मकवानपुर । ऋषिराम पाेखरेलकाे पुस्तक अनुभूतिका आँखाहरु सार्वजनिक भएकाे छ । सर्जक सञ्जाल मकवानपुरले पाेखरेलकाे पहिलाे कृति अनुभूतिका आँखाहरु सार्वजनिक गरेकाे हाे ।
लामाे समय शिक्षण पेशमा आवद्ध रही अवकाश हुनु भएका पोखरेलले आफ्नाे जीवनका विभिन्न अनुभूति समेटी लेखेकाे पुरस्कारकाे प्रकाशक हेटौडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जाेशी रहेका छन् । लेखक पाेखरेलले आफ्नाे कृतिलाई अनुस्मरण भनेका छन् ।
समालाेचक घनश्याम घिमिरेले कृतिमा लेखक आफूले भाेगेका विभिन्न अनुभवहरु र गरेका अनुभूतिहरु जस्ताकाे तस्तै उतारेकाे बताए । कृतिकारले समाजमा रहेका स्वार्थी व्यक्तित्व र वैचारिक रुपमा स्खलित भएकाहरुप्रति कडा प्रहार गरेकाे समेत गरेकाे घिमिरेले जानकारी दिए । कृतिमा कलात्मक र साहित्यिक पक्षमा भने केही कमजाेरी रहेकाे उनकाे भनाइ छ ।
कार्यक्रममा साहित्यकार देवराज तिवारी र शान्तिप्रिय बन्दनाले पनि कृतिभित्रकाे वैचारिक पाटाे, नारीवादी चेतका साथै विभिन्न सकारात्मक र सुधारात्मक पाटाेबारे चर्चा गरेका थिए ।
बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटाैंडा-४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष ईन्द्र नेपाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, शिक्षासेवी देव श्रेष्ठलगायतले शुभकामनाका साथै कृतिका बारे धारणा राखेका थिए ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा बाली क्षती भएका २१ जना कृषकले राहत प्राप्त गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ३ का बाली क्षती भएका कृषकहरुले राहत प्राप्त गरेका हुन् ।
मंगलबार वडा कार्यालयले उनीहरुलाई राहत वितरण गरेको हो । चालु आर्थिक २०८०/०८१ काे बजेटमा वडा कार्यालय अन्तर्गत विनियाेजित वजेटमा नै बाली क्षती भएका कृषकहरुका लागि राहतको व्यवस्था गरी राहत वितरण गरिएकाे वडा अध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
२१ जना कृषकलाई जनही १०/१० हजार रुपैयाँ राहत वितरण गरिएको उनले बताए । मनहरी ३ हाँडीखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षति हुने गरेकाे छ । ‘कृषकले मेहनत गरेर लगाएको बालीनाली विपद्का कारण क्षती हुने भएकाले राहत स्वरुप रकम वितरण गरिएको हाे’ वडाअध्यक्ष अर्यालले भने ।
मनहरीकाे हाँडीखाेला तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रसिद्ध क्षेत्र हाे । हाँडीखाेलाकाे तरकारी हेटाैडा काठमाडाै पाेखरालगायतकाे देशका ठुला शहरहरुमा खपत हुने गरेकाे छ ।
मकवानपुर । वासुदेव–भानु स्मृति साहित्य पुरस्कारबाट दीपक गौतम सम्मानित हुने भएका छन् । वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले उक्त पुरस्कारबाट यो वर्ष साहित्यकार दिपक गौतमलांई सम्मानित गर्ने भएका हाे ।
नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार तथा संरक्षक समेत रहेका मकवानपुरे साहित्यकार गौतमले साहित्य क्षेत्रमा पुर्याभएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठान आरसी रिजालले बताए । रिजालका अनुसार उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानले २०७१ सालदेखि हरेक बर्ष भानु जयन्तीको अवसरमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानले २०७१ सालमा साहित्यकार रामचन्द्र आचार्य फुर्सती, २०७२ मा पुरुषोत्तम आचार्य, २०७३ मा प्रभा भट्टराई, २०७४ मा श्यामकुमार बानियाँ, २०७५ मा नरेन्द्र परासर, २०७६ मा मुना अर्याल, २०७७ मा निमेष निखिल, २०७८ जनार्दन शर्मा, २०७९ मा ठाकुर शर्मा भण्डारी र २०८० मा सुनिल गौतमलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष रिजालले जानकारी दिए ।
असार २८ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने भएकाे हाे । आगामी शुक्रबार संस्थाले विद्यार्थीहरुबीच विभिन्न प्रतियोगिताहरु आयोजना गरी भानु जयन्ती समेत मनाउने तयारी गरेको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदातल पाटन हेटौँडा इजलासमा रिट दर्ता भएको छ । आइतबार गाउँपालिकाका उपाध्यक्षसहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले रिट दायर गरेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, ६ नम्बर वडा अध्यक्ष टेक बहादुर डिम्डुङ, ७ नम्बर वडाध्यक्ष उत्तर बहादुर भोलन, ८ नम्बर वडाध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ नम्बर वडाध्यक्ष पुनराम घलानले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष घलानले निर्णय प्रक्रियामा सहभागी नगराएको, संविधान र कानून विपरीत कार्य सञ्चालन गरेकाे, कार्यपालिका सदस्यमाथि गैरकानुनी हस्तक्षेप गरेको र गाउँसभा गैरकानुनी ढङ्गबाट सञ्चालन गरेको, बजेट तर्जुमा समितिलाई जानकारी नै नगराई नीति कार्यक्रमको प्रस्ताव पेश गरेको, पालिका अध्यक्षले अधिकारको दुरुपयोग गरी कार्य सञ्चालन गरेकाेले पूर्णरुपमा गैरकानुनी भएको, संवैधानिक व्यवस्थाकाे उपेक्षा भएको र एकलौटी रुपमा कार्यपालिका सञ्चालन गरेको दायर रिटमा उल्लेख गरिएकाे छ ।
आइतबार दायर भएकाे रिटमा उत्प्रेषरणकाे परमादेश माग गरिएको छ । आइतबार नै रिट दायर भएर असार २४ गते सोमबारका लागि पेशी तोकिएको छ ।
यसअघि गत असार १० गते गाउँपालिकाका उपाध्याक्ष, केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले बजेट ल्याउन लागेको भन्दै गाउँसभा बहिष्कार गरेका थिए । उपाध्यक्ष अनुपस्थित भएपछि गाउँपालिका अध्यक्ष सर्केश घलान आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मात्र गाउँसभामा प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्षले असार १० गते प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ । तर आगामी आर्थिक बर्षका लागि गाउँ कार्यपालिकामा बजेट प्रस्तुत हुन सकेको छैन । नगरपालिका तथा गाउँपालिकाले प्रत्येक वर्षकाे असार १० गतेसम्म नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु पर्ने तथा असार अन्तिममा बजेट सभाबाट पास गर्नु पर्ने कानूनी व्यवस्था छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई बजेट रकमान्तर गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको लागि उक्त रकम रकमान्तर गरी भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।
प्रदेश सरकारले यसअघि उक्त रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएकाे उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ । उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । उक्त कामकाे सम्झौता प्रस्ताव अनुसार ५२ करोड ५० लाख अर्थात ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र २२ करोड ५० लाख अर्थात ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।
यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्ड भ्रमण स्वीकृत गरेकाे छ । सचिव भट्टराईकाे असार २९ देखि साउन ४ गतेसम्मकाे अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।