मकवानपुर । मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट सालको चिरान काठ बरामद गरेको छ । प्रहरीले बागमती वडा नं.२ भुर्कुसबाट २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार मध्यराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस अर्थात २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरिएकाे हो । उक्त परिमाणकाे काठसहित ट्रिपर र चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चालक माेक्तान तथा उक्त टिपरलाई काठसहित अनुसन्धान तथा कारवाहीको लागि आइतबार डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवारी कला र भाषा संरक्षण र प्रबर्द्धनका लागि निरन्तर लागिरहेको बताएका छन् ।शनिवार नेवा गुंठी खल मकवानपुरको तेश्रो साधरण सभामा बाेल्दै उनले यस्तो बताएका हुन् ।
नेवारी समुदायले राजनीतिकदेखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत उल्लेख योगदान दिएकाे मन्त्री श्रेष्ठले बताए । ‘हिजोको दिनमा उपत्यकामा मात्र नेवार समुदायको बाहुल्यता थियो र त्यहिबाट कलाको संरक्षण प्रबर्द्धन भईरहेको थियो’ उनले भने आज नेपालको धेरै भु-भाग र शहरहरुमा पनि विभिन्न माध्यमबाट फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जर्गेना गरि महत्वपूर्ण योगदान खेलेकोमा सम्पूर्ण नेवार समुदाय धन्यवादको पात्र रहेकोका छन् ।’
संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योगधन्दासमेत गरि रोजगारी सिर्जना गर्दै राष्ट्रको पुजी निर्माणमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहेको उनकाे भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपूर्ण उपस्थित रहेको भन्दै उनले नेपालको परिवर्तनमा नेवार समुदायको थुप्रै अग्रज नेताहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
नेवार समुदायको योगदानका कारण बागमती प्रदेशले नेवारी भाषा भाषालाई कामकाजको भाषाको रुपमा स्थापित गरेकाे उनले बताए । नेवार समुदायले संस्कृती जगेर्नाकाे नाममा भोज भतेर मात्र नगरी फरक ढंगबाट हेटौंडा बजारमा जन्मेदेखि मर्ने बेलासम्मको विधि र संस्कृतीलाई पुस्तान्तरण गर्न जरुरी रहेको उनकाे भनाइ थियो ।
नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री एकालाल श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य लक्ष्मीदेवि श्रेष्ठ, नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट संचालक पुरणबहादुर जोशी लगायतको उपस्थिति रहेको थियो।
मकवानपुर । नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन शुक्रबार हेटौडामा भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायलाई अगाडि बढाउन मन्त्रालय सधैं तत्पर रहेको बताए ।
सर्वसुलभ औषधिको उपलव्धतालाई मध्य नजर गर्दै यसलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाउनु पर्छ मन्त्री श्रेष्ठले भने ‘औषधी व्यवसायीलाई आर्थिक अनुशासनको पक्षबाट व्यवसायीक क्रियाकलापमा अगाडी बढाउन जरुरी छ ।’ बागमती प्रदेशमा औषधी उत्पादन गर्ने तथा आयात र निर्यात गर्नेहरुलाई एक बनाएर अगाडी बढ्न उनले सुझाब समेत दिए । राष्ट्रिय पुंजी निर्माणको महत्त्वपूर्ण पक्ष निजि र सरकारी क्षेत्रले स्वास्थ्यमा काम गरिरहेको उनकाे भनाइ रहेकाे थियाे । औषधि व्यवसायीहरुले रोजगारी श्रृजना गर्नुका साथै कर तिरेर राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउन महत्वपूर्ण भुमिका खेलकाे भन्दै मन्त्री श्रेष्ठले प्रशसां व्यक्त गरे ।
औषधीको गुणस्तरमा ध्यानदिन सरकारी पक्षको मात्र काम नभई निजी संस्थाको पनि दायित्व भएकाले यसमा औषधी व्यवसाय सक्रियरुपमा लाग्नुेमा उनले विश्वास लिएको बताए । ‘औषधी व्यवसायीलाई सबल बनाउन र समाजमा प्रतिष्ठित बनाउन बागमती प्रदेश सधै तत्पर रहन्छ’ उनले भने ‘औषधी व्यवसायीसंग मिलेर फार्मेसीसँगको दुरीलाई कायम गर्न जरुरी छ ।’ सर्वसुलभ,गुणस्तरीय र मितव्ययीतानै संस्थाको मुल उदेश्य भएको तर्फ सचेत रहन समेत उनले आग्रह दिए ।
सबै औषधी व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाव समेत दिए। अधिवेशन सफलताको शुभकामना दिदै उनले नँया नेतृत्वमा चयन हुनेले औषधी व्यवसायीको हितको लागि काम गर्नुपर्ने भनाइ राखेका थिए ।
बागमती प्रदेश औषधि व्यवसायी संघका अध्यक्ष धुव्र नारायण श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा औषधि व्यवसायी संघ बागमती प्रदेशका नारायण प्रसाद ढकाल लगायत औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा ट्याक्टरले किच्दा १ जनाको मृत्यु भएको छ।
बुधबार ट्याक्टरले किच्दा कैलाश गाउँपालिका १० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईवाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कैलाशको भलटारबाट पुरानो गाँउ तर्फ बिजुलीको पोल बोकी जादै गरेको बागमती प्रदेश ०३-००१ त ०४१९ नम्बरको ट्याक्टरको पछाडी टेलरमा सवार वाइवा लड्दा पछाडिको चक्काले किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ट्याक्टर र ट्याक्टर चालक मकवानपुर भिमफेदी गाउँपालिका ९ बागमारा बस्ने ३३ वर्षीय बिरमान स्याङतानलाई प्रहरी नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको बताइएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्यको लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन (१३ औँ अधिवेशन) अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बजेट निर्माणको चरणमा रहेको र बजेट सम्बन्धी समीक्षा गोष्ठी पश्चात् बजेट अधिवेशन (वर्षे अधिवेशन) आह्वान गर्नु पर्ने भएकाेले चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । हिउँदे अधिवेशन १५ फागुन २०८० बाट सुरु भएको थियो ।
यसै गरी प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुने उक्त दिन सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो । २३ कात्तिक २०८० मा जारी गरिएको उक्त ऐनकाे प्रस्तावनामा ऐन राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने उल्लेख छ । उक्त व्यवस्था अनुसार वैशाख २४ गतेबाट कार्यान्वयन हुने छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेशमा निर्माण हुने भौतिक संरचना र भवनहरूमा स्वदेशी काठको प्रयोग गर्ने निर्णय गरेको छ । सरकारी तथा सामुदायिक भवन वा कुनैपनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वदेशमै उत्पादन भएका काठ अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय भएकाे उनले जानकारी दिए । यसैगरी प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री श्रेष्ठले बताए । श्रम रोजगार तथा यातायात मन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका विभिन्न विभागीय मन्त्रालयका सचिव र विज्ञहरू सदस्य रहने गरी सो परिषद् गठन हुने उनले बताए ।
मन्त्रिपरिषद् बैठकले जिल्ला अदालत मकवानपुरलाई कार्यालय भवन उद्घाटनमा भएकाे खर्चका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले जिल्ला अदालत मकवानपुरलाई नयाँ कार्यालय भवन उद्घाटन खर्च बापत ५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानिकरण अनुदान रकम स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी बागमती प्रदेश स्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्षको स्तरीकरण सम्बन्धी मापदण्ड २०८० संशोधनसहित स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार बैठकले वन क्षेत्रको भोगाधिकार तथा रुख कटान सम्बन्धमा जग्गा भोगाधिकार मात्रै लिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आसपास रहेका केही रुखहरू कटान गर्नुपर्ने भएकाले संघीय सरकारबाट भोगाधिकार लिने निर्णय गरेको उनले बताए ।बैठकले प्रदेशको लैंगिक तथा यौनिक अल्पसंख्यक नीति २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गतका निकायहरूबाट २०७९/०८० मा भएका कामहरूको बाँकी भुक्तानी रकम निकासा दिन स्वीकृति प्रदान गरेको छ ।
बैठकले सशस्त्र प्रहरी बल ३ नम्बर वाहिनीद्वारा गोताखोर तालिम सञ्चालनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत ३० लाख रुपैयाँ बजेट रकमान्तर गरी उपलब्ध गराउने निर्णय गरेको छ भने विपद् स्वयम सेवक समूह निर्माण तथा परिचालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश उच्च शिक्षा परिषद् नियमावली २०७९ को पहिलो संशोधन समेत पारित गरेको छ ।