मकवानपुर । मकवानपुरमा रुखकाे हाँगाले लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान आएको हावाहुरीका कारण रुखकाे हाँगाले लागेर मकवानपुरकाे मनहरी गाउँपालिका-२ स्थित ट्याङ्की दमारका राम बहादुर गोलेकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार २२ वर्षीय गोले आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा आएको हावाहुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा घटनास्थलमै उनकाे मृत्यु भएको हो।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा ३ वटा पक्की पुल निर्माण सम्पन्न भएकाे छ । आईतबारकाे गाउँकार्यपालिका बैठकले निर्माण सम्पन्न पुलको उद्घाटन जेठ २६ गते गर्ने निर्णय गरेकाे छ ।
कार्यपालिकाले उद्घाटन गर्ने निर्णय गरेसँगै मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले पुलकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतकाे ३३ करोड ४० लाख ६५ हजार लागतमा ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । गाउँपालिकाकाे वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का मार्फत निर्माण थालिएकाे थियाे ।
हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुलकाे जेठ २६ गते उद्घाटन गरिने अध्यक्ष कालाखेतीले जानकारी दिए ।
यसैगरी हाँडिखोला र ठाडो खोलामा निर्माणाधिन दुईवटा पुल २०८१ मंसिर महिनासम्म सम्पन्न भइसक्ने उनले बताए । उनका अनुसार ठाडोखोला पुलकाे निर्माण ८५ प्रतिशत र हाँडिखोला पुलकाे निर्माण ६३ प्रतिशत भएकाे छ ।
मकवानपुर । साहित्य संगम मकवानपुरले २ जना स्रष्टालाई शनिबार हेटौडामा सम्मान गरेकाे छ । साहित्य सङ्गम मकवानपुरले शनिबार गरेकाे लघुकथा उत्सव कार्यक्रममा शार्दुल भट्टराई र डा दामोदर पुडासैनी किशाेरलाई सम्मानित गरेकाे हाे ।
भट्टराईलाई गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मान तथा किशाेरलाई साहित्य सङ्गम मकवानपुर कृति सम्मान प्रदान गरिएकाे हाे । हेटाैंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले सम्मानित व्यक्तिलाई नगद र प्रमाणपत्रसहित उनीहरुलाई सम्मानित गरेका हुन् ।
भट्टराई संगमद्वारा स्थापित २० हजार रुपैया राशिको ‘गोपालप्रसाद स्मृति सम्मान २०८१’ सम्मानित भए । नाटक, कविता, अनुवाद, सम्पादन तथा समीक्षामा क्रियाशील उनका ‘बाँसुरीको आतङ् (नाटकसङ्ग्रह)’ र ‘पुल खस्यो (कवितासङ्ग्रह)’ प्रकाशित छन् ।
संगमका संस्थापक सचिव केशव श्रेष्ठ ज्योतिले स्थापना गरेकाे २५ हजार रुपैयाँ राशिको ‘साहित्य सङ्गम कृति सम्मान २०८०’ ‘डोल्पो ओ डोल्पो’ कृतिका लागि पुडासैनी सम्मानित भएका हुन् । नमेटिएका चिठीहरू र गृष्मको निलो बतास पुडासैनीद्वारा लिखित कृतिहरू हुन् ।
हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले भाषा र लेखन क्षेत्रमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । साहित्यकारहरुसँग शिक्षाकाे खानी हुने भएकाेले धेरैकुरा सिक्न सकिने बताउँदै बौद्धिक व्यक्तिलाई सम्मान गर्दै राजनीति र सामाजिक क्षेत्रमा लाग्न उहाँहरुलाई उत्प्रेरित बनाउनु पर्ने बताए ।
‘साहित्य सम्बन्धी कार्यक्रमको लागि साहित्य संघसंस्था उपमहानगरपालिका धाउने हाेइनकी उपमहानगरले बाेलाएर छलफल गरी साहित्यकाे लागि कार्यक्रम बनाउनु पर्ने बताए । ‘स्थानीय सरकार भौतिक निर्माणमा मात्रै रमाएकाे अवस्था छ’ उनले भने । अवकाे विकास भनेकाे बौद्धिक क्षेत्रकाे साहित्यकाे भाषा कला र संगीतकाे हुनु पर्ने बताउँदै तव मात्रै समाजकाे विकासकाे मापन गर्न सकिने बताए ।

साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तिको बारेमा संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका अध्यक्ष तथा लघुकथाकार किशन पौडेलले लघुकथा लेखनमा महोत्सवले थप सहयोग पुग्ने बताए । यसैगरी साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले मकवानपुरमा साहित्य क्षेत्र चलायमान हुँदै अगाडि बढ्दै गइरहेको बताए ।
कथा, कविता, गजल, मुक्तक लगायत साहित्यका विविध विधाको विधागत कार्यशाला, लेखन, वाचन, स्रष्टा सम्मानलगायतका कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सङ्गम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
लघुकथा सिद्धान्त र बाटो बहस
‘लघुकथाः सिद्धान्त र बाटो’ बहसमा चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौँकी सुमन वर्षा सहभागी थिए । एसके निधन सहजकर्ता रहेको यस सत्रको अभिभावकत्व साहित्य सङ्गमका सल्लाहकार तुलसी घिमिरेले गरेका थिए । बहसमा लघुकथाकार रेग्मीले लघुकथाको सुरूवात, मध्य र विचारको प्रयोग तथा यसको अन्त्य गरिने तौरतरिकाकाे जानकारी दिएका थिए ।
यस्तै लघुकथाकार सुमन वर्षाले लघुकथाका भिन्न स्वरुप रहेको र उठानका क्रममा राजनैतिक द्वन्द्व, समाजका विषयवस्तु, दैनिकीका कुराहरू जुनसुकै विषयवस्तु उठान गरेता पनि त्यसलाई निश्कर्षमा पुर्याएको छ वा छैन भन्ने विषयले पनि लघुकथाको भिन्नतालाई पहिचान गर्न सकिने बताइन् । वर्षाले लेखकले कसरी लेख्ने भनेर सूत्र हेरेर नलेख्ने बरू नवीन प्रयोग गर्दै लेख्ने जानकारी दिइन् ।
बहसका क्रममा लोहनीले लघुकथा पहिले लेखियो कि सिद्धान्त पहिले बन्यो भन्ने प्रश्नमा जुनसुकै लेखन पहिले हुने र सिद्धान्तमा हाल्ने काम पछि हुने जानकारी दिए ।
उत्सवमा मकवानपुरका किशन पौडेल, रमेशमोहन अधिकारी, रामकुमार विष्ट ‘विष्ट अङ्कल’, श्याम श्रेष्ठ, मिथिला अधिकारी, चितवनकी रचना शर्मा, बैतडीका धनदेव जोशी, प्युठानका हरि जिसी, काठमाडौँका किसान प्रेमी र केशव श्रेष्ठ ‘ज्योति’ लगायतले आ-आफ्ना लघुकथा वाचन गरेका थिए।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजिकरण गरेका थिए । कार्यक्रममा साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले दलित समुदायका महिलाहरुलाई साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरेको छ । दलित समुदायका महिलालाई आयआर्जनमा अभिप्रेरीत गर्ने गरी शुक्रबारबाट उक्त तालिम संंचालन गरिएकाे हाे ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले शुक्रबार तालिमको उद्घाटन गर्दै दलित महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । ‘समाजमा पिछडिएका दलित महिलाहरुलाई गाउँपालिकाले सिपमुलक तालिम दिएर सामाजीक र व्यवसायीक दुबै हिसाबले सफल बनाउने लक्ष्य लिएको छ‘ उनले भनिन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सहभागीलाई तालिम पश्चात व्यवसायीक रुपमा अघि बढ्न सफलताकाे शुभकामना दिएका थिए । तालिममा गाउँपालिकाका ९ वटा वडाबाट ४५ जना दलित महिलाहरुको सहभागीता रहेको छ ।
तालिम उद्घाटन कार्मक्रममा मनहरी वडा नम्बर ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, वडा नम्बर ६ का वडासदस्य राममाया नगरकोटी लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरमा भएकाे रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा बिहीबार भएको रक्तदानमा २ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा समन्वय समितिले सप्ताहव्यापी कार्यक्रम गरी मनाउदै छ । कार्यक्रमकाे पहिलाे दिन बिहीबार समितिले रक्तदान कार्यक्रम गरेकाे अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान भएको हो । टोल विकास संस्था नगर समन्वय समितिले बिहीबारदेखि जेठ २३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ५२ औं विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउँदै छ ।
रक्तदान कार्यक्रम नगर समन्वय समितिका अध्यक्ष अधिकारीको अध्यक्षता तथा हेटौंडा –१९ का वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा भंएकाे थियो ।