मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा ३ वटा पक्की पुल निर्माण सम्पन्न भएकाे छ । आईतबारकाे गाउँकार्यपालिका बैठकले निर्माण सम्पन्न पुलको उद्घाटन जेठ २६ गते गर्ने निर्णय गरेकाे छ ।
कार्यपालिकाले उद्घाटन गर्ने निर्णय गरेसँगै मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले पुलकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०७७/७८ मा आन्तरिक श्रोतकाे ३३ करोड ४० लाख ६५ हजार लागतमा ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । गाउँपालिकाकाे वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का मार्फत निर्माण थालिएकाे थियाे ।
हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुलकाे जेठ २६ गते उद्घाटन गरिने अध्यक्ष कालाखेतीले जानकारी दिए ।
यसैगरी हाँडिखोला र ठाडो खोलामा निर्माणाधिन दुईवटा पुल २०८१ मंसिर महिनासम्म सम्पन्न भइसक्ने उनले बताए । उनका अनुसार ठाडोखोला पुलकाे निर्माण ८५ प्रतिशत र हाँडिखोला पुलकाे निर्माण ६३ प्रतिशत भएकाे छ ।

