मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को मंगलबारकाे बैठकले ४ वटा निर्णय गरेकाे छ ।
बैठकले २ वटा विधेयक प्रदेश सभामा पेश गर्ने तथा २ वटा मन्त्रालयकाे दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक २०८१ तथा प्रदेश उच्च शिक्षा पहिलो संशोधन अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय भएको उनले बताए । सामाजिक विकास मन्त्रालयबाट प्राप्त संक्षिप्त संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
यसअघि सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद विभागलाई अलग बनाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको थियो । सामाजिक विकास मन्त्रालयको ३० जनाको दरबन्दीबाट ४ जना घटाएर युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । युवा तथा खेलकुद मन्त्रालयमा अपुग विभिन्न तहका कर्मचारीहरू थप जिम्मेवारीमा पठाइने र सहायक स्तरका कर्मचारी क्रमिक रूपमा नियुक्त गरिने भएकाे छ । मन्त्रालयमा आवश्यक दरबन्दी तेरिज तयारी गरी छिट्टै स्वीकृत गरिने मन्त्रालयका सचिव राजन पौडेल जानकारी दिए ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त संक्षिप्त संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । नयाँ ढंगबाट संगठन संरचना र र दरबन्दी तेरिज स्वीकृत गर्नुपर्ने भएकाले निर्णय भएको उनले जानकरी दिए । सरकारले प्रदेशका ३ जिल्लामा पूर्वाधार विकास कार्यालय सञ्चालन गर्ने भएपछि भौतिक मन्त्रालयले पेश गरेकाे संगठन संरचान र दरबन्दी स्वीकृत गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले प्रदेशको ३ जिल्लामा कार्यालय सञ्चालन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयको संक्षिप्त दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको हो । प्रवक्ता श्रेष्ठका अनुसार मन्त्रालयको दरबन्दी थप हुने गरी मकवानपुर, रसुवा र दोलखामा पूर्वाधार विकास कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि ८ जिल्लामा कार्यालय राखेर काम गर्दै आएको सो मन्त्रालयले उपत्यकामा एकसहित ११ वटा पूर्वाधार विकास कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यसअघि पूर्वाधार विकास कार्यालय चितवनले मकवानपुर, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले दोलखा र पूर्वाधार विकास कार्यालय नुवाकोटले रसुवा जिल्ला समेत भएका काम हेर्ने गरेकाे थियो । मन्त्रालयले पूर्वाधार विकास कार्यालय मकवानपुरका लागि १५, दोलखाकाे लागि १२ र रसुवाकाे लागि ८ जनाको दरबन्दी कायम गरी सेवा प्रवाह गर्ने तयारी गरेको छ ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । बागमती प्रदेशस्तरीय उक्त गोष्ठी संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो ।
बुधबारसम्म संचालन हुने उक्त गोष्ठीको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् । गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरुले सहभागिता जनाएका छन् ।
प्रदेश र संघीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतिलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने कार्यमा समिक्षा गरी सुरक्षाको नयाँ अवधारण तयार गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीेले जानकारी दिए ।
बैठकमा विशेष गरी प्रदेशको शान्ति सुरक्षाकाे अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । यसैगरी शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा समेत बैठकमा छलफल हुनेछ । बुधबार समापन हुने गोष्ठीमा सहभागी हुन गृहमन्त्री रवि लामिछाने हेटौडा आउने कार्यक्रम रहेको बताइएकाे छ ।
गृह मन्त्रालयका सचिव एकनारायाण अर्यालको सभाध्यक्षमा तथा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामू प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.२ मकवानपुर बहुमुखी क्याम्पस नजिकै एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नं.३ बस्ने ५२ बर्षीय कृष्ण भन्ने ईन्द्र बहादुर खड्का मंगलबार बिहान मृत भेटिएका हुन् ।
हेटौडा २ का स्थानीय बिनोद लामिछानेको मान्छे नबसेको पुरानाे घरको सिडीमा खड्का मृत अबस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार उनी एक महिना अगाडी देखी घर छाडेर हिडेको र बिरामी समेत रहेका । पोष्टमाटम पश्चात शव आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । हेटौंडा खानेपानी व्यावस्थापन बोर्डले ११ औं वार्षिकोत्सव कार्यक्रम गरेकाे छ । वाेर्ड मंगलबारबाट ११ वर्ष पुगेकाे अवसरमा गरिएकाे वार्षीकोत्सव कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बिरुवा रोपेर उद्घाटन् गरेकी थिइन् ।
कार्यक्रममा बोर्डकाे बिभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बोर्डको ११ औं वार्षिककोत्सवमा सेवा प्रवाहलाई डिजिटलाइजेशन गर्ने श्यामकल श्रेष्ठ, पाइन लाइन लिकेज र सूचना प्रदान तथा सारोकारवालाहरु बिच सौर्हादपूर्ण वातावरण तयार गर्न सहयोग गर्ने शिब बहादुर थापा,भिमसेन पौडेल र राजु अधिकारीलाई सम्मान गरिएको हाे । यसैगरी बितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल भुक्तानी गर्ने एभोकाडो अकिर्ड रिसोर्ट प्रालि,पुष्पा घिमिरे,कृष्णप्रसाद दंगाल,वलभद्र राना,भवनाथ लामिछाने सम्मानित भएका छन् ।
यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएकाे छ । कार्यालय तर्फ अनिला सुबेदी,कनिष्ठ सहायक,मिटर रिडिङ्ग ईकाइ प्रमुखको भूमिकामा उत्कृष्ट किशोर राज न्यौपाने,विदुर खड्का,सानुकान्छा जिम्बा तथा कार्यालय सहयोगीहरु कृष्णप्रसाद वाग्ले,मोहन दोङ्ग,गोकुल रिजाल,दिपक चौलागाई र दुर्गा बहादुर थिङ्ग पुरस्कृत भएका छन् । शाखा कार्यालयतर्फ उपभोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भई उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु केदार बहादुर थिङ्ग, गिता विश्वकर्मा, सानुकान्छा थिङ्ग, नुरेन्द्र राज ढकालसमेत नगदसहित सम्मानित भएका छन् ।
कार्यक्रममा बोर्ड सदस्य इन्द्रप्रसाद नेपालले बोर्डमा आएपछी गरिएका कामको विवरण कार्यक्रममा जानकारी गराएका थिए । बोर्ड अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश कुमार बानियाँ, हेटौंडा–२ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा ५ बनष्खण्डी गुम्बाटाेल बस्ने धिरोज हुमागाई हराएकाेले खाेजी गरिदिनु हुन परिवारले आग्रह गरेका छन् । २५ वर्षीय धिरोज आइतबार बिहान घरबाट काममा जान्छु भनी हिडेकाेमा हालसम्म पनि सम्पर्कमा नआएकाेले परिवारले खाेजी गरिदिनु हुन आग्रह गरेका हुन् ।
बुबा गणेश प्रसाद हुमागाईंका अनुसार धिरोज घरबाट काममा निस्कदा निलाे रंगकाे हाफ टिसर्ट (पछाडि घरसंसार लेखेकाे) कालाे रंगकाे पाइन्ट र कालै रंगकाे चप्पल लगाएका छन् । गहुँगोराे बर्णकाे उचाई ५ फिट ४ इन्च माेटाइ पातालाे रहेकाे उनीलाई देख्नु हुने महानुभावले नजिकैकाे प्रहरी चौकी अथवा माेवाइल नम्बर ९८४५४८८३१९ र ९८६५५११८१५ मा सम्पर्क गरिदिनु हुन परिवारले आग्रह गरेकाे छन् ।
परिवारले धिरोज हराएकाेले खाेजी गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दर्ता गराएका छन् ।