मकवानपुर । मकवानपुरको हेटौंडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घर भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
२१ साउन बेलुका ६ बजेको समयमा वाग्लेको घरको पाँचौं तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबार पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।
प्रहरी प्रमुख रिजालका अनुसार पक्राउ पर्नेहरूमा सबै भारतीय नागरिक रहेका छन् । पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरिएकाे रिजालले जानकारी दिए ।
प्रहरी उपरीक्षक रिजालका अनुसार १० फागुन २०८० मा हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चलन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको उनले बताए ।
१२ जनामध्ये ३ जना (द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको रिजालले बताए । सो कम्पनीमा कार्यरत व्यक्तिहरूले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको उनले बताए । भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उनले बताए । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको रिजालले जानकारी दिए ।
अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उनले बताए । उक्त कम्पनीबाट हुने गरेको काम कारबाहीको डाटा समेत हेड अफिसको सरभरमा राख्ने गरेको उनको भनाई छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उनले बताए ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए । उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिने बताइएकाे छ।
- काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देश संघीय संरचनामा गइसकेकाले स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । ‘स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ’ उनले भने ‘७५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’
मन्त्री चौधरीले स्काउटक नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। ‘स्काउट अहिले पनि २०५० सालमा बनेको ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ’ उनले भने ।
उनले युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गर्दै भने ‘अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ।’
स्काउटले प्राकृतिक प्रकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए । ‘स्काउट अहिले ७ दशकमा पार गरिसकेको छ’ उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।’
उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपक बहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।
प्रतिनिधि सभा पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितीमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरे ।
सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला जनतासँग गरेको मध्य एउटा बाचा पहिलो वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने पुरा गरेको बताए ।
कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गरेको सहयोग अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिनु पर्ने जानकारी दिए । सांसद सिंहले गर्नु भएको सहयोग गरिब जनतामा पुर्याउने उनले बताए । मकवानपुरकाे हेटौंडा ३ बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि पनि सो रकम प्रयोग गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितीका संरक्षक सिद्धीलाल श्रेष्ठ, अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, हेटौडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरकाे हेटाैडामा रहेकाे सामुदाियक आँखा अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवा ग्राहीले सेवा लिने गरेका छन् । यहाँ मधेश प्रदेश र बागमती प्रदेशमा रहेका आँखा सम्बन्धी समस्या भएकाहरुलाई याे अस्पतालले सेवा प्रदान गर्दै आएकाे अस्पतालका प्रशासकीय प्रमुख सुधिर श्रेष्ठले बताए ।
चितवन । बाघको आक्रमणबाट घाइते पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाल अस्पताल आएका छन् ।
आईतवार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा मर्निङ्गवाकमा हिडिरहेका चितवनका ६० वर्षीय श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न मन्त्री सिलवाल सोमबार अस्पताल पुगेका हुन् ।
घाईते श्रेष्ठसँग भेटका क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामना सहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसंग बुझेका थिए । यस्तै मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमी नहोस भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए ।
यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भई उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतवार राती नियन्त्रणमा लिएर सौराहा निकुञ्ज लगेकाे छ ।
चितवन । कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि १० वटा किताबको उत्कृष्ट सूची सार्वजनिक गरिएको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए ।
उत्कृष्ट १० मा विष्णु सापकोटाको उपन्यास‘अडिएका पाइला’, कृष्ण गौतमको उपन्यास ‘अद्वैत’, रमेश सायनको उपन्यास ‘अन्तर’, सानु शर्माको कथासङ्ग्रह ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपिचा’, जीवन जीवन्तको उपन्यास ‘चरैवेति’, भक्त स्याङ्तानको कथासङ्ग्रह ‘डम्फुको आत्मालाप’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा निरबको उपन्यास ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।
समाजले सार्वजनिक गरेको बिज्ञप्तिमा भनिएको छ – ‘कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्ये एउटा कृतिलाई प्रदान गर्दै आएको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार- २०८० का लागि निर्णायक मण्डलको सिफारिसका आधारमा १० वटा उत्कृष्ट आख्यान कृतिको सूची वर्णानुक्रमका आधारमा प्रकाशित गरिएको छ । यी कृतिहरूमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको सूची प्रकाशित गरिनेछ । ती मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिनेछ ।’
पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको ‘मरिचिका’ कथासङ्ग्रहले प्राप्त गरेकाे थियो । २०७६ सालमा श्याम शाहको ‘पथेर’ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको ‘परित्यक्ता’ उपन्यास, २०७८ सालमा लोकराज भट्टको ‘छाइल’ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको ‘मनु’ उपन्यासले उक्त पुरस्कार प्राप्त गरेका छन् ।