मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशासनिक केन्द्र निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
हेटौंडा–१७, हटियामा प्रदेश सरकारका प्रशासनिक निकायका भवन तथा संरचना निर्माण योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेकाे भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल जानकारी दिए । मन्त्री दुलालका अनुसार आयोजना स्थलमा वन क्षेत्रको केही जग्गा भएकाले सहजीकरण गर्न गौरवको आयोजनाको रुपमा समेट्न सिफारिस गर्ने निर्णय गरिएको हाे ।
बैठकले सिन्धुपाल्चोकको चौतारामा निर्माण भइरहेको प्राविधिक शिक्षालयमा पर्ने वन क्षेत्रको जग्गा भोगाधिकार प्राप्तिका लागि संघीय सरकारलाई सिफारिस गर्ने समेत निर्णय गरेको उनले बताए । वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त गर्न संघीय सरकारको प्राथमिकता प्राप्त आयोजना हुनुपर्ने कानूनी प्रावधान रहेकाे छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा नियमावलीका केही दफाहरु संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश विश्वविद्यालय स्थापना, संचालन र शैक्षिक कार्यक्रम निर्धारणका लागि अनुकुल नदेखिएका दफाहरु संशोधन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश विश्वविद्यालयको विधान परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको छ । यसअघि निर्माण गरिएको विधानमा धेरै विषयहरु परिवर्तन गर्नुपर्ने देखिएकाले सो विधानलाई परिमार्जन परिवर्तन गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा जंगली च्याउ खादा एकै परिवारका ५ जना विरामी भएका छन् ।
जंगलबाट ल्याएको सल्ले च्याउ खादा हेटौंडा–१९ का ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीय अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीय फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनामा जंगली च्याउकाे सेवन गर्दा तीन जनाको मृत्यु भएकाे छ ।
भरतपुर, चितवन । असार १५ अर्थात धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । शुक्रबारनै प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवन आइपुगेका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेकाे प्रधानमन्त्री प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्दै सतर्क भएर मात्रै काम व्यवहारमा देखिने बताए । चितवनमा पत्रकारकाे प्रश्नमा उनले उक्त कुरा बताएका हुन् ।
‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरे दुर्घटना निम्त्याउन चाहन्नौं। किनकी विगतमा एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौं’ उनले भने ‘हामी सतर्क छौं, सतर्कका साथ अगाडि बढेका छौं। यदि भएमा तपाईहरूले काम देखिने गरी व्यवहारमा देख्नु हुनेछ।’ अहिले राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिँदै उनले काम गर्दै जाँदा परिणामले नै देख्ने गरी वाम एकता हुने सक्ने भन्दै तत्काल पुरानै दुर्घटना तर्फ जान नचाहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गत वर्ष मलको अभाव नभएको बताउदै यस वर्ष पनि नहुने बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भने,‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन्। भएकोलाई त भएको भन्दिनुपर्यो नि, अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइदैन्।’
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार स्क्रयाबल (शब्दको खेल) खेलाइने भएकाे छ । बालजागृति अङ्ग्रेजी सेकेण्डरी स्कुलले स्क्र्याबल क्लबसँगको सहकार्यमा असार १५ गते शनिबार शब्दकाे खेल प्रतियाेगिता आयोजना गर्ने भएकाे शुक्रबार विद्याललये पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे ।
शब्दकाे खेल खेलाइने प्रतियोगितामा विद्यार्थीहरुले खेलकुदको साथसाथै अङ्ग्रेजी शब्दभण्डार बढाउन र भाषा सीप विकास समेत गर्ने छन् । स्क्र्याबल अर्थात ‘शब्दको खेल’ खेलाईनेछ ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका, बकैया र मनहरी गाउँपालिकाका करिब ५० विद्यालयका २५० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। ‘कार्यक्रममा ५० वटा विद्यालयका दुई सय ५० विद्यार्थीहरुको सहभागिता रहन्छ’ बालजागृतिका प्रिन्सिपल सुवेदीले भने ‘पाँच जना विद्यार्थीलाई सम्मान पनि गर्नेछौ ।’
कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू समावेश हुने प्रतियाेगितामा प्रत्येक विद्यालयबाट तीन जना विद्यार्थी र एक जना शिक्षक सहभागी हुन पाउने प्रिन्सिपल सुबेदीले बताए । स्क्र्याबल क्लबका मकवानपुर संयोजक बिबश जंग थापाले स्क्रयाबलको महत्त्व र यसअघिका प्रतियोगिता समेतकाे जानकारी गराएका थिए । उनका अनुसार यसअघि मकवानपुरमा १३ वटा विद्यालयको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो। स्क्रायबल खेलले अङ्ग्रेजी शब्दभण्डार बढाउन सहयोग पुर्याउने हुँदा खेलले विद्यार्थीको अङ्ग्रेजी भाषा सीप विकासका हुने उनले बताए ।
विद्यार्थीको माग बढ्दो रहेकाले स्क्रयावलबारे अभिमूखीकरण कार्यक्रम गरिन लागेको थापा बताउँछन् । कार्यक्रमलाई क्लबका केन्द्रीय सदस्य भोजराज सुवेदीले संयोजन गरेकाे छन् । कार्यक्रममा स्क्र्याबलका नियम र रणनीतिहरू सिकाउने अन्तरक्रियात्मक कार्यशाला र अभ्यास सत्रहरू समावेश गरिने सुवेदीले जानकारी दिए ।
मकवानपुरबाट बालजागृति विद्यालयका छात्र प्रसिद्ध तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा सहभागिता समेत जनाइसकेका छन् ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान कोही कसैकाे नीजि सम्पत्ती नभइ प्रदेशको गौरवको आयोजना रहेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । प्रतिष्ठानको चौथो वाषिर्कोत्सवको अवसरमा शुक्रबार हेटौंडामा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
‘प्रतिष्ठान प्रदेश सरकारको अभिन्न अंग हो’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘स्वास्थ्य क्षेत्रकाे लागि दक्ष जनशक्ति उत्पादन गर्ने स्थापना भएकाे हाे ।’ ‘अरु प्रतिष्ठान संघीय सरकारबाट स्थापना भएका भए पनि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाग्मती प्रदेश सरकारबाट स्थापना भएकाे र प्रतिष्ठानकाे ऐन प्रदेशले पारित गरेकाे हाे’ उनले भने । उनले स्वास्थ्य क्षेत्रमा डाक्टर पढ्न र नर्स पढ्न चाहनेले पढ्न नपाएकाे बताए । ‘हाम्रो ऐन काेटा निर्धारण हुने गरी बनेकाे छ’ उनले भने ‘देशमा डाक्टर पढ्न कोटा निर्धारण गर्ने नियम तोडिनुपर्छ । पढ्न इच्छा हुनेलाई पढ्न दिइनु पर्ने उनले बताए ।
‘सरकारले विद्यार्थीबाट लिने फि को एउटै मापदण्ड बनाउनुपर्छ’ उनले भने । प्रतिष्ठानले अहिले ४ वटा विषय मात्रै पढाइरहेकाेले २८० विद्यार्थी छन् । बनिरहेकाे संरचनाले पूर्णता पाएपछि हजारौं विद्यार्थी पढाउन सक्ने उनले जानकारी दिए । प्रतिष्ठान प्रदेश गौरवको आयोजना भएकाेले कानूनले दिएको काम गर्ने बताउँदै उनले भने ‘संस्थालाई विवादरहित बनाउँदै अगाडि बढाउनु पर्छ ।’
हेटौंडा अस्पताल संघीय सरकारले प्रादेशिक अस्पताल बनाएको जानकारी दिदै उनले ५ वटा अस्पतालहरु प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उनले बताए । प्रतिष्ठानले गर्दा नै हेटौंडा अस्पताल सुधार भएकोले अन्य भ्रममा नपर्न समेत उनले आग्रह समेत गरे । बागमती प्रदेश भरी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान भएकाेले लक्ष्यमा अगाडि बढ्नु पर्ने उनकाे भनाई थियाे ।