मकवानपुर । हेटौंडा–१४ उत्तरपानीमा रहेको टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएकाे छ । समितिबाट सञ्चालित २ सय ८८ वटा धारा, डिप बोरिङ्ग तथा पानीटंकी सहितको खानेपानी योजना शुक्रबार बोर्डमा हस्तान्तरण गरिएको हो । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नम्बर वडाको सम्पुर्ण क्षेत्रकाे खानेपानीको व्यवस्थापन बोर्डमा आएको छ ।
उक्त समिति बोर्डमा हस्तान्तरणपछि मंसिर महिना देखिनै २ सय ८८ धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । यस अघि नै मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् ।
बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको जनाएको छ । समितिमा कार्यरत अवकाश पाएका कर्मचारी राम सिं थिङ्ग र जय बहादुर थिङ्गलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, उपमेयर राजेश वानियाँ, वडाध्यक्ष दिपक खड्कालगायतले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिदाईसमेत गरिएको छ ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको सभाअध्यक्षता भएको कार्यक्रममा लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लामाले खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको बताइन् ।
उपमेयर राजेश बानियाँले निर्वाचनका बेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पूरा गरिरहेको बताए । वडाका अध्यक्ष दीपक खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नहुने बताए । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
हाल बोर्ड अन्तर्गत वडा नं. १४ मा १ हजार ६ सय ९८ वटा धाराहरु सञ्चालनमा रहेको छ । बोर्डको सेवा क्षेत्र भित्र हाल २६ हजार ५ सय धारा रहेको छ । बोडले प्रति दिन २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको अध्यक्ष प्रताप विष्टले बताए ।
हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः उपाधी रिगल हेटौँडा रिसोर्टको पोल्टामा
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडामा भएको सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी रिगल हेटौँडा रिसोर्ट मकवानपुरको पोल्टामा परेको छ । बुधबार प्रतियोगिताको उपाधीका लागि भएकाे फाइनलमा रियल स्टार क्लबलाई हराउँदै रिगल हेटौंडा रिसोर्टले उपाधी हात पारेको हो ।
एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधी रक्षाकालागि रिगलले रियललाई ४–० गोल अन्तरको जीत निकालेको हो । उपाधी रक्षासँगै रियल हेटौडाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात गर्याे भने उपविजेतामा चित्त बुझाएकाे रियल स्टारले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
रिगलकाे जीतमा पहिलो हाफकाे खेलमा मोहित गुरुङले १ गाेल गरे । त्यस्तै दोस्रो हाफको खेलमा सुजल श्रेष्ठले १ गोल तथा अनिष महर्जनले २ गोल गर्दै जीत पक्का गरेका थिए । फाइनलखेलकाे म्यान अफ द म्याच रिगलका अनिष महर्जन घोषित भए ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टारले फाइनलमा स्थान बनाएको थियो । यस्तै, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
रिगलका मोहित गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रिगलकै क्रिशल मोक्तान भए । उत्कृष्ट रक्षक रियल स्टारका उर्गेन रुम्बा, उत्कृष्ट मिडफिल्डर रिगलका रितिक श्रेष्ठ, उत्कृष्ट फरवार्ड रिगलकै कप्तान प्रितम स्याङ्बो, उत्कृष्ट प्रशिक्षक पनि रिगलकै विजयलाल श्रेष्ठ घोषित भए ।
एफसी मुण्डियाल क्लब अध्यक्ष सुविन घिमिरे अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियाेगिताकाे समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हाे । प्रतियाेगिता विजेता तथा उपविजेतालाई नगर उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । “राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड” भन्ने नाराका साथ युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले बताए । प्रतियोगिता संचालनबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौँडामा आज बुधबारबाट ‘हेटौँडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता मंसिर १७ गतेसम्म संचालन हुनेछ ।मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीले सहभागिता जनाउने छन् । सोमबारसम्म एक सय एकजना खेलाडीले नाम दर्ता गराइसकेको उनले जानकारी दिए ।
स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रत्येक खेलाडीले दश हजार तिरेर रजिस्ट्रेसन गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्नेको सुविधा भने आयोजकले व्यहोर्ने छ । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् ।
यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए । यस्तै, छैटाैँदेखि १०औँ स्थानसम्मका प्रत्येक प्रतियोगीले नगद १५ हजार, ११औँदेखि १५औँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको मकवानपुर जिल्ला बुद्धिचाल संघले जनाएकाे छ ।
मकवानपुर । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मनोसामाजिक तथा मानसिक स्वास्थ्य बिषयक स्यहारकर्ताहरुकालागि अभिमुखीकरण कार्यक्रम भएको छ । कोशिश मकवानपुरको आयोजनामा हेटौंडामा मंगलबार भएकाे कार्यक्रम सहभागीहरूले हिंसा निवारण, मनोसामाजिक स्वस्थ्य तथा लैङ्गिक समानताको सवालमा छलफल गरेका थिए ।
कार्यक्रममा स्वास्थकर्मी निर्मला लामाले लिङ्गको कारण हैन क्षमता सीप र योग्यताको आधारमा व्यबहार गर्नुपर्ने बताइन् । ‘आफूले आफैंलाई जित्न सकेको दिन व्यक्तिले संसार जित्छ’ लामाले भनिन् ‘सकारात्मक उर्जाको कारण हिंसा न्यूनीकरण हुनमा जग बस्छ।’
भिमफेदी, मनहरी र हेटौंडाको विभिन्न वडाहरूमा रहेका मनोसामाजिक समस्या भएकाहरूको स्याहारकर्तालाई सचेतनाको रूपमा कार्यक्रम गरिएको कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् ।महिला, पुरुष वा अन्य जुनसुकै लैङ्गिक पहिचान भए पनि उनीहरूमाथि पहिचानको रुपमा हिंसा गर्न नहुने स्याङ्तानले बताइन् । सोचाइ र दृष्टिकोण सकारात्मक राख्न सहभागीलाई जानकारी गराइएको थियो ।

राज्यको हरेक तहमा विभिन्न प्रकारको हिंसा भोग्न परेको महिला तेस्रो लिङ्गी उपमा लामाले बताइन् । शारीरिक अवस्था हेरेर नभइ, एउटा सन्तानको रुपमा स्वीकार गर्न उनले सहभागीलाई अनुरोध गरिन् । यसैगरी कार्यक्रममा मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठले मानव अधिकारको सम्मानमा लिङ्ग वा बर्गको सवालमा हेरिनु नहुने बताइन् ।
रिकभरी समूहका प्रतिनिधि उद्वब केसीले बालबालिका लागुऔषधमा फस्नुको कारण अभिभावकको कमजोरी हुनसक्ने बताए । उचित रेखदेख र निगरानीको अभावमा बालबालिका खराब लतमा फस्ने गरेको केसीले बताए ।कार्यक्रममा जिसस मकवानपुरकी पूर्व उपसभापति भगवती पुडासैनीले आफूले हिंसा नगर्ने, हिंसा गरेको नसहने र हिंसाको प्रतिकार गर्नुपर्ने सुझाब दिइन् ।
अभिमुखीकरणमा लैंगिक हिंसाबारे जानकारी र यसको कारणले हुने मनोसमाजिक समस्या,लैंगिक हिंसा परेमा सहयोगका लागि उपलब्ध स्रोत र साधनबारे जानकारी, सहभागीहरुले मानसिक स्वास्थ्यको बारेमा जानकारी तथा व्यक्तिगत हेरचाहलगायतकाे जानकारी गराईएको हो ।

यसैगरी हिंसा भएमा सम्बन्धित निकायमा वकालत गर्ने बारे उत्प्रेरित गरिएको छ। लैङ्गिक हिंसाका प्रकार र मनोसामाजिक असरहरु मानसिक सुस्वास्थ्य तथा व्यक्तिगत हेरचाहको बारेमा छलफल गरिएको थियो ।
हिमाराइट्स मकवानपुर प्रमुख तथा गैसस मकवानपुर उपाध्यक्ष कुमारी वाइबा,कोशिश मकवानपुर प्रमुख सुनिरा स्याङ्तान, नारी संरक्षण केन्द्रका जेरोम घले, फ्रेन्स हेटौंडाकी उपमा लामा, स्वास्थकर्मी निर्मला लामालगायतले अनुभव आदनप्रदान तथा सहजीकरण गरेका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले खुद्रा सामानसहित चार वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार हेटौडा १५ रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिल बिजक भन्दा बढी खुद्रा सामान ल्याएकाे पाइए पछि ट्रकहरुलाई नियन्त्रणमा लिएको हो ।
हेटौडा १५ रातोमाटेस्थित पुर्व–पश्चिम सडकखण्डबाट विरगञ्जबाट काठमाडाौतर्फ जादै गरेकाे ना ८ ख ४८४२ नम्वरको डब्बा गाडी, प्रदेश ३–०१–००५ ख ९८५१ नम्वरको ट्रक, ना ३ ख ५९५० नम्वरको ट्रक र विरगञ्जबाट बुटवलतर्फ जादै गरेकाे ना ४ ख ८७२७ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार विरगञ्जबाट आउँदै गरेको उक्त सवारी साधनबाट बिल बिजक भन्दा बढी खुद्रा सामान बरामद भएपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।