मकवानपुर । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले तेक्वान्दाे खेल सामग्री सहयाेग गरेकाे छ । वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङ हेटौडा २ लाई खेल सामग्री सहयोग गरेको हाे ।
डोजाङका प्रमुख युसुफ हुसेनलाई हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले वडा सदस्य सुरज बर्तौला, मैया परियार, मकवानपुर जिल्ला तेक्वान्दो संघका पदाधिकारी लगायतकाे उपस्थितिमा तेक्वान्दो खेल सामग्री हस्तान्तरण गरेका हुन् । २ नम्बर वडाको खेलकुद क्षेत्रको विकासलाई मध्यनजर गरेर वडा कार्यालयले चेस्टप्याड, किक प्याड, हेडगार्ड, ग्लोइङ कभर, सिनगार्डलगायतकाे सामग्री सहयोग गरेको अध्यक्ष महर्जनले बताए ।
सिद्धार्थ तेक्वान्दो डोजाङलाई ६० हजार रुपैयाँ बराबरको सामग्री वडा कार्यालयले सहयोग गरेको वडा सचिव रामप्रसाद गुरागाईंले जानकारी दिए ।वडाका खेलाडीहरुलाई प्रशिक्षणमा सहयोग गर्न सामग्री हस्तान्तरण गरिएकाे वडा सदस्य बर्तौलाले जानकारी दिए । संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले वडा कार्यालयले डाेजाङलाई खेल सामग्री सहयाेग गरेकाेमा खुसी व्यक्त गरे ।
मकवानपुर । वर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार रातिबाट परेको वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको बताइएको छ ।
बाटो सुचारु गर्न सडक डिभिजन र गाउँपालिकासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।
मकवानपुर । नेपाली राजनीतिमा ३-४ महिनाकाे अन्तरालमा सत्ता समिकरण बदलिएपछि त्यसकाे असर सरकारकाे नेतृत्व गरिरहेकाे दल तथा सत्ता साझेदार दलमा समेत पर्ने गरेकाे छ ।
पछिल्लाे पटक २२ फागुन २०८० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगकाे समिकरण ताेडी नेकपा एमालेसँग सत्ता समिकरण गरेका थिए । माओवादीसँगकाे सत्ता समिकरणबाट अलग भई एमाले र काँग्रेसकाे नयाँ समिकरण गत सोमबार मध्यरातमा भएपछि यसले राजनीतिमा नयाँ तरङ्ग पैदा गरेकाे छ । एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता र सरकारमा सहभागी मन्त्रीले राजिनामा बुझाएका छन् ।
सरकार समर्थित कुनै एक दलले समर्थन फिर्ता लिए स्वतः अल्पमतमा सरकार पर्ने भएकाेले उसले कि त संसदमा विश्वासकाे मत लिनु पर्छ कि राजिनामा दिनु पर्छ । तर प्रधानमन्त्री प्रचण्डले संसदकाे फेस गर्ने भएका छन् । असार २८ गते विश्वासकाे मतकाे प्रस्ताव संसदमा पेश गर्ने छन् । विश्वासकाे मत प्राप्त नभए उनी स्वतः पद मुक्त हुने छन् । सत्ता समिकरणकाे फेरबदलकाे असर प्रदेश सरकारमा समेत देखिएकाे छ । लुम्विनिमा नयाँ मुख्यमन्त्री चयनकाे प्रक्रियाकाे लागि प्रदेश प्रमुख समक्ष लेखि पठाइएकाे छ ।
जनता समाजवादी पार्टीले समेत प्रचण्ड सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै सरकारमा सहभागी मन्त्रीले राजिनामा बुझाएका छन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि त्यसले असर पर्ने भएकाे छ । काँग्रेस र एमाले बीच गत सोमबार भएकाे सहमती अनुसार बागमतीमा काँग्रेसकाे नेतृत्वमा सरकार गठन हुने छ । हाल नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा एमालेसहितका दलकाे सरकार छ । तर एमालेबाट बागमतीमा सहभागी मन्त्रीहरु राजिनामा बुझाउने तयारीमा छन् । बागमती प्रदेश सरकार ढल्ने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौडा बाहिर गएकाे बुझिएकाे छ ।
नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारकाे समेत आयु गणना सुरु भएकाे छ । ३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता समिकरण बदलिएसँगै सत्ता छाड्नुपर्ने परिस्थिति बनेको हो । प्रदेश सरकार निर्माणलगायतका विषयमा निर्णय गर्न बागमतीका सत्ता साझेदार दलहरू केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा छन् ।
माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेललाई शुक्रबार भेटेरै राजीनामा बुझाउन खोजेपनि उनी हेटौँडा बाहिर रहेका कारण सम्भव नभएकाे बताइएकाे छ । तत्काल राजीनामा बुझाउने एमालेका मन्त्रीहरूको योजना मुख्यमन्त्री हेटौडा आएपछि हुने भएकाे छ ।
केन्द्रीय तहमा एमाले र कांग्रेसको साझेदारीको सरकार बन्ने भएपछि बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने छ । सोही समीकरण अनुसार सरकार गठनका लागि जम्कट्टेल नेतृत्वको सरकारबाट एमालेले अलग हुँदै समर्थन फिर्ता लिनु पर्ने हुन्छ । एमालेले नयाँ समीकरण अनुसार सरकार गठनमा पहल गर्न राजीनामाको तयारी गरेपनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौं भएकाे बुझिएकाेले राजीनामा बुझाउन भने बाँकी रहेकाे एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । उनले भने, ‘मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामा बुझाउँछौँ ।’
एमालेका मन्त्रीहरू ३ महिनामा बाहिरिदै
एमालेबाट वर्तमान सरकारमा सहभागी भएकाे ३ महिनामा सरकारबाट बाहिरिने भएकाे छ । २० फागुन २०८० मा केन्द्रमा नेकपा माओवादी र नेकपा एमालेसहितकाे सत्ता समीकरण भएपछि प्रदेशमा १७ चैत २०८० मा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । यसअघि बागमतीमा एमाले करिब १ वर्ष प्रतिपक्षमा रहेको थियाे । माओवादी केन्द्रकाे नेतृत्वमा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीको साझेदारीसहितकाे सरकारमा एमाले सहभागी भएको थियो । एमालेबाट गत चैत १७ मा एक र चैत २० मा ५ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।
जम्कट्टेल नेतृत्वको सरकारमा एमालेबाट चैत १७ मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र चैत २० मा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सहभागी भएका थिए ।
आन्तरिक भेटघाटमा व्यस्त मुख्यमन्त्री
यसैबिच सत्ता समीकरण फेरिने सहमति बनेलगत्तै काठमाडौँ पुगेका मुख्यमन्त्री जम्कट्टेल आन्तरिक भेटघाटमा व्यस्त छन् । पार्टीका शीर्ष नेतासहित अन्य दलका नेताहरूसँग उनले भेटघाट गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता समीकरण र सरकारको भविष्यका विषयमा मुख्यमन्त्री जम्कट्टेलले संसदीय दलका सदस्य र पार्टी कमिटीसँग छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताए । मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार निर्माणको प्रक्रिया अघि बढाइएपछि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने रणनीति तय गरेका छन् । केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने गरी तयारी गरेकाेले उनले प्रदेशमा पनि संसदमा प्रक्रियाकाे फेस गर्ने तयारी रहेको बताइएकाे छ ।
जम्कट्टेलको प्रदेश सरकारकाे यात्रा
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेल समीकरण परिवर्तनसँगै ३ पटक सरकार जोगाउन सफल भए । पहिलो पटक ३ माघ २०७९ मा सो गठबन्धनबाट विश्वासको मत लिएर सरकारलाई निरन्तरता दिएका थिए जम्कट्टेलले । ३ माघ २०७९ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका उनले राप्रपा र एमालेसँगको सहयात्रा टुङ्गिएपछि १० चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए । त्यसयता जम्कट्टेलकाे लोकप्रियता निरन्तर खस्कदै गएको देखिन्छ ।
२० फागुन २०८० मा पुनः सत्ता समीकरण परिवर्तन भएकाेमा २३ फागुनमा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच १९ चैत २०८० मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिएका थिए । उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।
सत्ता गठबन्धन परिवर्तनसँगै पटक पटक सङ्कटको सामना गरेका मुख्यमन्त्री जम्कट्टेल यसपटक भने निकै अप्ठ्यारोमा परेका छन् । गत सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण मुख्यमन्त्री पदबाट अलग हुनु पर्ने भएकाे हाे ।
प्रदेशसभामा अंकगणित
बागमती प्रदेश सभा ११० सदस्यीय रहेकाे छ । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।
प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेकाे छ । यो सरकार बनाउन पुग्ने भन्दा ८ ले बढी हाे । यसमा अन्य दलसमेत सहभागी हुने केन्द्रीय सरकार गठन हुँदा समर्थन गर्ने दलहरुकाे आधारमा तय हुने छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्ला कमिटीमा ५ जना मनोनित गरेको छ । गत जेठमा भएकाे १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बुधबार बसेको दोस्रो बैठकले उनीहरुलाई जिल्ला कमिटी सदस्य मनोनित गरेकाे हाे ।
जिल्ला कमिटीमा मनोनित हुनेहरुमा नरहरि महत, बुद्धिराम डिम्डुङ, रामचन्द्र स्याङ्बो, प्रेमबहादुर पुलामी र नमूना पाण्डे रहेका छन् । ५ जना सदस्य मनोनित गरेसँगै नेकपा एमालेको जिल्ला कमिटी १ सय ११ सदस्यीय बनेको छ । जिल्ला अधिवेशनले अध्यक्षमा श्रीधर पोखरेलसहित १०६ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे थियो ।
नेकपा एमाले मकवानपुरको बुधबारकाे बैठकले मकवानपुरका पालिकाहरुकाे इन्चार्ज र सहइन्चार्ज तोकेको छ । एमालेको हेटौंडा उपमहानगरपालिका इन्चार्जमा अनिल कुमार पाण्डे जिम्मेवारी दिदा सहइन्चार्जमा रमिला सापकोटा, शिवहरि दाहाल, मिलन पाठक र प्रतिमा श्रेष्ठलाई ताेकिएकाे छ । यसैगरी थाहा नगरको इन्चार्जमा बिमल ढकाल, सहइन्चार्जमा हरि गोपाली र डम्बर लामालाई जिम्मेवारी दिइएको छ । मनहरी गाउँपालिकाको इन्चार्जमा हेमलाल उप्रेती, सहइन्चार्जमा मनिला विष्ट र वीरेन्द्र डीसीलाई ताेकिएकाे एमाले मकवानपुरले जनाएकाे छ ।
यस्तै बागमती गाउँपालिकाको इन्चार्जमा राजकुमार तिमल्सिना, सहइन्चार्जमा उत्तम पौडेल र जयबहादुर वाईबा, बकैया गाउँपालिकाको इन्चार्जमा नारायण तिमल्सिना, सहइन्चार्जमा बेलप्रसाद दाहाल र सरला बोलखेलाई जिम्मेवारी दिइएको छ । मकवानपुरगढी गाउँपालिकाको इन्चार्जमा विदुर हुमागाई, सहइन्चार्जमा मेम्बर लो र खिलप्रसाद चौलागाई, भीमफेदी गाउँपालिकाको इन्चार्जमा जहारसिं लामा, सहइन्चार्जमा प्रकाश पौडेल र चेतकुमारी पुडासैनीलाई ताेकिएकाे छ ।
ईन्द्रसरोवर गाउँपालिकाको इन्चार्जमा ऋषि पुडासैनी, सहइन्चार्जमा धनवीर स्याङ्तान, बुद्धिराम डिम्डुङ र राजन ठकुरीलाई जिम्मेवारी दिइएको छ । यस्तै कैलाश गाउँपालिकाको इन्चार्जमा बच्चुराम ढुंगाना र सहइन्चार्जमा छेकु लामा, राक्सिराङ गाउँपालिकाको इन्चार्जमा बाबुलाल स्याङ्तान, सहइन्चार्जमा सुन्तलीमाया चेपाङ र सिंहलाल प्रजालाई जिम्मेवारी दिइएको नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए ।
यस्तै बैठकले पार्टीको २१ वटा विभागमा प्रमुख र उपप्रमुख तथा २२ वटा मोर्चा संगठनको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । पार्टीले मकवानपुर जिल्लाका १ सय २ वटै वडामा जिल्ला कमिटी सदस्यहरुलाई पार्टी परिचालनको जिम्मेवारी दिइएको पोखरेलले बताए । बैठकले वार्षिक कार्ययोजना समेत पारित गरेको छ । पार्टी केन्द्रीय कमिटीको १२ बुँदे निर्देशनमा आधारित रहेर जिल्लाका १० वटै पालिकालाई केन्द्रित गरी पार्टीको संगठन, विचार, जनसंगठन, समृद्धि, विकास र निर्माणको क्षेत्रलाई समेटेर वार्षिक कार्ययोजना बनाइएको पार्टी मकवानपुरले जनाएकाे छ । जिल्ला सचिवालय अर्को बैठकले गठन भएकाे छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने सचिव सिता विष्टले बताइन् । ‘मकवानपुरमा अहिले नेकपा एमालेमा ११ हजार मतदाता छन्’ उनले भनिन् ‘पार्टीको निर्देशनअनुसार करिब १८ हजार सदस्य बनाउनुपर्ने हुन्छ ।’ पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउन एक बर्षभित्र मकवानपुर जिल्लामा एमालेको सदस्य संख्या ७ हजार थप्नुपर्ने देखिन्छ ।
दर्कियो पानी चर्कियो छाती सम्झेर असार
रुझेकी होलिन् ती मेरी आमा गरेर हतार
टाढा छ मूल कुलोमा पानी आयो कि आएन
झिकेर भाका चरीले गीत गायो कि गाएन
थिएन इच्छा छोडेर गाउँ विदेश धाउन
साहुको ऋण, पुगेन राम्रो खान र लाउन
विदेशी भएँ यो मन तर पुगेछ गाउँमा
लेख्दै छु चिठी आँसुको मसी आमाको नाउँमा
कोदालो हलो बोकेर जुवा बेँसीमा झरेको
ओढेर घुम छलेर पानी रोपाइँ गरेको
सानीले रोप्थी हिलोले छ्याप्थी म गर्थेँ बाउसे
साथी र भाइ जिस्किन पाए उस्तै थे रउसे
आमाको माया गाउँको याद सम्झायो असारले
फन्दामा परेँ फर्केर जान दिँदैन कतारले
कस्तो भो गाउँ जन्मेको ठाउँ बिर्से कि साथीले
त्यो बुढो बर रोयो कि कतै हिँड्नेको तातीले
(असारे झ्याउरे)
इलाम