उनी धाराप्रवाह बोल्दै थिए , “गगनचुम्बी महल छेउ पुग्दा यहाँहरुकै पसिना र मेहनतको गन्ध आइरहे जस्तो लाग्छ । होटेल कलकारखाना उद्योग निर्माण र संचालनका संवाहक यहाँहरु नै हुनुहुन्छ । यहाँहरुको इमानदारीता धैर्यता अथक प्रयासको जति बयान गरेपनि कमै हुन्छ । यहाँहरुलाई गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारीको व्यबस्था गर्न मेरो व्यक्तिगत तर्फबाट सक्दो प्रयास गर्नेछु । सम्बन्धित ठाउँमा आवाज उठाउँनेछु । म आफ्नो गाँस काटेर भएपनि तपाईं र तपाईंका परिवार भोको रहन दिन्न।” तालीको गडगडाहटले सभाहल गुन्जायमान भयो ।
बाहिर रुखो स्वभाव देखाए पनि मनमा हरिको बास भएका र’छन् , मनमनै ऊ दङ्ग भयो। त्यो उत्साह पलभरमै गायव भयो जब वक्ता र उसका चार आँखा एकाकार भए ।
डराउँदै घर फर्कियो । ऊ भन्दा स्वास्नी ज्वरोले झन् थल्लिएकि थिई । परिवार सबै ओछ्यान परेपछि उसलाई निको हुन कर लागेको थियो । भान्सामा पस्यो पकाउँनलाई चामलको मुठ्ठी रहेनछ । हिजो बिहानको कोदोको खोलेले छोडिसकेको थियो । उता सानी छोरी भोक लाग्यो भनेर रुँदै थिई । अघिनै ख्याल गरेको भए ‘औषधीको सट्टा अलिकति चामल किनेर ल्याउँथे मनमनै पछुतायो ।’
केही उपाय नलागेपछि ऊ साहूको घरतिर लाग्यो । एक हप्तादेखि काममा नआएको भनेर साहुनीले बेस्सरी झपारिन् । अवस्था बेलिबिस्तार लगाएपछि एक कटौरो सरौलो झुम्रामा पोको पारिदिइन्।
बिदा हुनै लाग्दा साहू पनि कार्यक्रमस्थल बाट टुप्लुक्क आइपुगे । ऊ काममा नआएकोले भट्टामा ईटा पोल्न नपाएर उनी रिसाएका थिए । मजदुर दिवस मनाउँन गएको ….?भन्दै एक थप्पड मारे । मेडिकलमा गएको थिएँ । मालिकको भाषण छ भन्ने सुनेर मात्र एकैछिन कार्यक्रमस्थल पसेको सुनायो । ‘अझै बाठो हुन्छ्स्? गाईलाई दिन छोडेर किन दिएको त्यो सरौलो यो बैगुनीलाई ?´ मालिक कड्किए ।
जुन दिवस आएपनि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !´´ अमिलो मन लिएर ऊ घर फर्कियो । बाटोभरि गुन्दै हिड्यो, ‘साहूको छोराले फालेको खिर मागेको भए पनि त छोरी अघाउँथी ।´
सभापोखरी – १,संखुवासभा ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिकाबाट लागुऔषध गाँजासहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले लागुऔषध गाँजासहित कैलाश गाउँपालिका १० का ४० वर्षीय पाल्साङ्क मुक्तानलाई नियन्त्रणमा लिएकाे हाे ।
बैशाख १९ गते प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ५२६७ नम्बरको बसलाई रोकी सुरक्षाजाँच गर्दा बसमा सवार मुक्तानको साथबाट ५ किलो लागुऔषध गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजासहित मुक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा मदन कुमार श्रेष्ठ चयन भएका छन् । संघकाे बुधबार भएको नवौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको हाे ।
यसैगरी संघकाे उपाध्यक्षमा केशव बहादुर कार्की, राज कुमार थापा र भोजराज पराजुली, सचिवमा रविन्द्र राई, सहसचिवमा रावण किष्म राई, कोषाध्यक्षमा दीपेन्द्र नेपाली चयन भएका छन् । यस्तै सदस्यहरूमा अनिता मिश्र, समीर भुजेल, ईश्वर कुमार श्रेष्ठ र जनकलाई चयन गरिएकाे छ ।
साथै बुधबारकाे भेलाले संदेश गौतमको नेतृत्वमा ७ सदस्यीय हेटौडा नगर समिति समेत गठन गरेको छ । नगर समितिकाे उपाध्यक्षमा अन्तेश्वर कापर, सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा अभिषेक बानियाँ, सदस्यहरु रिमेश अधिकारी, सुजन गोले र प्रकाश घिमिरे चयन भएका छन् ।
मदन कुमार श्रेष्ठकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सदस्य आलोक स्याङतानको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगर पालिका ७ नम्बर वडा सदस्य राधिका विकको विशेष आतिथ्यतामा भएकाे हाे । हेटौडा नगर खेलकुद विकास समिति सदस्य संगीता केसी तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल केन्द्रीय सदस्य नारायण सिंङ थिङको आतिथ्यता रहेकाे कार्यक्रमकाे सहजिकरण भोजराज पराजुलीले गरेका थिए ।
मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले २ जना स्रष्टालाई सम्मान गरकाे छ । सिस्नुपानी नेपालकाे स्थापना दिवसमा बैशाख १९ गते बुधबार सिस्नुपानी मकवानपुरले दाङका उत्तमकृष्ण मजगैयाँ र मोरङका अनिल पौडेललाई सम्मान गरेकाे हाे ।
सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई सम्मान गरिएकाे सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने जानकारी दिए । उक्त सम्मानकाे राशी २५ हजार १ सय रुपैया रहेकाे छ । यसैगरी मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजालले स्थापना गरेकाे आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० मोरङका पौडेललाई प्रदान गरिएकाे हाे । उक्त सम्मानकाे राशी १५ हजार रुपैया रहेकाे लामिछानेले जानकारी दिए ।
सम्मानित दुवै स्रष्ट्रालाई प्रमुख अतिथि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले पुरस्कारसहित सम्मानित गरेका हुन् । स्थापना दिवसकाेअवसरमा सिस्नुपानी नेपालले आयोजना गरेकाे हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रममा हास्यव्यङ्य रचना तथा प्यारोडी गीत प्रस्तुत भएकाे थियाे ।
संस्थाका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, नेपाल लेखक संघका केन्द्रीय सदस्य ह्यग्रिव आचार्य, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल कवि शान्ति प्रिय वन्दनालगायतकाकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका समुदायिक वनबाट सल्किएको आगोले घर जलेर नष्ट भएकाे छ । मकवानपुरगढी वडा नं.६, आमभञ्ज्याङ, घोप्टेगाउँमा आगलागीबाट स्थानीय चोकप्रसाद तिमल्सिनाको घर जलेर नष्ट भएको हाे ।
मंगलबार दिउँसाे स्थानीय समुदायिक वनबाट सल्किएको आगोले तिमल्सिनाको घर तथा गोठ समेत नष्ट गरेको हो । आगलागीबाट घरमा भएको काठ, लत्ताकपडा, भाडावर्तन गरी करिब ३ लाख रुपैंया बराबरको क्षति भएको जनाइएको छ ।