मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे हातोमालो बचत तथा ऋण सहकारी संस्थाले ४० जना सदस्यलाई सम्मान गरिएकाे छ । सहकारीकाे १८ औँ स्थापना दिवसको अवसरमा आइतबार असल ऋणी र असल बचतकर्ता गरी ४० जना सदस्यलाई सम्मानित गरिएकाे हाे ।
सहकारीमा उत्कृष्ट बचत र ऋणको कारोबार गर्ने ४० सदस्यलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक रमला सापकोटाले बताईन् । कार्यक्रममा सदस्यसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा व्यवस्थापक सापकोटाले संस्थाको आर्थिक प्रगतिका साथै संस्थाले गरेका गतिविधिहरुबारे जानकारी गराएकी थिइन् ।
सहकारीले स्थापना दिवसको अवसरमा एक सातादेखी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । सहकारीले पाँच दिने सेल्फ मेकअप तालिम, साँचो जीवन निर्माण अभियान कार्यक्रम,भान्छा सुधार अभियान तथा स्वस्थ्य रहने वैज्ञानिक सिद्धान्त कार्यक्रम गरेको थियो । सहकारीले शनिबार सञ्चालक समिति, संस्थापक समिति, विभिन्न उपसमिति, कर्मचारीबीच समीक्षा गर्दै भावी योजना निर्माण गरेको छ ।
यसैगरी सहकारीले सोमबार विहान बृहत रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम र दिउँसो हेटौंडा १० राप्तीतटमा अवस्थित संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गरी स्थापना दिवसकाे कार्यक्रम समापन गरिने संस्थाका अध्यक्ष हरिप्रसाद पौडलले बताए ।
संस्थाका हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रमकाे सहजिकरण सचिव सिताराम दाहालले गरेका थिए ।
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदाे असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको आचार्यकाे ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएकाे हाे ।
शनिबार सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली प्रकट गर्दै सिल्क रोड पिक्चर्सले आगामी असार ७ गतेदेखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्कीलगायत अहिलेका चर्चित कलाकारलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीले निर्देशन गरेका छन् । फिल्म देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले वन क्षेत्र भित्र अनावश्यक संरचना निर्माण गर्न नहुने बताएका छन् ।
हेटौंडा २ स्थित वनस्खण्डी मन्दिर परिसरमा निर्माण गरिएको खुल्ला व्यायमशालाको शनिबार समुद्घाटन गर्दै उनले वन भित्र अनावश्यक सिमेन्टबाट बनेका संरचना निर्माण नगर्न निर्देशन दिएका हुन् ।
‘प्राकृतिक सम्पदाको संरक्षण गर्दै वन तथा वातावरण क्षेत्रलाई जोगाउने गरी वन क्षेत्र भित्र संरचना बन्नुपर्छ’ मन्त्री पोखरेलले भने । संरचना बनाउने नाममा पुरातात्विक महत्वका संरचनालाई मास्नेभन्दा पनि संरक्षण गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।
प्रदेश सरकारको मन्त्री परिषद्ले गरेको निर्णय स्मरण गर्दै प्रदेशमा बन्ने संरचनामा अब स्वदेशी काठ अनिवार्य गरिएको बताए। उनले नेपालको जङ्गलमा काठहरु कुहिएर गइरहेको अवस्थामा विदेशबाट बार्षिक करिव १७ अर्बको काठ आयात भइरहेको प्रति चिन्ता व्यक्त गरे ।
व्यायामशालाबाट सबैलाई लाभ लिन आग्रह गर्दै मन्त्री पोखरेलले अब जिवनशैली सुधार गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय अस्वस्थ खानपानका कारण मानिसहरुले धेरै रोगको सामना गर्नुपरेको बताउँदै प्राकृतिक खानपानमा अपनाउनुपर्ने उनको भनाइ छ ।
प्रदेशको राजधानी हेटौंडा जोड्ने सडकहरु धमाधम निर्माण भइरहेको बताउँदै अबको एक वर्षभित्र हेटौँडा–काठमाडौँको यात्रा सहज हुने विश्वास व्यक्त गरे
वनस्खण्डी मन्दिर पर्यटन विकास समिति हेटौंडा २ को व्यबस्थापन एवम् बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आठ लाख ८९ हजार ४५१ रुपियाँ आर्थिक सहयोगमा व्यायमशाला निर्माण गरिएको हो ।
निर्माण व्यवस्थापन समिति अध्यक्ष देवकी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला र स्थानीयवासीको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको ऎतिहासिक मकवानपुरगढीबाट गोरखा जिल्लाको गोरखा दरबारसम्म बिहीबार साइकल यात्रा हुने भएको छ ।
२५६७ औं बुद्धजयन्तीको अवसरमा हिमलयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा दुईदिने साइकलयात्रा गरिएकाे हाे । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्धनकोलागि मकवानपुरगढीदेखि गोरखा दरबारसम्म २ जिल्लाको ऎतिहासिक स्थानलाई जोड्न साइकलयात्रा गर्न लागिएको हो ।
साइकल यात्रामा १२ जनाले सहभागिता रहेकाे सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता रहेकाे छ । बिहीबार (आज) बुद्धजयन्तीको दिने मकवानपुरगढीबाट सुरु हुने साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने उनले जानकारी दिए ।
साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बु, राजु थापा मगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापा क्षेत्री, लेखनाथ ढकाल, नवराज नेपालकाे सहभागिता रहेकाे छ । फरक क्षमता भएका सुरज लिम्बुले एकै हातले साइकल यात्रा गर्दैछन् ।