मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दहाल चयन भएका छन् । शनिबार र आइतबार भएकाे चौतारी मकवानपुरकाे नबौ अधिवेशनबाट दाहालकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरहेकाे हाे ।
संचारिका समुह बागमती प्रदेश अध्यक्ष समेत रहेकी दहाल विगत २१ वर्षदेखि पत्रकारितामै सक्रिय छिन् । उनकाे सम्पादनमा हेटौंडाबाट १३ वर्षदेखि सहीखबर साप्ताहिक पत्रिका तथा ५ वर्षदेखि सहीखबर डटकम अनलाइन संचालनमा रहेकाे छ । दहाल राजधानी राष्ट्रिय दैनिक र हिमाल खबर अनलाइनमा आवद्ध छिन् ।
यस्तै चौतारी मकवानपुरकाे उपाध्यक्षमा शिव चौलागाईं र प्रतिक्षा न्यौपाने चयन भएका छन् भने सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल, समावेशी सह–सचिवमा मनिल महतो र कोषाध्यक्षमा अशोक बजागाईं चयन भएका छन् । यसैगरी, सदस्यमा विनोद कुमार सापकाेटा, सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, सुरेश गुरुङ, स्मीता अर्जेल र राम कुमार दानी चयन भएका छन् ।
अधिवेशनले केन्द्रिय प्रतिनिधिमा दिपेन्द्र रोका, बालकृष्ण अधिकार, पुष्पराज अधिकारी,आरती ढकाल तथा प्रदेश प्रतिनिधिमा रविन ढुंगाना, सुनिता विष्ट र रुपक कालिराजलाई चयन गरेकाे छ ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिब योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरको नबौ जिल्ला अधिवेशनको हेटौंडामा उद्घाटन् गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक संजाल नियमनकाे लागि सरकारले अध्यादेश ल्याएकाे बताउँदै उनले भने ‘जातीय द्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक संजालमा नियमन आवश्यक रहेको छ ।’
पुर्व प्रधानमन्त्री प्रचण्डको पालामा बन्द गरिएको टिकटकलाई प्रधानमन्त्री ओलीको पालामा पुनः खोलिएको उदाहरण दिँदै उनले भने ‘सामाजिक संजाललाई प्रतिबन्ध नगरी, प्रयोगलाई नियमनमा ल्याउनुपर्ने भएकाेले सामाजिक मिडिया प्लेटफर्महरूको नियन्त्रणको आवश्यकता रहेको छ । ‘समाजमा अनैतिक र भ्रामक कुरा फैलाएर सामाजिक असमझदारी सिर्जना गर्नुहुँदैन। यसका लागि प्रभावकारी नियमन जरुरी छ” उनले भने ।
भट्टराईले फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक मिडिया प्लेटफर्ममा अनैतिक र भ्रामक सामग्रीको प्रसारलाई रोक्नुपर्ने बताए । उनले भाने ‘यस्ता प्लेटफर्म मोनेटाइज गरि आम्दानी गर्नेलाई करको दायरामा ल्याउनु आवश्यकता रहेको छ ।’ ‘सरकारले ल्याएकाे अध्यादेशकाे टीका टिप्पणी र विराेध भइरहेकाे छ’ उनले भने प्रविधिकाे विकास संगेै सामाजिक संजाल बलियाे भएकाे छ, सामाजिक संजाल सभ्य र मर्यादित बनाउन नियमन जरुरी रहेकाेले अध्यादेश ल्याइएकाे हाे ।’
एमालेले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका विषयमा दख्खल दिने काम नगर्ने बताउँदै उनले भने ‘नागरिकले सहज किसिमले सूचना पाउनु पर्छ भन्ने कुरामा पार्टी जाेड दिन्छ ।’ सामाजिक सजाल दुरुपयाेग नहाेस, जातिय हिंसा नफैलिउन, साम्रदायिक एकता कायम हाेस, राष्ट्रिय एकता उलंघन नहाेउन भन्नू गलत हाे र? उनले प्रश्न गरे । ‘अध्यादेश संविधानकाे विराेधमा छैन, ६ वटा अध्यादेश र २९ वटा कानुन संशाेधन गरेर आएका छन्’ उनले भने ‘समाजमा सुशासन कायम गर्न, जनतालाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, लगानी मैत्री वातावरण तय गर्न बनाइएकाे छ ।’
अधिवेशनकाे अवसरमा अग्रज पत्रकारहरु प्रताप विष्ट, देवराज रिमाल, उज्जवल चाैलागाईं, रामकुमार एलन, ध्रुव चाैलागाईं सम्मान गरिएकाे छ । कार्यक्रममा प्रेस चौतारीले मकवानपुरले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार धर्बेन्द्र दाहाल, प्रतिक्षा न्यौपाने र बिवश अधिकारीलाई पुरस्कृत गरेको छ । उनीहरु तीनै जनालाई नगद सहित पुरस्कृत गरेको हो । प्रेस युनियनका जिल्ला अध्यक्ष सुवास विडारीलाई पत्रकार महासंघकाे निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेकाेले कदरपत्रद्वारा सम्मान गरिएकाे थियो ।
यसैगरी नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारीमा प्रवेश गरेका छन् । नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्सर राना, एमाले केन्द्रीय सदस्य भारती पाठक, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामा, सचिब विष्णु तारुके, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायको आतिथ्यता रहेको थियो ।
नेपालको पूर्वी भाग धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना । पर्यटकीय स्थल भेडेटारबाट आठ किलोमिटरको दुरीमा सिम्सुवा भन्ने स्थानमा रहेको ८० मिटर अग्लो झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । झरना स्थलमा रमाइलो र वनभोज गर्नको निमित्त नेपालको पूर्वी जिल्ला धनकुटा, झापा, मोरङ, सुनसरी तथा अन्य स्थानका साथै भारतबाट समेत पर्यटकहरू आउने गरेका छन्। झरना सम्म पुग्न धरान–धनकुटा मार्गबाट ३५ किमि उत्तर लागेपछि मार्गकाे छेवैमा रहेकाे सिम्सुवा मोडबाट उकालो पैदल बाटोको प्रयोग गर्नुपर्छ ।
तस्विरः आरपी गुरागाईं/सहीखबर
मकवानपुर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पद पैसा र प्रतिष्ठाकाे अन्तरद्वन्द्वबाट पार्टीलाई जाेेगाउनु पर्ने बताएका छन् । मकवानपुरको हेटौंडामा शनिबार पार्टीको जिल्ला समन्वय समितिको पूर्ण बैठकमा उनले यस्तो बताएका हुन् ।
‘सुशासनकाे दृष्टिकोणबाट हेर्दा भ्रष्टाचारीलाई बचाउने काम भैरहेकाे छ’ उनले भने ‘सत्तारुढ संगठनले कहि पनि सार्वजनिक कार्यक्रम फेस गर्न सक्ने अवस्थामा सरकार छैन ।’ भ्रष्टकाे रक्षा गर्याे भन्दै चारैतिर विराेध भैरहेकाे बताउदै उनले भने ‘ संकट माेचनकाे लागि कम्युनिष्ट पार्टी माओवादीकाे विकल्प छैन ।’
याे अवस्थामा हामीले गम्भिर तर शान्तिपूर्ण ढंगले आफ्नाे कार्यदिशा अघि बढाउनु पर्ने हुन्छ’ उनले भने । ८४ काे निर्वाचनमा ध्यान केन्द्रित गरि अघि बढ्नुपर्ने उनले बताए । ‘राष्ट्रियता, भ्रष्टाचार, सुशासन, समाजवाद लगायतका एजेन्डा लिएर अघि बढ्नु पर्छ’ उनले भने ‘भविष्यमा समाजवादकाे लडाइ लड्नु पर्ने हुँदा चुनावी प्रक्रियालाई नै अवलम्बन गरेर अघि बढ्नु पर्छ ।’ मुलुक गम्भीर संकट तर्फ गईरहेकाे बताउदै उनले भने ‘ एमाले र काङ्ग्रेस गठबन्धनको कारण राष्ट्रियताकाे काेणवाट देश संकटमा परेकाे छ ।’
राष्ट्रियता संकटमा परेकाे अवस्थालाई ध्यानमा राखेर पार्टीलाई सुदृढीकरण गर्नुपर्ने महासचिव गुरुङले बताए । उनले भने ‘कृषि अर्थतन्त्र, औद्योगिक अर्थतन्त्र बलियाे हुनका लागि एकाधिकार दलाल पुजिवादी प्रक्रिया बन्द हुनुपर्छ ।’ अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउन सक्ने बित्तिकै समाजवाद उन्मुख हुने बताउदै उनले भने ‘पार्टीकाे अगाडि भावि चित्र र दिशा प्रष्ट छ ।’ स्थानीय तहसम्म पार्टी सुदृढ बनाउने र क्रियाशिल बनाउदै जाने, जनतासंग प्रत्यक्ष सम्पर्कमा रहन पार्टीले फागुनमा तराइमा हुलाकी राजमार्ग अभियान सुरु गर्ने, वैशाखमा मध्यपहाडी अभियान संचालन गर्ने याेजना बनेकाे उनले बताए ।
हेटौंडा -४ स्थित नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा पार्टी मकवानपुर संयाेजक भिम पाख्रिनकाे सभाध्यक्षता तथा महासचिव गुरुङकाे प्रमुख आतिथ्यतामा भएको पार्टीको जिल्ला समन्वय समितिको बैठकमा पार्टी केन्द्रीय सदस्य रामनारायण विडारी, केन्द्रीय सदस्य कुमारी माेक्तान, प्रदेश उपाध्यक्ष प्रेम वहादुर पुलामी जिल्ला समन्वय प्रमुख तथा पार्टी बागमती प्रदेश सदस्य ललित बहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ ।
निर्माण व्यवसायी महासंघको सहयोगमा आगामी फागुन महिनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को आयोजना गर्न लागिएको संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । १० वर्षपछि हुन लागेको दोस्रो संस्करणको महोत्सव ६ फागुन देखि १८ फागुन २०८१ सम्म हुने निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
महोत्सव तथा प्रदर्शनी निर्माण व्यवसायसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यका साथ आयोजना गर्न लागेको उनले बताए । महोत्सव निर्माण सामाग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित बस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, निर्माण उद्योगी र व्यवसायीहरुका वीच समस्या, अवसर र चुनौतीबारे अन्तक्रिया गर्ने र स्थानीय औद्योगिक, निर्माणलगायत उत्पादन तथा सेवाहरुको विशेष प्रवर्धनमा सहयोग पुऱ्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष कडेलले बताए ।
महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने छ । नेपालमा क वर्गका निर्माण व्यवसायी सहभागी भई सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निष्कर्षहरु बाट नीति निर्मातालाई ध्यानाकर्षण गराइने कंडेलले बताए । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, विक्री र प्रदर्शनीमा विशेष जोड दिइने अध्यक्ष कंडेलले जानकारी दिए ।
महोत्सव अवधिमा निर्माण उद्योग क्षेत्रका नयाँ सम्भावनाको खोजी, सान्दर्भिक गोष्ठी, अन्तक्रिया र कार्यशालालाई विशेष जोड दिइने छ भने निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह तथा सुझावहरु संकलन गरिने बताइएको छ।
महोत्सवमा निर्माण उपकरण, निर्माण सामाग्री, औद्यौगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामाग्रीलगायत स्थानीय उत्पादन गरी ३५० स्टल रहने छन् । यस्तै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहने बताइएको छ ।