मकवानपुर । बागमती प्रदेशमा दलहरु बिच भागवण्डा मिलाउन संसदीय समिति थप गरिएकाे छ । सत्तापक्ष र प्रतिपक्ष बीच संसदीय समितिकाे सभापति चयनमा सकस रहेकाे बेला पाँच वटा समिति रहेकाे प्रदेश सभामा १ थप गरी छ वटा बनाइएकाे हाे ।
सत्तारुढ दललाई भागवण्डा मिलाउन मन्त्रालय थप गरिएकाे ४८ घण्टा नवित्दै प्रदेशसभामा प्रमुख प्रतिपक्षि तथा अन्य दलहरुलाई भागवण्डा मिलाउन संसदीय समितिसमेत थप गरिएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दललाई संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो । बागमती प्रदेश सभामा पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको हाे । विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।
प्रदेशसभा अन्तर्गतका पाँच वटा समितिको निर्वाचन शनिबारकाे लागि तय गर्दै बिहीबार मतदाताकाे नामावली समेत प्रकाशन गरेकाे थियाे । निर्वाचन तालिका प्रकाशन भएकाे १ दिन पछि संसदीय समितिकाे संख्या बढाउने सहमति भएकाे हाे ।संसदीय समिति थप भएसँगै नेपाली कांग्रेसले दुई वटा समितिको नेतृत्व पाउने भएको छ अन्य चार दलले एक/एक वटा समितिको नेतृत्व पाउने गरी सहमित भएको बताइएकाे छ । नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी एक/एक वटा समितिको नेतृत्व दिने गरी सहमति भएको नेकपा माओवादी केन्द्रे बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए ।
जसअनुसार प्रदेश मामिला र सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउने छ । यस्तै राप्रपाले अर्थ तथा विकास समिति, एमालेले उद्योग बन तथा वातावरण समिति, एकीकृत समाजवादीले प्रदेश विशेषाधिकार समिति र माओवादी केन्द्रले शिक्षा, स्वास्थ्य तथा कृषि समिति समितिको नेतृत्व पाउने छ ।
प्रदेशसभा अन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएकाे थियाे ।
सभापति चयनका लागि प्रदेशसभाले सार्वजनिक मतदाता नामावली अनुसार प्रदेश समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।
निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे थियाे । यस्तै, समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका सार्वजनिक गरिएकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १ मा रहेकाे अमर माध्यामिक विद्यालयले क्याप्टेन, भाइस क्याप्टेन तथा कक्षा मनिटरहरुको निर्वाचन गराएर चुनावी प्रकृयाबारे विद्यार्थीलाई प्रयाेगात्मक रुपमा बुझाएकाे छ ।
शुक्रबार विद्यालयमा भएकाे निर्वाचनबाट ४९ मत प्राप्त गरी कक्षा ९ मा अध्ययनरत छात्रा विमला दाहाल विद्यालय क्याप्टेनमा चुनिएकी छिन् । यसैगरी विद्यालयको भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत छात्रा नम्रता पराजुली निर्वाचित भएकी छिन् ।
मतदानमा दाहाल ४९ मत प्राप्त गरी क्याप्टेनमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सक्षम गिरीले ४७ मत प्राप्त प्राप्त गरेको बिद्यालय प्रध्यनाध्यापक मालती उप्रेतीले बताइन् । यस्तै भाइस क्याप्टेनमा पराजुली ८३ मत प्राप्त गरी विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी युरोज थिङले ८२ मत प्राप्त गरे ।
बिद्यालय सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयोजक डीबी बर्तौलाका अनुसार क्याप्टेनकाे प्रतिस्पर्धामा ६ जना र भाइस क्याप्टेनकाे प्रतिस्पर्धामा ४ जना रहेका थिए । यसैगरी विद्यालयकाे कक्षा ४ देखि कक्षा १० सम्म एक छात्रा र एक छात्र गरी दुई जना मनिटरका लागि समेत निर्वाचन गरिएकाे थियाे । कक्षागत मनिटरहरुमा कक्षा ४ मा सुनिदा बानियाँ, २६ मत र अर्पण थिङ मत प्राप्त गरी विजयी भएका छन् भने कक्षा ५ मा खुसी आले १४ मत र राज गाेले १५ मत प्राप्त गरी कक्षागत मनिटरमा विजयी भएका छन् । यस्तै कक्षा ६ काे मनिटरमा रिचा आले २४ मत र शनि वाइबा २१ मत प्राप्त गरी चयन भएकाे उनले बताए ।
कक्षा ७ मा जितु शाह २० मत र स्वस्तिका गोले १८ मत प्राप्त गरी कक्षा मनिटरमा विजयी हुँदा विपिसा बिक २४ मत र रञ्जिता गजुरेल २६ मतका साथ कक्षा ८ काे मनिटरमा चुनिएका छन् । यस्तै कक्षा ९ काे मनिटरमा निशा लामा १५ मत र विनायक अर्याल २९ मतका साथ मनिटर चुनिदा कक्षा १० ‘ए’ काे मनिटरमा स्नेहा शाह ४ मत र ईशा जिम्मा १३ मत (गोलाप्रथाबाट विजयी) का साथ चुनिए । विद्यालयकाे कक्षा १०’बी’ काे मनिटरमा सबिना थिङ २१ मत र नारायण अधिकरी १३ मत प्राप्त गरी विजयी भएकाे बर्तौलाले जानकारी दिए ।
क्याप्टेन भाइस क्याप्टेन र मनिटरकाे लागि जेठ १ गते ११ बजे उम्मेदवारी दर्ता र २ बजे उम्मेदवारी फिर्ताकाे कार्यक्रम भएकाे थियाे भने जेठ २ गते चुनाव चिह्न प्रदान गर्दै मतदान शिक्षासमेत दिइएकाे उनले बताए । त्यस्तै जेठ २ र ३ गते उम्मेदवारले प्रचारप्रसार गरेका थिए ।जेठ ३ गते २ बजेदेखि जेठ ४ गते ११ बजेसम्म मौन अवधिसमेत ताेकिएकाे उनले जानकारी दिए । सवै पदमा गरी ४६ जनाको उम्मेदवारी कायम भएकाे थियाे । मतगणना जेठ ४ गते भएकाे हाे ।
मकवानपुर । अपाङ्गताको क्षेत्रमा कार्यरत संघ-संस्थाहरुले बागमती प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । अन्तराष्ट्रिय स्तरमा ब्यक्तगरेका प्रतिवद्धता, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन तथा नियमावलीमा भएका प्रावधानहरु कार्यान्वयन गर्न तथा गराउन बिहीबार ज्ञापन पत्र बुझाइएकाे हाे ।
यसैगरी तीन वटै तहका सरकारहरुलाई समान जिम्मेवार बनाउन समेत ज्ञापनपत्र बुझाइएकाे हाे । सार्वजनिक संरचना, सेवा, सूचना सबै नागरिककालागि पहुँचयुक्त बनाउन पर्ने दायित्व सबै निकाय रहेकाे, नीतिनिर्माण तहमा पछाडि पारिएका समुहको अर्थपुर्ण सहभागिता गराउन र नीति योजना, कार्यक्रम र बजेट निर्माण प्रकृयालाई सहभागिता र समाबेशीमुलक बनाउनु पर्ने संबैधानिक दायित्वबाट कुनै तहको सरकार उम्कन नमिल्नै ज्ञापन पत्रमा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन र नियमावलिमा उल्लेखित सेवासुविधा सम्वन्धि माग पुरा नभए पश्चात् अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४ र नियमावलि २०७७ अनुसार पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताको आधारमा ब्यक्तिगत सहयोगी सेवा तथा सांकेतिक भाषा दोभाषे सहायक सामाग्रिहरुको ब्यवस्था, सामुदायिक साहायता सम्बन्धी ब्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि समेत ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइएकाे अपाङ्ग सरोकार केन्द्र मकवानपुर अध्यक्ष गणेशचन्द्र दवाडीले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबार २ वटा बैठक बसेको छ । प्रदेश सभाको पहिलो बैठकमा विशेष समय निर्धारण गरिएकाे थियाे । विशेष समयमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका ३१ जना सदस्यहरुले भाग लिदै आफ्ना धारणा, समस्या र सुझाव समेत दिए ।
विशेष समयमा बाेल्ने सदस्यहरुले विभिन्न जिल्लामा भइरहेको वन डढेलोलाई दिर्घकालिन रुपमै नियन्त्रण गर्ने प्रयासको लागि प्रदेश सरकारले गुरु योजना तर्जुमा गर्नु पर्ने बताए । गुरु याेजना नबनेसम्म डढेलाेबाट हुने धनजनको क्षति कम गर्न बैकल्पिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न सल्लाह समेत दिएका थिए । उनीहरुले डढेलाका कारण मृत्यु र घाइते भएकाका परिवारलाई सरकारले उचित आर्थिक सहयोग गरिनु पर्ने बताए ।
बैठकमा प्रतिपक्ष दलका प्रदेश सभाका सदस्यले हेटौंडा अस्पताललाई राजनीतिक दलगत स्वार्थको लागि प्रयोग गरिने उद्देश्यले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारको निर्णय फिर्ता लिन्पर्ने माग गरेका थिए । उनीहरुले जिल्लामा अत्यन्तै गरिबी रेखा मुनी रहेका सर्वसाधारण नागरिकहरुलाई उपचार लिने क्रममा ज्यादै महँगो आर्थिक भार पर्ने भएकोले सो निर्णयलाई प्रदेश सरकारले खारेज गरी साबिक बमोजिमकै संघीय सरकारको मातहतमा रहने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रदेशको विभिन्न जिल्लाहरुमा खानेपानीको व्यवस्था गर्न, सिँचाई, सडक निर्माण, ग्रामीण बस्तिमा विद्युत विस्तार गर्ने कार्यलाई प्रदेश सरकारले आगामी बजेटमा समावेश गराउन सरकारकाे ध्यानाकर्षण समेत गराएका थिए ।
यसैगरी, प्रदेशमा कर तथा राजस्व अभिवृद्धि गर्ने क्रमलाई प्रदेश सरकारले सम्बन्धित अर्थ विज्ञ र सरोकारवालाहरुसँग राखेर छलफल गरी राजस्व असुली निर्धारण गर्न वैज्ञानिक प्रकृया अपनाउन आग्रह गरेका थिए । तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाकाे रुपमा प्रदेशमा प्रयोगमा ल्याइएको भएपनि सदस्यहरुले सभामा तामाङ र नेवारी भाषामा बाेल्दा अनुवाद गराउने व्यवस्था गर्न प्रदेश सभा सचिवालयले तत्परता देखाउनुपर्ने बताएका थिए ।
बुधबार बसेकाे प्रदेश सभाको दोस्रो बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत गरेको छ । उक्त अध्यादेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस् भनि प्रस्ताव पेश गरेकी थिइन् । यस्तै, सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश लोक सेवा आयोगको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
बागमती प्रदेश सभाको बैठक यही जेठ ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने जानकारी बुधबारकाे बैठक स्थगित गरेका हुन् ।
मकवानपुर । मकवानपुर जिल्लामा संचालन गरिएकाे पशु आहार अभियान कार्यक्रम सकिएकाे छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको समन्वय तथा प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशको आयोजनामा सप्ताहव्यापी पशु आहार अभियान समापन भएको हाे ।
अभियानकाे एक सातामा मकवानपुर जिल्लाको ६३ वटा सहकारीको २२५ जना सहभागीलाई विभिन्न ८ स्थानमा प्रशिक्षण गराईएको थियोे । किसानलाई दान उत्पादन, युरिया, मोलासेस, मिनरल ब्लक, परालमा युरिया उपचार,साईलेज बनाउने प्रविधी जस्ता विषयमा प्रशिक्षण गराइएको थियो ।
सैद्धान्तिकभन्दा प्रयोगात्मक सिकाइ गर्दा व्यवहारमा परिवर्तन गर्न प्रयास गरेको प्रदेश दुग्ध विकास बोर्ड निमित्त निर्देशक सजिता ज्ञवलीले बताइन् । पशु स्वास्थ पशु आहार नश्ल सुधार, बजारलाई व्यवस्थापन गर्न बोर्ड लागि परेको उनले बताइन् । पशु व्यवसायलाई बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन बोर्डले ध्यान दिएको उनले बताइन् । सिकेको सीप छिमेकी किसान र सहकारीका सदस्यबिचमा समेत हस्तान्तरण गर्न उनले सहभागीलाई आग्रह गरिन ।
गाउँ र पाखामा प्राप्त हुने मौसम घाँसलाई सन्चित गरेर सन्तुलित पशु आहार बनाउने साप्ताहव्यापी कार्यक्रम गरिएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष हरिप्रसाद कंडेलले बताए । आहार सन्तुलित भएमा थोरै लगानीबाट पनि धेरै नाफा लिन सकिने अध्यक्ष कंडेलले बताए । एकातिर दूध नबिकेर हैरानी अर्को तिर पशु आहारको मूल्य वृद्धि भएका कारण आजित किसानलाई यस्तो तालिम उपलब्धि पूर्ण भएको कंडेलले बताए । किसानले आफैले घरैमा दाना उत्पादन गर्न सक्यो भने बजारबाट दाना किन्न गर्नुपर्ने लगानी घटाउन सकिने र दुधको पैसा नउठ्दाको पीडा कम गर्न राहत मिल्ने उनले बताए ।
दान किन्नुपर्ने बाध्यता र लागत घटाएर दाना बनाउन र सन्तुलन दाना बनाउन खुवाउन सकिने बारे सिकाइ भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन दाहालले बताए । सहकारीको प्रतिनिधि सहभागीभन्दा व्यवसायीक किसानलाई यस्तो तालिम आवश्यक भएको दाहालले बताए । किसान केन्द्रित भएर बोर्डले काम गर्नुपर्ने उनले बताए । पाखोबारीमा पोषिलो घाँस रोप्ने सन्तुलन आहार निर्माण गर्न पनि प्रेरणा मिलेको दाहालले बताए ।
पशु आहारा कसरी खुवाउने, आर्थिक लगानी र उपार्जनमा राहत कसरी लिने भन्ने सिकाइ र बुझाई भएको मनहरी साना किसान कृषि सहकारी अध्यक्ष बिमला कार्कीले बताइन् । सहभागीहरुलाई डाक्टर सन्तोष घिमिरे, शिवहरी घिमिरे, सत्रुधन साहले सहजीकरण गरेको बोर्डका पशु सेवा प्राविधिक प्रदिप सापकोटाले बताए ।