रोटे पिङ जसलाई ठाँउ विशेष अनुसार चर्खे पिङ,पिर्के पिङ तथा रंगते पिङ पनि भनिन्छ । यो एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । रोटे पिङ विशेषगरि दशै,तिहारमा बनाइने गरिन्छ। रोटे पिङ हेर्दा अत्यन्तै सुन्दर र कलात्मक देखिने गर्छ। त्यससँगै यसको वनोट र संरचना पनि उत्तिकै रोचक तथा जटिल हुने गर्छ। यो पिङको मुख्य आकार वर्ग जस्तै हुने गर्दछ। खम्बा रोटे पिङको मुुख्य आडको भाग हो । आवश्यक अनुसार विभिन्न प्रकारको रोटे पिङमा २ वा ३ वटा खम्बाको प्रयोग गर्ने गरिन्छ । मानिसले घुमाएर चलाईने यो पिङ अहिले प्रायः लोप हुँदै गएकाे छ । पहिलेकाे पुस्ताले सिकाएर गएकाे यो प्रविधि अहिलेकाे पुस्तालाई सिकाउनु बुझाउनु जरुरी छ । तस्विर: आरपी गुरागाईं/सहीखबर
काठमाडौं । ममता नेपालीको स्वर रहेको नेपाली गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएका छन् । गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भीम बीसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतकाे भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको निर्माण पक्षले जनाएकाे छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक/श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भने । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उनले बताइन् ।
बुवा मदन र आमा मञ्जु नेपालीको कोखबाट कञ्चनपुरको गुलरियामा जन्मिएकी ममता सानैदेखि गीत संगीतमा रुची राख्ने गरेकाे बताउँछिन् । उनी यतिवेला पढाइको सिलसिलामा काठमाडौं बस्दै आएकी छिन् । ‘यो सार्वजनिक गीत मेरो आफ्नो भन्दा पनि बाढी आमाको र स्वर्गीय मामाको सपना थियो जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु’, ममता भनिन् ।
मकवानपुर । मकवानपुरकाे २ भिन्नाभिन्नै स्थानमा भएकाे दुर्घटनामा ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेमा मोटरसाइकल र म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । यसैगरी बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १० प १०५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ८४७५ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् भने म्याजिक चालक फरार रहेकाे छ ।
शनिबार भएकाे दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमलटारका १९ वर्षीय रविन तामाङ र मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका–१ रानीशेराका २२ वर्षीय दावा लामा बम्जन गम्भीर घाइते भएको प्रदेश प्रहरीले जनाएकाे छ । टाउको र शरीरको विभिन्न ठाउँमा चोट लागेको रविन र दावाकाे हेटौंडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
यसैगरी मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका–७ हवाङखोलामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती गाउँपालिका–८ का ४० वर्षीय दीपक बिश्वकर्मा घाइते भएका छन् । शनिबार मदन भण्डारी लोकमार्गमा फापरबारीबाट झुरझुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ त ४१५ नम्बरको ट्याक्टर र झुरझुरेबाट फापरवारीतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ६३१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी टाउकोमा चोट लागेका दीपकलाई उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल ल्याइएकाे थियो । शनिबार राती नै दीपकलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यहाँबाट पनि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्याक्टर र ट्याक्टर चालक बागमती गाउँपालिका–८ का ५१ वर्षीय सुनिल राईलाई नियन्त्रणमा लिएको छ ।
हिमवत्खण्डका रुपमा परिचित नेपाल राष्ट्रको मध्य भू–भाग ऋषिमुनिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर गण्डकी प्रदेश, गैंडाकोट नगरपालिका वडा नं. १ नवलपरासी पूर्व अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुल बाट उत्तर तर्पm करिब ४ कि.मि. टाडा समुद्र सतह देखि ५६१ मिटर उचाई पहाडी बनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रवल मौलाकालिका भगवतीको मन्दिर ।
पन्ध्रौ शताब्दीको अन्त्य तथा सोह्रौ शताब्दीको शुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आप्नो गढी (ब्यारेक) मा मौलो गाडी, कालिका भगवतीको शिला स्थापना गरेर पुजा अर्चना गर्दै आएको भन्ने किंमबदन्ती रहेको पाइन्छ । उक्त राजाको विलय भए पछि, शिला स्थापना गरेको स्थलमा ठूलो सालको रुख थियो रे ओरीपोरी ढुङ्गाको परखाल, धमिराले खाएको काठको मौलो, केही लाम्चे आकारमा कालो रङ्गका गोला शिलाहरु करिब भष्म सरहका हतियार, ढुङ्गाको ओखल समेत थियो भन्ने कुरा पनि किंमबदन्तीनै रहेको छ । तस्विरः https://maulakalika.org.np/
मकवानपुर । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ।
निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने भएको छ।
निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन् । कम्पनी सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्। सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्रति चासो देखाएका छन्।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको उक्त चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुन्। चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमाको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन् । पटकथा र संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहर अधिकारीले मिलेर तयार गरेका छन्। बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले यस सिनेमा छायांकन गरेका छन्। निर्देशक चन्द्र पन्तले यसअघि भोजपुरी सिनेमा निर्देशन गरेका छन् । यो नेपाली सिनेमा क्षेत्रमा उनको पहिलो निर्देशन हो।
सिनेमाको पोस्टर डिजाइन विजय वस्यालले गरेका छन्, र यसको वितरण कार्य मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले गर्नेछ।