामा सम्मानित हुने भएका हुन् । यसअघी भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले १७ औं संस्करणकाे उक्त पुरस्कार खरेललाई प्रदान गर्ने निर्णय गरेकाे थियाे । माइतीघर अगाडि नै गीतकारका रुपमा नेपाली आधुनिक संगीत क्षेत्रमा परिचित भइसकेका थिए । ‘ए दूरका सितारा..’ बोलको गीत उनकाे पहिलाे रचना हाे । खरेलका जिन्दगीलाई जीत होइन…, हिमालको काखमा छ मेरो सानो गाउँ…, मन्दिरमा छ कि मूर्तिमा माया…, तारामात्र होइन तिमीलाई… लगायतका गीतहरू कालजायी छन् ।
उक्त पुरस्कारबाट यसअघि अम्बर गुरूङ , प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान, राजेन्द्र थापा र निर शाह सम्मानित भइसकेका छन् ।
चारवटा गीत संग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालको कार्यक्रम निर्माता तथा सञ्चालकको रुपमा जिम्मेवारी सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न पुरस्कार एवम् विभूषणबाट विभूषित खरेलले आफ्नो कलमको माध्यमबाट नेपाली गीत सङ्गीतलाई देश विदेशमा चिनाउन पुर्याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्ष उक्त पुरस्कारबाट सम्मानित गर्न लागेको जनाएको महासचिव छवि अनित्यले बताए ।
कार्यक्रमकाे तयारी पुरा भएकाे तथा खरेलका साथमा गीतकारहरु राजेन्द्र थापा तथा बी.बी. थापा र नारायणगोपाल प्रतिष्ठानका अध्यक्ष दिपक केसी समेत हेटौडा आइपुगेका छन् । सांगीतिक कार्यक्रममा गायिका निशा देशारसँगै दार्जिलिङबाट गायक पवन गोले समेतकाे सहभागिता रहने आयोजकले जनाएकाे छ । यसका साथै स्थानीय कलाकारहरुकाे समेत प्रस्तुति रहने बताइएकाे छ ।
प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम विराग युवा सङ्गीत पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रदान गर्दै आएकाे प्रतिष्ठान महासचिव अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।