संगमकाे सन्ध्या दिवसमा ४ कविले सुनाए दर्जन कविता
Tags: No Comments
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कविता वाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए ।
संगमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कविता कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले आफ्ना ३/३ वटा कविताहरु वाचन गरेका थिए ।
म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गरिन् । उनले आफ्ना तीनवटा कविता सुनाइन् । बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता उनले सुनाइन् ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उनले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताइन् । प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गरेकी थिइन् ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताए । उनले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गरे । यससँगै उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए ।
सन्ध्या सम्मानबाट पौडेल सम्मानित
साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । संगमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिए । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेखेका छन् ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । संगम स्थापना दिवसकाे अवसरमा आइतबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।
३५ औं सन्ध्या दिवसकाे अवसरमा गरिएकाे रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका संगम सचिव मनोज पोखरेलले जानकारी दिए । रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो हाे । कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । ३५औँ सन्ध्या दिवसको अवसर आयोजित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।
कार्यक्रममा चिरञ्जीवि लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल, भावना सापकोटा, अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिना, बैकुण्ठ लामिछानेलगायतले रक्तदानसँगै रचना वाचन गरेका थिए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने मनोमानी ढङ्गले चलेको भन्दै आइतबार कार्यालयमा तालाबन्दी गरिएको हाे ।
गाउँपालिकामा अनियमितता बढेको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष लामिछाने आफूखुसी एकलैटी गरेकाेले गाउँपालिकामा क्रियाशील ५ राजनीतिक दलले तालाबन्दी गरेकाे हाे । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा बहुमत, रास्वपा लगायतका ५ राजनैतिक दलले आइतबार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
५ दलले आइतबार एक विज्ञप्ति जारी गर्दै यसअघि पालिकामा बुझाइएकाे ज्ञापनपत्रमा विभिन्न विषय उल्लेख गरिएकाे जनाएकाे छ । विज्ञप्तिममा शिक्षक तथा कर्मचारीहरुलाई नियम विपरित सरुवा गरेको,प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाएकाे, विद्यालयहरुमा विषयगत शिक्षक नपठाएको, विद्यार्थीको अनुपातमा शिक्षक नियुक्ति नगरेको, कार्यरत शिक्षकलाई विस्थापित गर्नेगरि शिक्षक थप गरेको, सरकारी सवारी साधनको दुरुपयोग भएको, कृषिमा दिएको अनुदानमा पारदर्शिता नभएको, योजना सम्पन्न भएको महिनौं समयसम्म समेत भुक्तानी नपाएको,राजस्व संकलनमा पारदर्शिता नभएको लगायतका विषयमा वेवास्ता गरेको भन्दै तालबन्दी गरेका हुन् ।
अध्यक्षले छलफल र समन्वय नै नगरी मनलाग्दी गर्न लागेपछि आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाएकाे ५ राजनैतिक दलले विज्ञप्ति मार्फत अराजक क्रियाकलाप नसच्याए थप कडा आन्दोलनको चेतावनी समेत दिएका छन्। केही दिन अघि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिका अध्यक्ष लामिछानेले स्वास्थ्य शाखाका कर्मचारीकाे जिम्मेवारी हेरफेरमा एकलौटी गरेको भन्दै तालाबन्दी गरेका थिए।

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।
दोलखा तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाकाे सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए ।
२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । शनिबार हेटौंडा–९ मा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय सिभांस अर्यालकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मयुरधापबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त बालकको मृत्यु भएको हो । स्थानीय रामचन्द्र अर्यालका छोरा सिभांस बाटो छेउमा हिडिरहेको अवस्थामा उक्त माेटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरकाे टोलीले हेटौंडा–१४ बस्ने १७ वर्षीय मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ ।