मकवानपुर । मकवानपुरको हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । होटल एशोसिएशन मकवानपुरले हेटौंडामा १३ पुस ४ दिनसम्म सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा आउँदो पुस १३ देखि १६ गतेसम्म सडक महोत्सव हुने होटल एशोसिएशन मकवानपुरले बिहीबार पत्रकार सम्मेलन गर्दै जनाएको छ होटल एशोसिएशन मकवानपुर अध्यक्ष दिलिशगोविन्द जोशीले सन् २०२५ को पूर्वसन्ध्यामा होटल एशोसिएशनले सडक खाना महोत्सव गर्न लागेको जानकारी दिए ।
सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सडक खाना महोत्सव गर्ने तयारी गरिएको जोशीले बताए ।महोत्सवमा खानाका पारखीहरूलाई पौराणिकदेखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक शकरलाल श्रेष्ठले बताए ।
अध्यक्ष जोशीका अनुसार ५० वटा स्टलहरु राखिने महोत्सवमा १४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० हजार खानाका पारखीले अवलोकन गर्ने र ७० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिकामा रहेर निर्देशकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रदेश प्रमुख देवकाेटाले यस्तो बताएका हुन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महसुस गर्ने गरी काम गर्नु पर्ने देवकाेटाले बताए ।
नेपालको संविधान (२०७२) को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । राज्यका तीनै तहसङ्ग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनले सुझाव दिए ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाको भौगोलिक अवस्था अवलोकन सहित कम्तीमा जिल्ला सदरमुकामसम्म पुग्ने ईच्छा रहेको बताउँदै प्रमुख देवकोटाले जिल्लागत अवस्था बुझ्ने पहिलो मौका मकवानपुरले दिएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुको वार्षिक कार्य प्रगती अवसर चुनौती तथा आर्थिक सवालमा समिक्षात्मक प्रस्तुती गरिएको थियो ।

कार्यक्रममा मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा गरेको योगदानको कदर गर्दै १३ बिधाका २४ जनालाई सम्मान गरिएको थियो । पत्रकारीतातर्फ भावना रिजाल तथा गणेश दर्पण अधिकारीलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्माले बताइन् । यसैगरी सहकारी, गैसस, कर्मचारी, बिद्यालय, सामुदायिक वन, स्वास्थ स्वयम सेविकालगायतका विधामा सम्मान गरिएको थियो ।
यसैगरी हालै सम्पन्न पत्रकार महासंघ जिल्ला प्रदेश तथा केन्द्रको निर्वाचनमा मकवानपुर जिल्लाबाट नेतृत्व गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाइ कार्यक्रम समेत गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर सभापति ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रीहरु कुमारी मोक्तान, एकालाल श्रेष्ठ तथा पूर्व सांसद प्रेम बहादुर पुलामी समेतको उपस्थति रहेको थियो ।
मकवानपुर । माइती नेपाल मकवानपुरले ‘मानक संचालन कार्यविधि’ बनाई कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गर्दै मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ज्ञापन पत्र बुझाएको छ ।
‘मानक संचालन कार्यविधि’ माग गर्दै लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा संकलन गरिएको हस्ताक्षर समेत प्रजिअलाई बुझाइएको हो । मकवानपुरको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मार्फत माइती नेपाल मकवानपुरले संघीय सरकारको नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिलाई ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको हो ।
मानव बेचविखन, जवरजस्ती करणी, यौनजन्य हिंसा र महिला हिंसाका विविध पक्षहरुलाई निराकरण गर्ने कार्यमा माइती नेपालले राज्यका विभिन्न निकायहरुसंग सहकार्य, समन्वय र छलफल गरी मानव वेचविखन तथा लैङ्गिक हिंसा रोकथामका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
माइती नेपालले स्वदेश तथा विदेशमा बेचविखनमा परेका महिला तथा बालबालिकाहरुको उद्वार पुनर्थापाना तथा उनीहरुको अधिकारको संरक्षणार्थ विभिन्न जनचेतानामूलक कार्यकम समेत गर्दै आएको छ । स्वदेश तथा विदेशमा बेचविखनमा परेकाहरुको उद्धार र स्वदेश फिर्ति प्रकृयामा अस्पष्टता भएको बारे बारम्बार उठान भइरहेको विषयप्रति संस्थाले गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमार्फत जनाएको छ ।
माइती नेपालले नेपाल भारत सीमा नाकाहरुमा कार्यरत भारतीय सुरक्षा निकायहरु, नेपाल सरकारका सुरक्षा निकायहरु तथा यस विषयसँग सरोकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग विभिन्न समयमा सहकार्य तथा समन्वय गर्दै आइरहेको छ ।
नेपाल भारतको सीमा नाका भएर भारतका विभिन्न शहरहरुमा गैर कानूनी तरिकाले मानव बेचविखन तथा ओसार पसारबाट पीडित तथा प्रभावित नेपाली नागरिकहरुको उद्धार तथा स्वदेश स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी कार्यान्वयन गर्न माग गरेको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बताइन् ।
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ मा व्यवस्था भए अनुसार विदेशमा अलपत्र परेका पिडितहरुको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फिर्ति गर्ने व्यवस्था भएता पनि हालसम्म यस सम्बन्धी स्वदेश फिर्ति कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ति कार्य सिमित संस्थाहरुको पहलको आधारमा मात्र भइरहेको हुदाँ यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट छुट्टै स्वदेश फिर्ति कार्यविधि तयारीको लागि माइती नेपालले माग गरेको तामाङले बताइन् ।
माइती नेपालले विभिन्न जिल्लामा मानव बेचविखनवाट प्रभावितहरुको उद्धार, स्वदेश फिर्ति र सामाजिक पुनर्स्थापनाका लागि ‘मानक संचालन कार्यविधि’ अविलम्ब निर्माण गरी उक्त कार्यविधि कार्यान्वयन गर्नका लागि यस जिल्लामा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदै मानव बेचविखन तथा ओसापसार नियन्त्रण जिल्ला समिति मार्फत नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रिय समितिमा जानकारी तथा कार्यान्वयनका लागि प्रेसित गरिदिनका लागि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले बताइन् ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा मंगलबारबाट ११ पुस सम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको हाे । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, त्रिभुवन राजपथ लगायतकाे मार्ग भने सूचारु रहेकाे प्रहरीले जनाएकाे छ ।
१३ मंसिरदेखि २९ मंसिरसम्म समेत दक्षिणकाली–छैमले सडकखण्डमा कालोपत्र गर्न भन्दै बन्द गरिएकाे थियाे । उक्त कार्य नसकिएकाे पुनः १० दिन उक्त मार्ग बन्द रहने भएकाे हाे ।
मकवानपुर । राष्ट्रिय युवा कविता उत्सव २०८१ मा हुने खुला कविता प्रतियोगिताकाे लागि उत्कृष्ट २० वटा कविता तथा कविकाे नामावली सार्वजनिक गरिएकाे छ ।
प्रदेश युवा परिषद्, बागमतीको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा हुने उक्त उत्सव अन्तरगत खुला कविता प्रतियोगिताकाे लागि साहि्तय संगम मकवानपुरले २० वटा कविता तथा कविका नाम सार्वजनिक गरेकाे हाे । संगम मकवानपुरले पूर्वप्रकाशित सूचना बमोजिम प्राप्त २२३ कविताहरूमध्ये उत्कृष्ट २० मा पर्न सफल कविता र कविहरूको नामावली वर्णानुक्रमानुसार प्रकाशन गरिएको जनाएकाे छ ।
उत्कृष्ट २० मा अग्रिमा शिवाकोटी मकवानपुरकाे रित्तिदैछ ‘देश’, अभिषेक ओझा बाराकाे ‘विसंवाद’, कुष्मा लौडारी मकवानपुरकाे ‘डिजिटल संसारको मायाजाल’, तारानाथ पराजुली पर्वतकाे ‘पागल प्रकृतिप्रेमीको बयान’, दीपिन सिंजापति दैलेखकाे ‘आकाङ्क्षा’, प्रदीप कोइराला तनहुँकाे ‘म’, बाबुराम श्रेष्ठ यात्री सिन्धुलीकाे ‘आमा, देश र माटो’, भरत थापा धनकुटाकाे ‘हर्कमाया दर्जी र झन्डाको व्यापार’, भीमप्रसाद खतिवडा अनुराग दोलखाकाे ‘जीवन एक पाठशाला’ शिर्षककाे कविता छनौट परेकाे संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
यसैगरी महेश कठायत बझाङकाे ‘देश’, रञ्जिता अधिकारी धादिङकाे ‘परिवर्तन लेख्ने हातहरु’, राजु झल्लु प्रसाद धादिङकाे ‘खिया’, रुपा ढुङ्गेल मकवानपुरकाे ‘म शिक्षा मन्त्री भए’, संयोग बस्याल कास्कीकाे ‘सावधान’, सिजन श्रेष्ठ संखुवासभाकाे ‘उर्वशी’, सुदर्शन पौडेल कास्कीकाे ’घर नफर्किएको छोराको सम्झनामा’, सुन्दर शिरिष सिन्धुपाल्चोककाे ‘जहाज चढ्न मन छैन आमा’, सुबास सजल मकवानपुरकाे ‘डरलाग्दो अन्त्य मानव सभ्यताको’,सुमित्रा सुमी नुवाकाेटकाे ‘बुद्ध आऊ’, सुमित्रा पोखरेल उदयपुरकाे ‘समदर्शक यन्त्रको पर्दा नियाल्दा’ शिर्षकका कविता छनौटमा परेकाे अध्यक्ष बर्तौलाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना पुरस्कारकाे व्यवस्था गरिएकाे छ । संगम सचिव मनोज पोखरेलका अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार रुपैयाँ, तृतीय पुरस्कार २० हजार रुपैया र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ रहेकाे छ । जुनसुकै विषयका मौलिक कविताले प्रतियाेगिताकाे लागि पठाउन ४० वर्ष उमेर पुरा नभएका युवाले मात्र भाग लिन पाउने गरी संगमले सूचना प्रकाशित गरेकाे थियाे ।प्रतियोगिताकाे लागि पहिलाे सूचना प्रकाशित गर्दा समय सिमा २० मंसिर रहेकाेमा १ हप्ता म्याद थप गरिएकाे थियाे ।
२७ मंसिरकाे तोकिएकाे समयसम्म प्राप्त कविका कविता मध्येबाट उत्कृष्ट २० कविता र कविकाे नामावली प्रकाशन गरिएकाे हाे । उत्कृष्ट २० मा पर्न सफल कविहरूबिच ६ पौष शनिबार हेटौंडामा अन्तिम चरणको प्रतियोगिता आयोजना गरिने सचिव पोखरेलले जानकारी दिए । उनका अनुसार अन्तिम प्रतियोगितामा कवि स्वयं उपस्थित भई कविता वाचन गर्नु पर्नेछ ।
यसैगरी राष्ट्रिय युवा कविता उत्सव २०८१ मा कवि मोमिला जोशीका एकल कविता वाचनकाे कार्यक्रम समेत रहेकाे छ । उनका १० कविता कार्यक्रममा सुनिने सचिव पोखरेलले जानकारी दिए । उक्त दिन पुस्तक प्रदर्शनी समेत रहेकाे बताइएकाे छ ।