मकवानपुर । राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनले प्रजातन्त्र दिवस मनाएकाे छ । सगठनले एक कार्यक्रम आयोजना गरी पुर्व राजा ज्ञानेन्द्र शाहले जनतामा सहयोगको आवहान गर्दै प्रजातन्त्रको शुभकामना सन्देश व्यक्त गरेको बिषयमा समर्थन र स्वागत गरेकाे छ ।
दिवसकाे अवसरमा संगठनले दिप प्रज्वलन गरेका थिए । कार्यक्रम वीर शहीदहरुकाे सपना अधुरो रहेको र गणतन्त्रात्मक व्यवस्थाले देश र जनता कङ्गाल बनाएको राप्रपा मकवानपुर सह- कोषाध्यक्ष सन्दिप कुमार सापकोटाले बताए । राप्रपा केन्द्रीय सदस्य राम बहादुर थोकरले राजाले ७५ ओै प्रजातन्त्रको उपलक्ष्यमा व्यक्त गरेकाे शुभकामनाको स्वागत गर्दै समर्थन गर्ने उद्घोष गरेका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन का अध्यक्ष किशोर खत्रीले राजाको सन्देश अनुसार मकवानपुरबाट अहिलेकाे भ्रष्ट व्यवस्था परिवर्तन खातिर तयार रहेकाे जानकारी दिए ।कार्यक्रममा उपस्थित राप्रपा नेता कार्यकर्ता तथा सर्वसाधारणले राजा ज्ञानेन्द्रको सन्देशलाई स्वागत गर्दै प्रजातन्त्रको महत्वलाई सम्झना गरी बिरगति प्राप्त शहिदहरुको स्मरण गरेकाे बताइएकाे छ । राष्ट्रिय गानको रूपमा श्रीमान गंभिर नेपाली.. गाइएकाे थियो ।
कार्यक्रममा सहभागीहरुले राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको कार्यक्रमकाे नेतृत्व गरेकाेमा धन्यवाद ज्ञापन गरेका थिए । जनताको उत्साह र सहभागिताले प्रजातन्त्र दिवसलाई स्मरणीय बनाएको संगठनकाे भनाई रहेकाे छ ।
मकवानपुर । बागमती गोल्डकप अन्तरगत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बागमती गाउँपालिका–४ स्थित शहीद स्मृति रंगशालामा भएको सातौं संस्करण अन्तरगतकाे तेस्राे क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफकाे जीतमा सुजन कुमार पुलामीले ८३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । पुलामीले मैदान प्रवेश गरेकाे २ मिनेट मै टिमलाई गोल दिलाएका थिए । उनी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।
म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि एपीएफ, भरतपुर एफसीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने संकटाले वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको हो । प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएकाे छ । बिहीबारकाे खेलबाट सेमिफाइनलकाे समिकरण पुरा हुनेछ ।
मंगलबार भएको दोस्राे क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ । उसले हिमालयन शेर्पालाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे । यस्तै सोमबार भएकाे पहिलाे क्वाटरफाइनलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइजले सेमिफाइनल यात्रा तय गरेकाे हाे ।
फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, ठूलोगङ्गटेस्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा लगाइएकाे श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन भएको छ ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले गरिएकाे महायज्ञकाे बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता समापन समाराेह भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रेष्ठले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको विकासमा सबै प्रतिबद्ध बन्नुपर्ने बताए ।
स्थानीय स्तरमा रहेका यस्ता स्थानहरूको संरक्षण, प्रवर्द्धन, र पूर्वाधार विकास गरी धार्मिक पर्यटनलाई अझ प्रभावकारी बनाउन सकिने बताउँदै उनले भने महायज्ञले केवल आध्यात्मिक चेतनाको अभिवृद्धि मात्रै गर्दैन, स्थानीय अर्थतन्त्रलाई पनि सबल बनाउँछ । बागमती प्रदेश सरकारमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री भइरहँदा यस क्षेत्रको खानेपानी तथा सिँचाइ क्षेत्रको लागि विशेष बजेटहरू विनियोजन गरेको बताउदै प्रदेश सरकारको तर्फबाट यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकासका लागि आवश्यक पहल गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
यस्तै कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, समाजसेवी कमल बिष्टले महायज्ञले हाम्रो समाजमा धार्मिक चेतना जगाउने, युवा पुस्तालाई नैतिक आचरणमा स्थापित गर्ने, र सांस्कृतिक धरोहरको रक्षा गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए ।
महायज्ञबाट करिब १३ लाख रुपैयाँ सङ्कलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक कृष्ण देव भण्डारीले बताए । संकलित रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्तरोन्नती गर्ने, मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा महायज्ञ भएकाे हाे । पण्डित बद्रीविशाल शास्त्री प्रमुख वाचक र पण्डित अनमाेल धिताल उपवाचक रही कथा वाचन गरिएकाे महायज्ञमा करिब २ हजार भक्तजनहरुकाे उपस्थिति रहेकाे आयोजकले जनाइएको छ ।।
मकवानपुर । नेकपा एमाले मकवानपुरले विपद् प्रतिकार्य द्रुत टोली बनाउँने भएकाे छ । एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको हाे ।
मंगलबार एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग र वन तथा वातावरण विभागको संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको छ । बैठकले ५० जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको विपद् व्यवस्थापन विभाग प्रमुख शिवहरि दाहालले जानकारी दिए ।
बैठकले जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना पनि बनाएको छ । विभाग प्रमुख दाहालका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान गरेर पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम समेत गर्नेछ ।
‘हरेक पालिकामा एमालेले विपद् प्रतिकार्य टोली बनाउनेछ । जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले गाउँगाउँमै विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो’ विभाग प्रमुख दाहालले भने, ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ।’
यसैगरी, पार्टीको वन तथा वातावरण विभागले डढेलो नियन्त्रण, अग्निरेखा निर्माण सम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा तालिम दिइने भएको छ । विभागले सामुदायिक वन, टोल विकास संस्था, विद्यालय, गैरसरकारी क्षेत्र, सरकारी निकाय र स्थानीयस्तरमा युवा क्लबहरुलाई सचेतनामूलक तालिम प्रदान गरिने विभाग प्रमुख पञ्चमाया स्याङ्तानले बताइन् ।
विपद् विभागका प्रमुख शिवहरि दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पार्टी जिल्ला सचिव सिता विष्ट, जनसंगठन समन्वय संयन्त्र जिल्ला सहसंयाेजक मिलन पाठक, पार्टी जिल्ला सदस्य आकाश अधिकारी, दिलमाया घर्तीलगायतको आतिथ्यता रहेकाे थियाे ।
झुरझुरे, बागमती । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियाेगिता अन्तर्गत मंगलबार भएको क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ ।
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लब विरुद्ध सहज र उत्कृष्ट जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा शेर्पालाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
थ्री स्टारको जीतमा सुशील राई, नविन लामा, फोफना, एलेक्सले पहिलाे हाफमै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन सकेन । खेलको म्यान अफ द म्याच थ्री स्टारका नविन लामा घोषित भए भने उनले १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार बागमती गोल्डकपको चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेता हो ।
सोमबार भएको पहिलाे क्वार्टरफाइनल खेलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । बागमती गाउँपालिकाले निर्माण गरेकाे सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको क्वाटरफाइनल खेल संकटा फुटबल क्लब, काठमाडौ र एपीएफ फुटबल क्लब, काठमाडौ बीच हुने आयोजकले जानकारी दिएकाे छ । १२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।