झुरझुरे, बागमती । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियाेगिता अन्तर्गत मंगलबार भएको क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ ।
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लब विरुद्ध सहज र उत्कृष्ट जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा शेर्पालाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
थ्री स्टारको जीतमा सुशील राई, नविन लामा, फोफना, एलेक्सले पहिलाे हाफमै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन सकेन । खेलको म्यान अफ द म्याच थ्री स्टारका नविन लामा घोषित भए भने उनले १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार बागमती गोल्डकपको चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेता हो ।
सोमबार भएको पहिलाे क्वार्टरफाइनल खेलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । बागमती गाउँपालिकाले निर्माण गरेकाे सहिद स्मृति रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको क्वाटरफाइनल खेल संकटा फुटबल क्लब, काठमाडौ र एपीएफ फुटबल क्लब, काठमाडौ बीच हुने आयोजकले जानकारी दिएकाे छ । १२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

