मकवानपुर । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामाेदर भण्डारीले मकवानपुरकाे हेटौडा रहेको औद्योगिक क्षेत्र तथा उद्योग, बन्द रहेको उद्योग तथा निर्माणाधीन औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् ।
निजी लगानीमा सञ्चालित उद्योगहरुसँग प्रतिष्पर्धा गर्न नसकेर जिर्ण रहेकादेखि बन्द रहेका उद्योगहरु उनले अवलोकन गरेका हुन् । मन्त्री भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताए ।
सिमेन्ट उद्योगको निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा संघीय सरकारलाई अवगत रहेको बताए । उद्योग संचालन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकाइ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए ।
समिति अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए । उनले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक शंकटका कारण पटकपटक बन्द गर्नुपरिरहेको बताउँदै उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे ।
मन्त्री भण्डारीले शनिबार नै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरेका छन् । कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए ।
यसैगरी हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले अवलोकन गर्न भ्याए । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए ।
मन्त्री भण्डारीले केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा प्रस्तावित भएको नयाँ औधोगिक क्षेत्रकोरुपमा रहेको मयुरधापलाई अब सञ्चालनको लागि कानुन निर्माण भैसकेकोले सरकारले डिपिआरको आधारमा सञ्चालनमा ल्याउने तयारी गरेको बताए । करिब ६ अर्ब लगानीमा निर्माण हुने औधोगिक क्षेत्रको कामलाई मद्यवर्ती क्षेत्रको कारण समस्यामा परेको कारण निर्माण हुन नसकेको तर अब यस ठाउँमा नै स्थापना हुने गरि कानुन निर्माण भएको भन्दै अब छिट्टै संचालनमा ल्याउने सरकारको तयारी रहेको उनले बताए ।
मयुरधापलाई प्रदेशको राजधानीको उद्योगको हबको रुपमा सञ्चालन गर्न लगानीको वातावरण सृजना गरिरहेको बताउदै मन्त्री भण्डारीले सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारमा सरकार लागिरहेको बताए । आफू काठमाडौं पुगेर वन मन्त्रालयसँगको समन्वयमा इआइएको प्रक्रियालाई टुंगोमा पुर्याएर मयुरधापलाई चाडै सञ्चालनमा ल्याउन आफू प्रतिवद्ध भएको जानकारी गराए ।
मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य संघमा उद्योगी तथा व्यवसायीसँग वर्तमान समसामयिक समस्याका बारेमा छलफल गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका विभिन्न शिर्षकका करका दर एक सय ५३ प्रतिशतसम्म बढाएर उद्योगी व्यवसायीलाई दुःख दिएको संघ अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष गुनासो राखे । संघले मन्त्री भण्डारी समक्ष ज्ञापन पत्र समेत पेश गरेको थियो ।
हेटौंडाको विस्तारित औद्योगिक क्षेत्र (मयुरधाप औद्योगिक क्षेत्र) सिघ्र संचालन गर्नुपर्ने, क्रसर व्यवसायहरु बिगत केही बर्षदेखि नविकरण नभएकोले यथासिघ्र नविकरण गरी संचालन कार्यमा सहजीकरण गर्नुपर्ने, नदी किनारका क्षेत्रमा संचालित क्रसर उद्योगलाई मापदण्ड बनाई खोलाको सतह घटाउन उत्खनन् गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, उद्योगले प्रयोग गर्ने विद्युत लाइनमा जडित क्षमताको आधारमा लिइने डिमाण्ड शुल्क हटाउने र युनिट शुल्कमात्र लिने व्यवस्था गर्नुपर्ने, नेपाल भित्रिने खाद्य वस्तुको अनिवार्य परीक्षणपश्चात मात्र आयात हुने व्यवस्था कडाइकासाथ लागू गर्नुपर्ने माग उद्योग संघले गरेको छ । यसैगरी मन्त्री भण्डारीले नेकपा एमाले मकवानपुर र उद्योग संघ हेटौंडासँग पनि छुट्टाछुट्टै छलफल गरेका छन् ।
मन्त्री भण्डारी, एमाले प्रमुख सचेतक तथा मकवानपुरका सांसद महेश बर्तौतासहितकाे टोलीले शनिबार हेटौडाका उद्योगसहित बाराकाे नेपाल आयल निगम, नेपाल बिटुमिन उद्योगकाे समेत निरीक्षण गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार गाईजात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाइजात्रा विशेष गरी नेवार समुदायले मनाउने गर्छन् । उक्त ऐन अनुसार सरकारी कामकाजकाे भाषामा नेवारी (नेपाल भाषा) भाषा समावेश गरिएकाे छ ।
ऐनमा गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको छ । प्रदेश सरकारकाे उक्त निर्णयसँगै बागमती प्रदेशभर ४ भदौमा परेकाे गाईजात्राको दिन सरकारी कार्यालय सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहने भएका छन् ।
प्रदेश सरकारको प्रवक्तामा लामिछाने
यसैगरी बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई दिइएकाे छ । शुक्रबारकाे मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
गत १२ साउनमा आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका लामिछानेलाई सञ्चार विभाग रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेकाले प्रवक्ताको जिम्मेवारी तोकिएकाे हो । ला
यसैगरी बैठकले विभिन्न मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मातहतका संगठनहरूमा अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता भुक्तानी गर्न समस्या हुने भएपछि दरबन्दी स्वीकृत गरिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आगामी भदौ ७ गते एक कार्यक्रमकाबीच बालमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष उद्घब सत्यालले जानकारी दिए ।
वालमैत्री घोषणाको लागि तोकिएको ५१ वटा सूचकहरुमध्ये ४८ वटा सूचक सतप्रतिशत, एउटा सूचक ९८ प्रतिशत, अर्को सूचक ८१ प्रतिशत र अर्को एउटा सूचक ८० प्रतिशतसम्म पूरा भएकोले वालमैत्री वडा घोषणा गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमा वडा अध्यक्ष सत्यालले जानकारी दिए ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १७ नम्बर वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार एक सय १० जना रहेको छ । जसमा १ हजार १३० बालक र ९८० बालिका रहेका छन् ।
वडामा सामुदायिक र संस्थागत गरी ६ वटा विद्यालयहरु रहेकोमा सबै विद्यालयमा बालमैत्री र अपाङ्गमैत्री संरचना र व्यवहार लागु भइसकेको जनाइएको छ । वडामा २२ वटा बालसमूहरु र एक वडा बाल सञ्जाल रहेकोमा ५५० जना बालवालिकाहरु आवद्ध रहेका छन् ।
वडाध्यक्ष सत्यालले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उनले जानकारी दिए ।
७ भदौमा वडा कार्यालयको प्राङ्गणबाट बिहान १० बजे प्रभातफेरी सहित वडा परिक्रमा पश्चात नेपाल चौर टोल विकासको फुटसल हलमा बालमैत्री वडा घोषणा कार्यक्रम समारोह राखिएको बताइएको छ ।
हेटौंडा उपमहानगरपालिका २०८१ साल भित्र वालमैत्री नगर घोषणाको क्रममा रहेकोले वडा वालमैत्री घोषणा हुँदैछ । ८ नम्बर वडा पहिलो र २ नम्बर वडा दोस्रो वालमैत्री वडा घोषणा भएको छ । १ भदौमा ७ नम्बर वडा घोषणा हुदैछ ।
मकवानपुर । हेटौंडा अस्पतालमा तालाबन्दी गरिएको छ । शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र अस्पतालका निमित्त निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन।
अस्पतालका पुराना कर्मचारी जयराम रायमाझी लगायतले तालाबन्दीले गरेको निमित्त निर्देशक श्रीधर आर्यालले जानकारी दिए । ‘रायमाझी लगायतका ६/७ को समुहले तालाबन्दी गरेका हुन’ अर्यालले भने ।
आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट रहेको जनाउदै रायमाझीको समूहले तालाबन्दी गरेको बताइएको छ ।
राईमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तरवार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।
उनका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। ‘अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तरवार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ’ उनले भने। अस्पतालले प्रकाशित सूचना सच्याइनु पर्ने तथा हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनु पर्ने भन्दै तालाबन्दी गरिएको उनले जानकारी दिए।
प्रगतिशील स्वास्थ्यकर्मी संघठन जिल्ला अध्यक्ष समेत रहेका रायमाझीले आफूहरूको मागको सुनुवाइ हुनुपर्ने र कर्मचारी भर्ना प्रक्रिया रद्द नभएसम्म चरणबद्ध आन्दोलनमा जारी रहने बताए ।
तर अस्पताल प्रशासनले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका बागमती प्रदेशका खेलाडीहरूले २ वर्षसम्म पुरस्कार प्राप्त गर्न सकेका छैनन् ।
उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कांस्य सहित १४५ पदक जितेको थियो । बागमती प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
प्रतियाेगिता सम्पन्न भएकाे २ वर्षसम्म पनि प्रदेश सरकारले पदक विजेता खेलाडीलाई दिने निर्णय गरेकाे पुरस्कार नदिएपछि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनकाे ध्यानाकर्षण गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि पुरस्कार वितरणका लागि मन्त्री महर्जनको ध्यानाकर्षण गराएको छ।
बिहीबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण गराएको हो । गत असोज २८, २०७९ देखि ३ कात्तिकसम्म भएकाे नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको गुरुङले बताए । खेलकुद प्रतियोगिता सम्पन्न भएको २ वर्षसम्म पनि पुरस्कार प्राप्त हुन नसकेकाले सो विषयमा तत्काल पहल गर्न मन्त्री महर्जनलाई ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
ध्यानाकर्षण पछि मन्त्री मीनकृष्ण महर्जनले प्रदेश सरकारले निर्णय गरेकाे पुरस्कार दिने गरी तयारी गरिएकाे जानकारी दिए । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै खेलाडीहरूलाई पुरस्कार दिन्छौ’ उनले भने ‘अर्थ मन्त्रालयबाट खेलाडीकाे लागि दिने भनिएकाे पुरस्कारकाे लागि सहमति नआउँदा वितरण हुन सकेन।’
प्रतियोगिता सम्पन्न भएको लामो अवधिसम्म प्रदेश सरकारबाट पूर्वघोषित पुरस्कार प्राप्त नहुँदा खेलाडीहरूको गुनासो बढिरहेको र पदक प्राप्त खेलाडीमा निराशा छाएको गुरुङले बताए । उनका अनुसार निकट भविष्यमा नै हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पूर्वघोषित नगद पुरस्कार खेलाडीहरूलाई उपलब्ध गराउन माग गरिएको छ ।