भरतपुर, चितवन । असार १५ अर्थात धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएका छन् । शुक्रबारनै प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला चितवन आइपुगेका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेकाे प्रधानमन्त्री प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्दै सतर्क भएर मात्रै काम व्यवहारमा देखिने बताए । चितवनमा पत्रकारकाे प्रश्नमा उनले उक्त कुरा बताएका हुन् ।
‘हामीले अहिले हतारमा पार्टी र वाम एकता गरे दुर्घटना निम्त्याउन चाहन्नौं। किनकी विगतमा एकताको नाममा पुरानै दुर्घटना निम्त्याउन चाहन्नौं’ उनले भने ‘हामी सतर्क छौं, सतर्कका साथ अगाडि बढेका छौं। यदि भएमा तपाईहरूले काम देखिने गरी व्यवहारमा देख्नु हुनेछ।’ अहिले राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई जोड दिँदै उनले काम गर्दै जाँदा परिणामले नै देख्ने गरी वाम एकता हुने सक्ने भन्दै तत्काल पुरानै दुर्घटना तर्फ जान नचाहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गत वर्ष मलको अभाव नभएको बताउदै यस वर्ष पनि नहुने बताए । पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रचण्डले भने,‘पोहोर साल मलको अभाव कहीँ पनि भएको होइन्। भएकोलाई त भएको भन्दिनुपर्यो नि, अहिले पनि मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइदैन्।’

