मकवानपुर । मकवानपुरमा एक साताकाे अवधीमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार ३ गतेदेखि १० गतेसम्मको अवधीमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु भएको हुन् ।
प्रहरीका अनुसार उक्त अवधीमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् । बिरामी मध्ये ४ जना गम्भीर भई उपचाररत छन् भने ४ जना सामान्य बिरामी र ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । मकवानपुर प्रहरीका अनुसार जंगली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका–८ का ४ बर्षीय दिपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङका बल बहादुर प्रजाको मृत्यु भएको हो ।
असार ३ गते राती ७ बजे कैलाश–९ नामटार बस्ने बिनोद लामा लगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा निजको छोरा दिपेश लामा बिरामी परेका थिए । च्याउ खाएर बिरामी भएका दिपेशको उपचारका लागि असार ४ गते हेटौंडा अस्पताल ल्याइएकाे थियाे ।उनलाई थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियाे । उपचार पश्चात असार ८ गते अस्पतालबाट घरतर्फ ल्याउने क्रममा उनकाे मृत्यु भएको हो ।
यस्तै असार ३ गते राती ७ बजे कैलाश–९, नामटारकी २५ बर्षीया निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन् । बिरामी अवस्थामा असार ४ गते हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियो । उनको उपचारको क्रममा असार १० गते मृत्यु भएको हो । आर्थिक अभावका कार चितवन मेडिकल कलेजमा उपचार गर्न असार ९ गते दिउँसो ३ बजेको रुम्बाको आफन्तले हेटौँडा अस्पताल फिर्ता ल्याएका थिए ।
असर ९ गते बिहान ६ बजे राक्सिराङ–७, दुगुवाङका बल बहादुर प्रजाले जङगलबाट ल्याएको जङगली च्याउ पकाएर खादा एकै परिवारका ५ जना मानिसहरु बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका उनीहरुको उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा ५५ बर्षीय बल बहादुर प्रजाको साँझ ६ः३५ बजेको समयमा मृत्यु भएको थियो ।
च्याउ सेवनबाट १६ जना बिरामी
राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना गम्भीर बिरामी छन् । प्रहरी अनुसार जंगली च्याउ खाएर मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमति ४५ बर्षीया जालिमाया प्रजा, छोरी १५ बर्षीया रेन्जु प्रजा र ८ बर्षीया सविना प्रजा र छोरा १० बर्षीय सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका उनीहरुको अवस्था गम्भीर रहेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विजय कापरीले जानकारी दिनुभएको छ । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका–६, सानुसल्ले र मकवानपुरगढी–५ कालीवनमा जंगली च्याउ (गोब्रे च्याउ) खाँदा ८ जना बिरामी भएका थिए । च्याउ खाँदा मकवानपुरगढी–६, सानुसल्लेका ३२ बर्षीय सानु कान्छा पाख्रिन, २८ बर्षीया सुविता पाख्रिन, ५ बर्षीय सुशान्त पाख्रिन, ११ बर्षीय सोनिया पाख्रिन, ४६ बर्षीय श्याम पाख्रिन, ४३ बर्षीय एलिजा पाख्रिन बिरामी परेका छन् । च्याउ खाँदा मकवानपुरगढी–५, कालीवनका ६ बर्षीय समिर थिङ, १२ बर्षीया सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरुको हेटौँडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ–८, लाचेको जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ खाँदा राक्सिराङ–८ का २१ बर्षीय भुवल प्रजा, भुवलकी श्रीमती २१ बर्षीया रतिमाया प्रजा, छोरा ३ बर्षीय समिक प्रजा र भाइ १८ बर्षीय पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । जङगली च्याउ खाँदा मकवानपुरकाे राक्सिराङमा ४ जना बिरामी भएका छन् । सोमबार राक्सिराङ गाउँपालिका ८ लाचे बस्ने २१ वर्षीय भवुल प्रजाले जंगली च्याउ ल्याई पकाएर खाँदा एकै परिवारका ४ जना बिरामी भएका हुन् ।
जंगली च्याउ खाँदा भवुलसहित निजको श्रीमती २१ वर्षीय रतिमाँया प्रजा, ३ वर्षीय छाेरा समिक प्रजा,
१८ वर्षीय भाई पूर्ण प्रजा बिरामी भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरुलाई उपचारको लागि चितवनकाे भरतपुर स्थित सरकारी अस्पताल पठाइएकाे छ ।
यस अघि राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएकोमा १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
असार ९ गते आइतबार स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीय श्रीमती जालिमाया प्रजा, १५ वर्षीय छोरी रेन्जु प्रजा, ८ वर्षीय सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा जंगली च्याउ खाँदा बिरामी भएकाेमा बल बहादुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
…..र यो पनि
मकवानपुर । मकवानपुरको पालिकाहरुले सोमबार नीति तथा कार्यक्रम र बजेट पालिकाकाे सभा समक्ष प्रस्तुत गरेका छन् । असार १० गते भित्र पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था रहेकाेले मकवानपुरका पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेट सभा समक्ष प्रस्तुत गरेका हुन् ।
असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेर असार महिनाकाे अन्तसम्म पारित गर्नु पर्ने व्यवस्था भए पनि कतिपय पालिकाले सोमबार नै पारित समेत गरेका छन् । हेटौडा उपमहानगरपालिकाले भने असार २ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेर असार ७ गते पारित गरेकाे थियाे । यसै गरी थाहानगरपालिकाले असार ७ गते बजेट प्रस्तुत गरेकाे छ ।
उपमहानगरपालिकाको आगामी आवको लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशतले कम छ ।
अर्थतन्त्रमा परेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार घटाएको उपमहानगरले जनाएको छ ।
यसै गरी थाहा नगरपालिकाको बजेटमा कृषि, पूर्वाधार शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राख्दै कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगार र रोजगारीको वातावरण सिर्जना गर्ने उल्लेख छ ।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले थाहा नगरपालिकाले राष्ट्रसेवक कर्मचारीलाई पर्यटन काजका लागि रकम विनियोजित गरेको छ । तरकारी खेतीलाई प्रवर्धन गर्न बजेट विनियोजन गरेकाे थाहाले आलु खेतीकाे उन्नत बीउको लागि बजेटमा अनुदानको व्यवस्था गरेको छ ।
यसै गरी मकवानपुरका अन्य ८ वटा पालिकाले सोमबार बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. ५७ करोड ९५ लाख ८० हजार रुपैयाकाे बजेट प्रस्तुत गरेकाे छ । सोमबारकाे ११ औँ अधिवेसनमा उपाध्यक्ष उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु. ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु. ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु. ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान रु. १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।
त्यसैगरी संघीय सरकार राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड ५५ लाख रुपैया बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क राजश्व २ करोड ३८ लाख रुपैया, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट ७५ लाख रुपैया, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत १ करोड रुपैया, ढुंगा, गिट्टी, बालुवा नदिजन्य पदार्थ (दहत्तर बहत्तर) राजस्व बॉडफॉडबाट प्राप्त हुने ३ करोड रुपैया सहित जम्मा १५ करोड ६४ लाख रुपैया अनुमान गरिएको उपाध्यक्ष पाख्रीनले बताइन् ।
गाउँपालिकाले प्रदेश सरकार समपुरक अनुदान ३ करोड रुपैया हुने अनुमान गरेको छ । संघीय विशेष अनुदान ५० लाख र प्रदेश विशेष अनुदान रकम १ करोड प्राप्त हुने अनुमान गरिएकाे उनले जानकारी दिइन् । गाउँपालिकाको व्ययतर्फ पुँजीगतमा ३० करोड ८ लाख २ हजार १९ रुपैया, अर्थात (५१.९ प्रतिशत) र चालु तर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० अर्थात (४८.१ प्रतिशत) अनुमान उपाध्यक्षले प्रस्तुत गरिन् ।
मनहरी गाउँपालिका
मकवानपुरकाे मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ कालागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबारकाे गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीले आगामी आर्थिक वर्ष आर्थिककाे लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोत तथा बैंक नगदबाट ३० करोड २७ लाख ९४ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल बजेटमध्ये संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार रुपैयाँ, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलापतर्फ ३० करोड ७३ लाख ४७ हजार रुपैयाँ, वडास्तरीय योजनातर्फ ९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको छ ।
पालिकाको सोमबार भएकाे ११ औं गाउँसभाले पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो । श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन र आगामी आवको आर्थिक विधेयक समेत सभामा प्रस्तुत गरेका थिए ।
भीमफेदीकाे नीति तथा कार्यक्रममा रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने विद्यालय खाजा कार्यक्रमलाई विस्तार गरी संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पुर्याउने, अनौपचारिक क्षेत्रका एक सय जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनेलगायतका छन् ।
बागमती गाउँपालिका
पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिका अध्यक्ष सर्केश घलानले १२ औं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पालिकाले आगामी आर्थिक बर्षमा पालिका आफैँले क्रसर उद्योग संचालन गर्ने भएको छ । बागमती–५ मा संचालन हुने क्रसर उद्योगका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताइएकाे छ। क्रसर उद्योगबाट तयारी गिट्टी बालुवा बिक्रि गर्दा मूल्य बढी पाइने र त्यसको लाभ पालिका र पालिकाभित्रका जनतालाई पुग्ने उनले बताए ।
पालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।
राक्सिराङ गाउँपालिका
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबारकाे गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी उपाध्यक्ष वनस्थम थिङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकाे छन् । राक्सिराङ गाउँपालिकाले संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार रुपैयाँ र आन्तरिक स्रोत ६ करोड २७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । राक्सिराङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरी बजेट सार्वजनिक गरेकाे हाे ।
बकैया गाउँपालिका
पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको गाउँसभामा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे ।
पालिकाले चालू आर्थिक वर्षको भन्दा १० करोड बढी रकमको बजेट ल्याएको हो । पालिकाले चालू आर्थिक वर्षमा ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकालाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ उपलब्ध भएको छ । यस्तै संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ ।
पालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको संचालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कैलाश गाउँपालिका
मकवानपुरको कैलाश गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशनमा अध्यक्ष लोकबहादुर मुक्तानले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
अध्यक्ष मुक्तानले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा रोजगारी सिर्जनाका लागि स्थानीय जनशक्ति परिचालन, स्वच्छ र सुलभ खानेपानीको उपलब्धता, एक घर एक धारा नीति, एक घर एक शौचालय, मासिक हाटबजार सञ्चालन, एक घर एक करेसाबारी, पशु बीमामा अनुदान, उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम, रिटर्नी उद्यमशीलता कार्यक्रम, नमूना युवा उद्यम कार्यक्रम संचालन गरिने उल्लेख छ ।
यसैगरी आर्थिक सहायता सहितको छात्रवृत्ति, विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं कार्यक्रम मारुनी, घाटु नाच एवम् पञ्चेवाजा, खैजडी भजन लगायतको संरक्षण र प्रबर्द्धन गर्न युवा वर्गलाई तालिम तथा प्रशिक्षण, अध्यक्षसँग विपन्न कार्यक्रम, चेली प्रोत्साहन कार्यक्रम, ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट, शून्य बेरुजु गाउँपालिका रुपान्तरण अभियान लगायतका कार्यक्रमहरु आगामी वर्ष सञ्चालनमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ प्रस्तुत गरे । कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
चालू आर्थिक बर्षमा पालिकाले ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट विनियोजन गरेकाे थियो । आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैयाँ कम विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै पालिका उपाध्यक्ष ठकुरीले कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकासतर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरिएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडाध्यक्ष ईन्द्रमणि तिमल्सिनालगायतका गाउँसभाका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् ।
गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट उपलब्ध नगराएको भन्दै उपाध्यक्ष, वडाध्यक्षले गाउँसभा बहिष्कार गरेका हुन । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् ।
आइतबार विज्ञप्ती जारी गर्दै गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाको नेतृत्वले उक्त नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै असन्तुष्टि जनाएका थिए । गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलानले एकलौटी ढङ्गले नेपालको संविधान २०७१ र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य हक अधिकारमा प्रत्यक्ष हस्तक्षेपकारी गरि नीति तथा कार्यक्रम ल्याउन लागेकोमा घोरआपत्ती रहेको उपाध्यक्ष तिमल्सिनाले बताए ।
उपाध्यक्ष सहित वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, ७ का अध्यक्ष उत्तरबहादुर भोलन, ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ का अध्यक्ष पुनराम घलान र कार्यपालिका सदस्य डम्बर बहादुर विककाे संयुक्त हस्ताक्षरित ४ बुँदे विज्ञप्ति जारी गरिएकाे थियाे ।
विज्ञप्ति प्रकाशित गरेपछि साेमबारकाे गाउँसभामा समेत एकलौटी नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सभा सञ्चालन गरिएकाे भन्दै विरोध गरिएकाे हाे । सोमबार सभा बहिष्कार पछि हेटौडामा पत्रकार भेटघाट गरी उपाध्यक्ष तिमल्सिनाले गाउँपालिकाको आ.व. २०८१/८२ को बजेट र निति तथा कार्यक्रमको बिषयमा वडा नम्बर ६,७ र ८ का वडा अध्यक्षसहित आफ्नाे पनि सहमति नरहेकाे बताए ।
गाउँपालिकाले प्रस्तुत गर्ने बजेट अन्तरगत योजना तर्जुमा गर्न उपाध्यक्षको प्रमुख भूमिका रहने व्यवस्था भएपनि अध्यक्ष सर्केस घलानलगायतकाे समूहले बजेट निर्माण प्रक्रियामा समावेश नगराएकाे तिमल्सिनाले जानकारी दिए । ‘हामीले राखेको योजना र एजेन्डालाई समाबेश नगर्ने, बहुमतको आधारम पेलेर जाने प्रवृत्ति बिगतदेखी रहदै आएकोमा पटकपटक अनुरोध गर्दा पनि अध्यक्षले बेवास्ता गरेकाेले सभा वहिष्कार गर्नु परेकाे हाे’ उनले भने ।
असार ३ गतेदेखी नै एजेन्डामा पटकपटक छलफल गरे पनि हाम्रो माग तथा एजेन्डाहरु बेवास्ता गर्ने गरेको , कार्यकर्ता पोस्नलाई पुँजीगत बजेटलाई चालु तर्फमा राखिएकाे, भौतिक पुर्वाधार बिकासको लागि आफू भन्दा फरक पार्टीको जनप्रतिनिधिको क्षेत्रमा बजेट समावेश गर्ने नगरेकाे, केन्द्र सरकार तथा प्रदेश सरकारबाट प्राप्त अनुदान लाई कर्मचारी ब्यबस्थापनमा खर्च गरिने गरेकाे उनले बताए ।
‘उपाध्यक्ष तथा वडा अध्यक्षहरु सहितले उल्लेखित बिषयको बिरोधमा सोमबारकाे गाउँपालिकाकाे नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिने सभा बहिस्कार गरी सामुहिक रुपमा बिरोध गरेका हौं’ उनले भने हाम्रो शान्तिपुर्ण बिरोधमा अध्यक्ष निर्देशनमा बिथोल्ने प्रयास गरियो, गाउँपालिकाको आधा भन्दा बढी जनतालाई उपेक्षा गरेर ल्याइएकाे नीति तथा कार्यक्रम र बजेटमा हाम्रो विमति रहन्छ ।’ ‘अब हामी गाउँपालिकाबाट बिगतदेखि भएका अपारदर्शी कार्य तथा कानून बिपरितका निर्णयहरुकाे बिरोध गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउछौं उनले भने ।
नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसारकाे गाँउपालिका उपाध्यक्ष तथा वडा अध्यक्षको अधिकार हडप्ने कार्य गर्दै आएकाले हाम्रो हक र अधिकार प्राप्त गर्न लागि परिरहने उनले बताए ।
गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट उपलब्ध नगराएको भन्दै उपाध्यक्ष, वडाध्यक्षले गाउँसभा बहिष्कार गरेको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सर्केस घलान भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको बताउँछन् । बजेट निर्माणको प्रक्रियामै छौ नीति तथा कार्यक्रममा उहाँहरुकाे मागलाई समावेश गरी बजेट बनाउँदा समावेश गर्ने उनले बताए । उनले भने ‘प्राथमिकता पहिचान गरेर योजना छनोट गर्ने र विषयगत समितिहरु मार्फत योजना तर्जुमा गर्ने प्रक्रिया गाउँपालिकाले गर्ने गरेकाे छ ।’
पत्रकार भेटघाटमा गाउँपालिका उपाध्यक्ष फणीन्द्र तिमल्सिना, ७ नम्बर वडा अध्यक्ष उत्तम बहादुर भोलोन ८ नम्बर वडा अध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ नम्बर वडा अध्यक्ष पुनराम घलान, नेपाली काङ्ग्रेस मकवानपुर सचिव इश्वर पाठक , तरुण दल मकवानपुर अध्यक्ष लिलाराज सापकोटालगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । साहित्य संगम मकवानपुरले नियमित सन्ध्याअन्तर्गत शनिबारको गोविन्द खड्का तथा गणेश कुमार पौडेल स्मृति कार्यक्रम गरेकाे छ । संगमकाे ३४४ औं नियमित साहित्य सन्ध्यामा स्वर्गीय गाेविन्द तथा गणेश विशेष रचना वाचन कार्यक्रम गरिएकाे हाे ।
साहित्य संध्यामा १५ जना स्रष्टाले साहित्यका विविध विधामा रचना वाचन गरेका थिए । राजकुमार चौधरी, ऋषिराम पाण्डे, राजकुमार राउत, सुवास सजल, संप्रस पौडेल आँप, सानु खनाल र देवराज खरेल कविता वाचन गरेका थिए ।
यसैगरी अनिता पौडेलले मुक्तक र मिथिला अधिकारी गजल वाचन गरेकाे सन्ध्यामा छवि अनित्य, सानुभाइ विश्वकर्मा, राजुराम राउत तथा अग्रज साहित्यकार रमेश मोहन अधिकारी, देवराज तिवारी र जनार्दन खनालसमेत आआफ्ना रचना वाचन गरे ।
स्व. खड्का र पौडेलको तस्वीरमा माल्यार्पण गरि सुरु गरिएकाे सन्ध्या संगम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा भएको थियाे ।