सबैभन्दा बढि राेजगारी दिने नीजि क्षेत्र निर्माण व्यवसायीः मन्त्री लेखक
Tags: No Comments
मकवानपुर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि राेजगारी दिने नीजि क्षेत्र निर्माण व्यवसायी भएकाे बताएका छन् । मंगलबार हेटाैंडामा दोस्राे राष्ट्रिय निर्माण तथा व्यापार महाेत्सवकाे उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले मुलुककाे विकासका लागि निर्माण व्यवसायीहरु महत्त्वपूर्ण अंग भएकाे बताए । मुलुकका सानादेखि ठुला आयाेजनाहरु निर्माण गर्ने निर्माण व्यवसायीहरु रहेकाे बताउँदै उनले भने ‘महाेत्सव गर्दा अन्तर्क्रिया र निर्माण आइडिया आदानप्रदान हुन गई निर्माण कार्यमा सघाउ पुग्छ ।’
‘सरकारले निर्माण व्यवसायीकाे भुक्तानी दिन नसकेकाे देभरबाट गुनासाे आइरहेकाे छ’ मन्त्री लेखकले भने ‘राेकिएका बक्याैता भुक्तानी दिन सुरु भएकाे छ । बाँकी रहेकाे बक्याैता पनि सरकारले भुक्तानी गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।’ अहिलेकाे सरकार सुशासन कायम मुलुकमा दिगाे शान्ति, सुशासन, आर्थिक गतिविधि बढाइ राष्ट्रिय पुँजीकाे निर्माण गर्ने पथमा सरकारकाे समिकरण भएकाे उनले जानकारी दिए ।
‘सरकारले ल्याएकाे अध्यादेश स्वीकृत भएपछि हामी अघि बढ्छाै’ उनले भने, तपाईहरु ढुक्क भएर निर्माण कार्य अघि बढाउनुहाेस ।’ ‘निर्माण व्यवसायीले असुरक्षाकाे महशुस गरे सुरक्षा निकायमा कुरा राख्नुहाेस म समाधान गर्ने प्रतिवद्दता व्यक्त गर्दछु’ उनले भने । निर्माण कार्य गर्दा गुणस्तरियतामा ध्यान दिनु पर्ने बताउँदै उनले भने ‘समयावधी भित्रै निर्माण सम्पन्न गर्ने कुरामा विशेष गरि निर्माण व्यवसायिले ध्यान दिन जरुरी छ ।’
सरकारले विकास निर्माणकाे काममा ठुलाे लगानी गरेकाे हुन्छ । निर्माण व्यवसायीले समयमा गुणस्तरीय कार्य नगर्दा सरकारकाे लगानी खेर जाने उनले बताए । ‘एउटा निर्माण व्यवसायीले गरेकाे गलत कार्यले सबैलाई आरोप लाग्ने गर्छ’ उनले भने ‘व्यवसायीहरुले आफ्नाे कार्य सुधार गरेर अघि बढ्न जरुरी छ ।’
उद्घाटन कार्यक्रमलाई स्वागत गर्दै निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगाेपाल कंडेलले निर्माण व्यावसायीहरुकाे राेकिरहेकाे भुक्तानी निकासाकाे लागि गृह मन्त्री लेखककाे ध्यानाकर्षण गराएका थिए ।
निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगाेपाल कंडेलकाे सभाध्यक्षता तथा गृहमन्त्री लेखकाे प्रमुख आतिथ्यतामा भएकाे महाेत्सव उद्घाटनसत्रमा प्रतिनिनिधि सभा सदस्य दिपक बहादुर सिंह, राष्ट्रिय सभा सदस्य गाेमादेवि तिमल्सिना, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डाेरमणि पाैडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र वहादुर बानिंया, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी मगर, लक्ष्मी श्रेष्ठ लगायतका उपस्थिति रहकाे थियाे ।
मकवानपुर जिल्लाको निर्माण तथा औद्योगिक क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल निर्माण व्यवसायी महासंघ र संघकाे संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएकाे हो । महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि ३५० भन्दा बढी स्टल राखिने छन्।
महोत्सवमा निर्माण उपकरण तथा औद्योगिक उत्पादनका प्रदर्शनीसँगै व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुने छ जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्। आइडल प्रतियोगिताकाे लागि १५ जना प्रतिष्पर्धी छनौट भएका छन् । उनीहरुले महाेत्सवकाे अवधीमा स्टेज प्रस्तुति दिनेछन् । दर्शक समेतकाे भाेटिङ्गमा आइडलकाे घाेषणा गरिने आयोजकले जनाएकाे छ ।
हेटौंडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ । जसमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकका अनुसार महोत्सवमा आउने आगन्तुकका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधि हुनेछन् ।
महोत्सव आयोजक समितिले स्थानीय बासिन्दा, व्यवसायी, तथा सम्पूर्ण इच्छुक नागरिकहरूलाई महोत्सवमा सहभागी हुन अनुरोध गरेको छ। करिव ३ कराेडकाे काराेवार हुने अनुमान गरिएकाे महाेत्सवकाे लागि १ लाख ५० हजार जनाले अवलाेकन गर्ने आयोजकले अनुमान गरेकाे छ ।
मकवानपुर । लोकगायक खेम सेन्चुरी र मेलिना राईको स्वर रहेको लोक दोहोरी गीत नौतुनाको रेल युट्युबमा सार्वजनिक भएको छ । मोडल तथा कलाकार नरेश एमसीले आफ्नो युट्युब च्यानल मार्फत गीतको भिडियो २ फागुनमा सार्वजनिक गरेका हुन् ।
गीतमा नरेशसँगै जुना बिश्वकर्माले अभिनय गरेका छन् । गीतमा उनले भारतीय सेनामा कार्यरत सैनिक अधिकृतको भूमिकामा छन् भने जुनाले गाउँले युवतीको भूमिकामा अभिनय गरेकी छन् । लाहुरे र उनकी प्रेमिका बीचको प्रेम दर्शाउन गीत तयार गरिएको उनले बताए ।
ऋषि खड्काले लेखेको गीतलाई केशव बडुले संगीत संयोजन गरेका छन् । भिडियो अजय रेग्मीले खिचेकाे गीतको भिडियो निर्देशन तथा नृत्य निर्देशन मौसम हिमालीको रहेको छ । एमसी सशस्त्र प्रहरीका कर्मचारी हुन् । पेशागत कर्मसंगै कलाकारितालाई समेत निरन्तरता दिँदै आएका उनले दशैं तिहारको अवसरमा फौजी जीवनलाई प्रतिनिधित्व गर्ने भिडियोहरू सार्वजनिक गर्दै आएका छन् ।
मेरो माया राष्ट्र सेवक, लाहुरेको चिनो, फौजीको बर्दीमा जस्ता गीतहरू बजारमा ल्याएका उनकाे लाहुरे म त सोल्टिनी गीत चर्चित छ । एक वर्ष अघि रिलिज भएकाे गीतकाे भिडियाेलाई युटुब मार्फत सार्वजनिक गरिएकाे हाे । चार दिन अघि युट्युबमा रिलिज गरिएकाे भिडियाेलाई हालसम्म १ करोड आठ लाख बढीले हेरेका छन् ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न स्रष्टा तथा व्यक्तित्व सम्मानित हुने भएका छन् । सोमबार हेटौंडामा बसेको समाजको कार्यसमिति बैठकले ७ वटा बिधामा ९ जनालाई एकै मञ्चमा सम्मानित गर्ने निर्णय गरेकाे सचिव किशन पौडेलले जानकारी दिए ।
समाजले नित्यानगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार,२०८० द्वारा गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित हुने भएका छन् । २० हजार रुपैयाँ राशिको उक्त पुरस्कार समाजसेवी मुक्ति गोविन्द वैद्यले आफ्ना स्वर्गीय पिता सङ्गीतकार नित्य गोविन्द वैद्यको नाममा स्थापना गरेका हुन् । यस्तै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार,२०८० अनुवादक/ साहित्यकार डा.विष्णु भण्डारी (आसाम, भारत ) लाई प्रदान गरिने भएको छ । समाजसेवी/शिक्षासेवी आशिष श्रेष्ठले पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार,२०८० असल पाख्रिन, बेबी खातुन, परीक्षा खतिवडालाई प्रदान गरिने भएको छ । समाजसेवी अर्चना शर्मा रिजालले शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि जनही १५/१५ हजार रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई प्रदान गरिन्छ ।
यस्तै साहित्यकार नरेन्द्र राज पौडेल (काठमाडौं) लाई ईश्वरी स्मृति मातृभूमि सम्मान, २०८० प्रदान गरिने भएकाे छ । उक्त पुरस्कारकाे राशि १५ हजार रुपैयाँ रहेकाे छ भने मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गरेकाे हुन् । यो सम्मान विविध क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गर्न थालिएको छ । १० हजार रुपैयाँ राशिकाे हातेमालो-मातृभूमि युवा सृजनशील सम्मान, २०८० मकवानपुरे साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएकाे छ । समाजले २०६५ सालमा आफ्नै नाममा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि मकवानपुरकै ‘हातेमालो बचत तथा ऋण सहकारी संस्था’ ले प्रायोजन गर्दै आएको छ ।
यसैगरी मकवानपुरका गृष्मा गहत राज मङ्गलादेवी स्मृति मातृभूमि बाल पुरस्कार, २०८० बाट सम्मानित हुने भएकी छिन् । शिक्षासेवी देव प्रसाद श्रेष्ठले आमा मङ्गलादेवी श्रेष्ठको स्मृतिमा २०७७ सालमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि ७ हजार ५०० रहेकाे छ । प्रतिभाशाली बालबालिकाहरूलाई यो पुरस्कार प्रदान गरिदै आइएकाे सचिव पौडेलले जानकारी दिए । शारदा उप्रेती स्मृति मातृभूमि सम्मान, २०८० कलाकार ज्ञान रत्न लामालाई प्रदान गरिने भएकाे छ । अधिवक्त चूडाराज उप्रेतीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैया रहेकाे छ । पौडेलका अनुसार यो पुरस्कार २०८० सालमा स्थापना गरिएकाे तथा पहिलाे पटक प्रदान गर्न लागिएकाे हाे ।
समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षतामा भएकाे बैठकले पुरस्कार छनौट समितिको सिफारिस बमोजिमकाे उल्लेखित पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । २४ फागुन २०८१ मा हेटौंडाको रोयल पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारण सभाकाे अवसरमा सम्मान समर्पण कार्यक्रम गर्दै शिर्षकगत पुरस्कार प्रदान गरिने बताइएकाे छ ।
समाजले गत असोजमा ३ विधामा पुरस्कार प्रदान गरिसकेकाे छ । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरेकाे थियाे । ५१ हजार रुपैंया राशिकाे उक्त पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा २०५९ सालबाट प्रदान गर्दै आएकाे छ । त्यस्तै, समाजसेवी ईश्वर मैनालीले बुबाको स्मृतिमा स्थापित १० हजार राशिकाे केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० पत्रकार माधवप्रसाद न्यौपानेलाई प्रदान गरेकाे थियाे । मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मालाई सम्मानित गरिएकाे थियाे ।
मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। समाजले विभिन्न क्षेत्रमा योजदान पुर्याउने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्दै आएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट उद्योगले लामो समयदेखि कार्यरत ९७ मजदुरलाई रोजीरोटी खोसेर कामबाट निकालेपछी उद्योगमा झण्डै एकसाताबाट चरणबद्ध आन्दोलन जारी छ ।
नेपाल कै ठुलो र पुरानो औद्योगिक क्षेत्रको रुपमा रहेको हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको एन्टारटीक बिस्कुट प्रा. लि.ले एकै साथ कर्मचारी अवकाश गरेपछि अहिले आन्दोलन चर्काइएको हो । उक्त बिस्कुट कारखानामा करिब ४०० जना श्रमिकहरु काम गर्दै आएका छन्।
जसमध्ये उद्योगले ९७ श्रमिक मजदुरलाई निष्काशन गरेपछि उद्योगमा जिफन्टको नेतृत्वमा सशक्त विरोध र चरणबद्ध आन्दोलन सुरु भएको हो । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको विरुद्धमा १ फागुनदेखि थालेको आन्दोलनलाई थप चर्काउने श्रमिकहरुले चेतावनी दिएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले यस कार्य तुरुन्त बन्द गरेर श्रमिकलाई यथासिघ्र पुनर्बहाली गर्न माग गरेको छ ।
समग्र उद्योग ट्रेड यूनियन नेपाल मकवानपुरका अध्यक्ष केशव प्रसाद अधिकारीका अनुसार उद्योगले बिना कारण स्थायी तथा करारका समेत गरी ९७ जना नियमित रुपमा काम गर्दै आइरहेका श्रमिकलाई गैरकानूनी ढंगले निष्काशन गरेको हो। उद्योगले श्रमिकको मौलिक हक हनन नगर्न माग गर्दै श्रमिकहरु गैरकानूनी तरिकाबाट निष्काशनमा परेकालाई पुनर्वहाली गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको हो ।
उद्योग व्यवस्थापन पक्षको गलत कदम नसच्चिए आन्दोलन थप चर्काउने चेतावनी जिफन्टले दिएको छ । श्रमिकहरुलाई निष्काशन गरिएको विरुद्धमा जारी संघर्ष र थप योजना निर्माणका लागि हेटौंडास्थित जिफन्ट प्रदेश कार्यालयमा समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याललगायतको उपस्थितिमा बसेको बैठकले जारी विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय लिएको छ ।
त्यस्तै समग्र उद्योग ट्रेड यूनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीको संयोजकत्वमा रामहरि नेपाल, अर्जुन अर्याल, धर्म बस्नेत, भवानी शर्मा, सन्तोष पौडेल, लालकृष्ण प्याकुरेल, केशव अधिकारी र बुद्ध विक रहेको आन्दोलन परिचालन स्टेरियङ कमिटी निर्माण गरिएको छ । विरोध अन्तर्गत आबद्ध घटक र जन संगठनहरुबाट ऐक्यबद्धता जाहेर गर्ने, मिडिया परिचालन गर्ने, फागुन ६ गते पत्रकार सम्मेलन गर्ने लगायतको निर्णयहरू सार्वजनिक गरिएको छ ।
मजदुरलाई काममा फर्काउन बर्तौलाको ध्यानाकर्षण

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक विस्कुटबाट निकालिएका मजदुरलाई तुरुन्तै काममा फर्काउन मुख्य सचेतक महेश कुमार बर्तौलाले संसदमा ध्यानाकर्षण गराउनु भएको छ ।
मुख्य सचेतक बतौलाले ५ फागुन सोमबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै श्रमिकको अधिकार सुनिश्चित गर्न उद्योग व्यवस्थापनसँग माग र आवश्यक सहजिकरणकोलागि श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र भित्र एउटा अन्टार्टिक विस्कुट फ्याक्ट्री छ । त्यहाँ लामो समय देखी कार्यरत मजदुरहरु र व्यवस्थापनको बिचमा श्रमसंग सम्बन्धीत विवाद भयो । विवादको प्रकृया चल्दै गर्दा वार्ता पनि चलिरहेको थियो । वार्ताकै क्रममा व्यवस्थापनले ९६ जना श्रमिकहरुलाई रोजगारीबाट हटाउने काम भयो । त्यस पछी त्यहाँ आन्दोलन चलिरहेको छ ।
रोजगारबाट हटाईएको श्रमिकहरुलाई व्यवस्थापनले अविलम्ब काममा फर्काउने वातावरण बनाउन बर्तौलाले माग गरे । संविधानको धारा ३४ को श्रमको हक र श्रमसंग सम्बन्धीत ऐनको दिएका प्रावधानहरु वमोजिम श्रमीकका हक अधिकारको सुरक्षित गरियोस् भन्नेमा आवाज उठाएका हुन् । “यसका लागि श्रम मन्त्रालयको आवश्यक सहजीकरणको लागि ध्यानाकर्षण गराउँछु” प्रतिनिधि सभाको शुन्य समयमा बर्तौलाले भने ।
जिफन्ट बागमती प्रदेश कमिटीको ध्यानाकर्षण
उद्योगमा कार्यरत मजदुरको रोजिरोटी नै खोसेर अवकाश गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमतीले ध्यानाकर्षण जनाएको छ । जिफन्ट प्रदेश कमिटी अध्यक्ष रामहरी नेपालका अनुसार उचित श्रम अभ्यास तथा संगठन स्वतन्त्रतालई श्रमिकहरुको मौलिक हकको रुपमा स्थापित जिफन्टसँग आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल एन्टारटीक बिस्कुट प्रा. लि. प्रतिष्ठान स्तरिय युनियन स्थापना गरिएको छ ।
सोहि युनियनको पहलमा त्यस प्रतिष्ठानमा कार्यरत श्रमिकहरु मध्ये ८४ जना श्रमिकलाई गत २०८० माघ ७ गते श्रम कार्यालय हेटौंडामा भएको वार्ताको माध्यामबाट नियमित रोजगार संझौता गर्ने र बाँकी श्रमिकहरुका हकमा कानुनः योग्य व्यक्तिहरुलाई क्रमशः नियमित रोजगार सम्झौता गर्दै जाने सहमती गरिएको थियो ।
व्यवस्थापकले बिगतमा गरिएको सहमती बमोजिमको कार्य अगाडी नबढाएपछि ९ साउन २०८१ मा ७२ जना श्रमिकहरुले हस्ताक्षर गरि नियमित रोजगार संझौताको लागि उद्योग व्यवस्थापकलाई निवेदन दिएका थिए ।
यस सन्दर्भमा व्यवस्थापकले श्रम विवाद समाधान गर्ने तर्फ ध्यान नदिएकोले प्रचलित श्रम ऐन बमोजिम ५ भदौ २०८१ मा श्रम कार्यालय हेटौंडामा ८५ जना श्रमिकहरुको हस्ताक्षर सहित मेल मिलापका लागि अनुरोध गरिएको थियो । यस सम्बन्धमा ९ कात्तिक २०८१ मा श्रम कार्यालयमा दुबै पक्ष बिच छलफल भई उद्योगमा कार्यरत रहेका मध्ये ११० जना नियमित प्रकृतिको काममा रहेको र उनीहरुको नियमित प्रकृतिकै रोजगार संझौता हुनु पर्नेमा ट्रेड युनियनका वार्ता प्रतिनिधीहरुको अडान रहेपछि प्रतिष्ठानमा छलफल गर्न समय दिइएको नेपालले बताए ।
तर रोजगारदाताले खराब नियत राख्दै ट्रेड युनियन प्रदत्त अधिकार माथी वन्देज लगाउन प्रयत्न गरेको उनले बताए । यसैको विरोधमा जिफन्टले विभन्न माग राख्दै आन्दोलन चर्काउँदै आएको छ । एन्टरटीक बिस्कुट प्रा. लि. मा कार्यरत श्रमिकहरु मध्ये ११० जना श्रमिकहरुलाई बिगत ५ वर्ष देखि नियमित प्रकृतीको काम लगाएको भएता पनि श्रम ऐन २०७४ को मर्म र भावना बिपरीत १४ माघ २०८१ मा उद्योगको तर्फबाट सुचना प्रकाशित गरि ९६ जना श्रमिकहरुलाई २९ माघ २०८१ बाट रोजगारी अन्त गर्ने निर्णय गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मकवानपुर । पशु सेवा कार्यालय मकवानपुरले ट्रकमा गोरु तस्करी गरि लैजादै गरेकाे अवस्थामा बाराकाे पथलैयाबाट नियन्त्रणमा लिएकाे छ । हेटौंडा हुँदै बारातर्फ गइरहेको २५ वटा गोरु बोकेको बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रक आइतबार कार्यालयले सशस्त्र प्रहरीकाे सहयोगमा नियन्त्रणमा लिएको हाे।
सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइए लगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भएका छन् । ट्रक चालक फरार भएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौंडा ल्याइएकाे पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटिएकाे उनले बताए । ‘२५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिदै गरेकाे देखाउन खोजिएको रहेछ’ उनले भने ‘भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख थियो।’ प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नभएकाे उनले जानकारी दिए ।
छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा २ दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको कार्यालय प्रमुख ठाकुरले बताए । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौंडाको नाममा बिजक जारी गरिएको थियो।
तनहुँ जिल्ला आबु खैरेनीबाट काकडभिट्टा तर्फ जाँदै गरेकाे उक्त ट्रक बारा जिल्ला पथलैया राजश्व कार्यालयकाे समन्वयमा नियन्त्रणमा लिइ पशु सेवा कार्यालय मकवानपुरलाई जिम्मा लगाइएकाे ठाकुरले बताए ।
यसरी भएकाे थियाे तस्करी नियन्त्रण
४ फागुन आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए। सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगेकाे उनी बताउँछन् । ‘त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे’ उनले भने । उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।
प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराएकाे बताउँछन् ।तरपनि, प्रहरीले ट्रक नियन्त्रणमा नलिएकाे उनले बताए । “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराए’ उनले भने । प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिएकाे ठाकुरले आराेप लगाए ।
रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागेर गएकाे उनले जानकारी दिए। स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्टका सशस्त्रका असईलाई जानकारी गराएकाे बताए । ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरेर पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएकाे जानकारी दिए ।
रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको भन्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए। प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ।
नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ।