राप्ती सफाइमा जुटे अभियन्ता र जनप्रतिनिधि (फोटो फिचर)
Tags: No Comments
मकवानपुर । नदी सभ्यता संरक्षण लक्षका साथ हेटौंडाका नगर प्रमुखलगायत अभियन्ताहरु जुटेका छन् । डिभिजन बन कार्यालय हेटौंडाको आयोजना तथा उपमहानगरको सहकार्यमा विभिन्न संघसंस्थाको सहभागीतामा राप्ती सफाइ अभियान अन्तरगत चौथो राप्ती नदी सरसफाइ दिवसमा नदी सफाई गरिएको हो ।
स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान भन्ने नारा सहित हेटौंडा वडा १० बाट राप्ती नदी सफाइ गरिएको हो ।
२०७२ सालमा सुरु गरिएको मकवानपुरको भिमफेदी,हेटौंडादेखी चितवनको गोलाघाटसम्म राप्ती सरसफाइ महाभियान जारी छ । जस अन्तरगत मंसिर १ गते विशेष अभियान सहित सफाइ गरिन्छ ।
नदी सफा राख्ने पहिलो उद्देश्य हो । राप्ती नदी राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी भएकोले पनि सफाइ आवश्यक रहेकोले यो अभियान थालिएको हो। राप्ती नदीसँग गैडा, हात्ती, डलफिनलगायत वन्यजन्तुको जीवन पनि जोडिएकोले नदी सफाई अन्यन्तै महत्त्वपूर्ण भएको डिभिजन वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले बताउनु भयो ।
फोहोरले पानीको गुणस्तरलाई बिगार्ने संगै जीवन नै नष्ट गर्ने चुनौती बढेको चन्द्रवंशीले बताउनुभयो । “यस्तो सफाई बार्षिक रुपमा हैन महिनामा एकपटक सबै जुटेर र दैनिक व्यक्तिले आफ्नो वरपरको नदि सफा राख्नुपर्ने भएकोले जनचेतनाको पाटोलाई सशक्त बनाउनु पर्छ” उहाँले भन्नुभयो “जलचर तथा निकुञ्जको वन्यजन्तुले पानी पिउने क्रममा प्लास्टिक पनि खाँदा स्वास्थ समस्या बढेको छ ।”
धार्मिक संस्कारपछि पूजाको सामग्री खोलामा फाल्ने परम्पराले समस्या बढेको छ । औद्योगिक सामग्री बोक्ने गाडी धुने, होटलको सफाई खोलामा फाल्दा, नदीमा आएर चोख्खिने संस्कारका हामी छौ, झन् फोहोर हुने पीडा भएकोले यसलाई नियमित रुपमा सफाइ गर्ने योजना रहेको चन्द्रबंशीले बताउनुभयो । नदी सफाईमा सहभागी नगर प्रमुख मिनाकुमारी लामाले राप्ती जोगाउन सकिदा सबै जिवको जीवन जोगाउन सकिने बताउनु भयो ।
अभियानलाई कुनै दिन विशेषभन्दा पनि दैनिक सफाइ गर्नुपर्ने लामाले बताउनु भयो । आज मकवानपुर जिल्लामा मात्रै ३ स्थानबाट नदी सफाइ गरेको वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो ।

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनु भएकाे छ । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनु भएकाे हाे ।
‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन’ उहाँले भन्नुभयो ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता समाचार लेख्ने माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण क्षेत्र भएको उहाँले बताउनु भयो । ‘पत्रकारिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा भूमिका खेल्नुपर्छ’ उहाँले भन्नुभयो ।
‘लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन पत्रकारिता स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार हुनु पर्ने उहाँकाे भनाई थियो । सञ्चारमाध्यमलाई राज्य र नागरिकबीचको महत्त्वपूर्ण कडीका रूपमा रहेकाेले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउन तथा कुनै पनि राजनीतिक वा व्यक्तिगत आग्रह भन्दा माथि उठेर सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।
‘अहिले सूचना प्रविधिको विकाससँगै चुनौती थपिएको छ’ उहाँले भन्नुभयो ‘पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएकोले श्रमजीवी पत्रकारको हितका लागि सम्बद्ध संस्थाहरू समेत क्रियाशील हुनुपर्छ । ‘प्रदेश प्रमुख देवकाेटाले देश राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको चरणमा रहेको भन्दै सुशासन, समृद्धि र जनताका आकांक्षा पूरा गर्न राज्य, राजनीतिक दल र सञ्चारमाध्यमलगायतका पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्पराज अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ ।
‘देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ’, जिल्ला प्रशासन कार्यालयको बिज्ञाप्तिमा उल्लेख छ ।
प्रशासनले पटका तथा विष्फोटक पदार्थमा रोक लगाएको उल्लेख गर्दै यसप्रति सचेत हुन आग्रह गरेको छ । प्रशासनले तिहार र छठ पर्वमा पटका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थहरूको भण्डारण, बिक्रीवितरण, ओसारपसार तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ।
नेपाल संवत् ११४७ र छठ पर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र अमनचयन कायम राख्न विभिन्न निर्देशन जारी गरेको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न प्रशासनले कडाइ गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई मर्यादित रूपमा मनाउन नियमहरूको पूर्ण पालना गर्न जिल्लावासीलाई आग्रह गरिएको छ।
सट्टेबाजी, जुवा, तास, लङ्गुर बुर्जा खेल्न–खेलाउने तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा गर्नेजस्ता क्रियाकलापहरू नगर्न कडाइ गरेको छ। प्रशासनले प्लाष्टिकका फूलगुच्छा आयातमा रोक लगाएको छ ।
नेपाल सरकार राजपत्रको २०७९ साउन ११ को सूचनाअनुसार नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रोक लगाइएको प्रजिअ वसन्त अधिकारीले बताउनुभयो।
प्रशानले मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रशासनको निगरानी बढाएको बताएको छ। “बजारमा अखाद्य एवं म्याद गुज्रेका वस्तुहरूको बिक्रीवितरण, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने उपभोक्ता हितविपरीतका गतिविधिहरू गर्न पाइने छैन” बिज्ञप्तिमा भनिएको छ।
चाडपर्व यातायातमा सहजताको लागि खबरदारी गरेको छ। सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । प्रशासनले जारी गरेको निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
शान्ति सुव्यवस्थामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि देखेमा नजिकैको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रूमको हटलाइन नम्बर १०० मा तत्काल खबर गर्न आग्रह गरिएको छ ।
मकवानपुर । पत्रकार सुदीप शिवाकोटीलाई नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
बुधबार युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नगद ५० हजार राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ पत्रकार शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार स्थापनाको लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव चिरञ्जीवी ढकाल (हाल यूके) ले सहयोग गरेका हुन् ।
शुक्रबार शुभ दीपावलीको अवसरमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
सम्मानित हुन लागेका शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी प्रेस युनियन मकवानपुरका सदस्य एवम् कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाता, नेपाल पत्रकार महासंघका पूर्व बागमती प्रदेश सदस्य तथा मकवानपुर शाखाका पूर्व कोषाध्यक्ष समेत हुन् । हाल उनी अमेरिका बस्दै आएका छन् ।
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले पहुँचका आधारमा योजना समावेश नगरिने बताउनु भएकाे छ । जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री थापा मगरले यस्तो बताउनु भएकाे हाे ।
व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो ‘स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकता दिएर कार्यान्वयन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।’ व्यक्ति विशेषका योजनालाई प्राथमिकता दिँदा प्रदेशमाअत्यधिक टुक्रे योजना बढेकाेले त्यस्ता योजना सम्पन्न गर्न समेत कठिनाइ भएको उहाँले बताउनुभयो।
‘व्यक्ति विशेषका योजना समावेश गर्दा धेरैटुक्रे योजना बने मुख्यमन्त्री थापा मगरले भन्नुभयो ‘ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो’ उहाँले भन्नुभयो, ‘अब प्रदेश सरकारले व्यक्ति विशेषका योजना समावेश गर्दैन। स्थानीय तहबाट आएका योजनामा मात्र काम गर्छ।’ ‘व्यक्ति विशेषका योजना समावेश गर्दा धेरै टुक्रे योजना बने। ती योजना पूरा गर्नै नसकिने अवस्था देखियो। प्रदेश सरकारले लगानी गरेको पनि नदेखिने अवस्था सिर्जना भयो’ उहाँले भन्नुभयो ।
सडक पूर्वाधार निर्माणका विषयमा पनि प्रदेश सरकारले नयाँ मापदण्ड बनाउन लागेको उहाँले जानकारी दिनुभयो। अब ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने र साना सडक निर्माणको जिम्मेवारी स्थानीय तहलाई नै दिने नीति अघि सारिएको उहाँको भनाइ थियो । “प्रदेश सरकारले अब कुनै पनि सडकको ट्र्याक खोल्ने काम गर्दैन। त्यो काम स्थानीय तहले नै गर्नुपर्छ। स्थानीय तहले मापदण्डअनुसार ट्र्याक खोलेका सडकको स्तरोन्नतिका लागि मात्र प्रदेश सरकारले काम गर्छ,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेशको काम छैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै त्यसको जवाफ सरकारले कामबाटै दिनुपर्ने बताउनुभयो। उहाँले प्रदेश काम छैन भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यसलाई कामले नै चिर्नुपर्ने बताउनुभयो। प्रदेश काम छ कि छैन भन्ने कुरा नागरिकले हेरिरहेका बताउँदै थापाले बागमती प्रदेशका १३ वटै जिल्लामा धेरै काम भएका तर त्यसको प्रचार गर्न नसकिएको बताउनुभयो ।
प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै उहाँले जिल्लामै विशेषज्ञ सेवासहितका अस्पताल निर्माण हुँदा नागरिकले उपचारका लागि अन्यत्र धाउनुपर्ने र समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थाबाट राहत पाएको बताउनुभयो। त्यस्तै सडक, खानेपानी, अन्य पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रका प्रदेश सरकारले उल्लेख्य काम गरेको उहाँले दाबी गर्नुभयो ।
त्यसै गरी, संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहमा पठाइएका योजना समयमै अनुगमन हुन सके कार्यान्वयनमा गुणस्तर कायम हुने उहाँको भनाइ छ। योजनाको प्रभावकारी अनुगमन गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिले पनि निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
बजेट कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले स्थानीय तहमा पठाइएका बजेट तथा कार्यक्रम कार्यान्वयनमा हुने ढिलासुस्तीले समग्र प्रगति प्रभावित हुने बताउनुभयो। उहाँले स्थानीय तहलाई प्राप्त बजेट र कार्यक्रम समयमै कार्यान्वयन गर्न आग्रह गर्दै विकास निर्माणका काममा समन्वय, अनुगमन र प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको धारणा राख्नुभयो।