मकवानपुर । मकवानपुर हेटाैंडामा मोटरसाइकलको ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । बुधबार हेटौंडा–६,विजयपथमा रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेटौंडा–६ रामनगरका ६१ वर्षीय कमल बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बोहोरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारकाे लागि चितवन रेफर गरिएको थियो । चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बोहोराको बिहीबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक हेटौंडा–६, हात्तिलेटका ४२ वर्षीय बिदुर सापकोटा फरार रहेकोमा बिहीबार दिउँसो प्रहरीकाे सम्पर्कमा आएकाे बताइएकाे छ ।
मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले एकै मञ्चमा ११ जना व्यक्तित्वलाई सम्मान गर्ने भएकाे छ । गत वर्ष स्थापना गरेकाे तथा विगत वर्षदेखि नै प्रदान गर्दै आएका समेत गरी विविध विधाका ११ जना व्यक्तित्वलाई हेटौंडामा प्रतिष्ठानले सम्मानित गर्ने भएकाे हाे ।
प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरी २०८० सालमा राष्ट्रिय स्तरमा ४ वटा फरकफरक विधामा पुरस्कारहरू स्थापना गरेकोमा उक्त पुरस्कारहरु २०८१ सालबाट प्रदान गर्ने जानकारी दिएकाे हाे । यसैगरी विगत वर्षबाट प्रदान गर्दै आएकाे विविध विधाका ७ वटा पुरस्कार समेत प्रदान गरिने पत्रकार भेटघाटमा प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । ११ वटै विधाका पुरस्कार १७ फागुन शनिबार हेटाैंडामा एक कार्यक्रमकाे आयोजना गरी प्रदान गरिने बताइएकाे छ ।
यस वर्षबाट बाट प्रदान गर्न लागिएकाे भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार माया ठकुरी (काठमाडौं) सम्मानित हुने भएकी छिन् । यसै गरी भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार, २०८१ बाट गायक हेमन्त शर्मा (रुपन्देही), भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८१ बाट कलाकार भोलाराज सापकोटा (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८१ बाट पत्रकार ठाकुर बेल्वासे (काठमाडौं) सम्मानित हुने भएका छन् ।
उल्लेखित पुरस्कारकाे राशी जनही २५/२५ हजार रुपैंया रहेकाे छ । वरिष्ठ कलासाधक भीम विराग सक्रिय रहेकाे साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले उल्लेखित पुरस्कार गत वर्ष स्थापना गरेको श्रेष्ठले बताए ।
यस्तै प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई प्रदान गर्दै आइरहेका विभिन्न ७ वटा पुरस्कार तथा सम्मान समेत शनिबार प्रदान गर्ने भएकाे छ । तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८१ महिला उद्यमी शोभा श्रेष्ठ (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्यले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ ।
यसैगरी भीम – मथुरा बाल प्रतिभा पुरस्कार, २०८१ विद्यार्थी रितिका छत्कुली (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । विन्दुगोपाल गोर्खालीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ । शिला नारी पुरस्कार, २०८१ बाट महिला उद्यमी मेनका श्रेष्ठ (मकवानपुर) सम्मानित हुने भएकी छिन् । आशीष श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ ।
यस्तै रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, २०८१ बाट लाेक दोहाेरी गायक कुलेन्द्र विश्वकर्मा (पर्वत) सम्मानित हुने छन् । चुनु बानियाँले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी २० हजार रुपैंया रहेकाे छ । चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८१ बाट साहित्यकार दीपक गौतम मकवानपुर सम्मानित हुने भएका छन् । रामबहादुर पाख्रिनले स्थापना परेकाे उक्त पुरस्कारकाे राशी १५ हजार रुपैंया रहेकाे छ ।
मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८१ स्वास्थ्यकर्मी निर्मला ब्लोन (मकवानपुर) लाई प्रदान गरिने भएकाे छ । देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ । अजित सेन- कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार, २०८१ बाट दृष्टीविहीन मेकानिक सुदर्शन ढकाल (मकवानपुर) सम्मानित हुने भएका छन् । रोशन सेन गुप्ता स्थापना गरेकाे उक्त पुरस्कारकाे राशी १० हजार रुपैंया रहेकाे छ ।
उल्लेखित पुरस्कार तथा सम्मान कार्यक्रमकै दिन शनिबार प्रतिष्ठानको कोष वृद्धिको उद्देश्यले गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति सहितको साङ्गीतिक कार्यक्रम समेत रहने प्रतिष्ठान महासचिव छवि अनित्यले जानकारी दिए । वरिष्ठ कलासाधक भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरुप ७ भाद्र २०५९ भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल स्थापना भएकाे हाे ।
नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा देश तथा विदेशमा रही उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान गर्दै आइरहेको उनले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा क्याम्पसले ३५ औँ स्थापना दिवस मनाएको छ । हेटौंडा उपमहा नगरपालिका वडा नम्बर ४ मा रहेको क्याम्पसले साताव्यापी कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
क्याम्पसले ३५ औँ स्थापना दिवसका अवसरमा भएको अतिरिक्त क्रियाकलाप सप्ताहका विजयीलाई मङ्गलबार एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरेको हो । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताए ।
प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग गरिने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा हेटौंडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले हेटौंडा क्याम्पसको जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान रहेको बताए । प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि आवश्यक भएको उनले बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ १ नम्बरमा नाम सिफारिस भएका क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान गरिएको थियो ।
क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टन लागयतका प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा भएकाे सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले हात पारेका छ । । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि पोल्टामा पारेकाे हाे ।
सोमबार भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १-० गोलले पाखा लगाउँदै चर्च ब्वाइजले उपाधि जीतेकाे हो । बागमती गाउँपालिका–४, झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएकाे फाइनल उपाधि जीतसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाउँदै मछिन्द्रले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।
चर्च ब्वाइजलाई उपाधि दिलाउन खेलको ४७ मिनेटमा समीर तामाङ गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै चर्चब्वाइज फाइनलमा प्रवेश गरेको थियो । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ गोलले हराउँदै साविक विजेता मछिन्द्रले फाइनल चर्चब्याइजसँग भेट पक्का गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रकै रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
गाउँपालिकाकाे खेलकुद विकास समितिको आयोजनामा भएकाे प्रतियोगितामा ७ वटा विभागीय क्लब तथा ३ वटा मोफसलका क्लबकाे सहभागिता रहेकाे थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेका छ ।
आइतबार मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेस्थित चेकपोष्टबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने ९ मिलिमिटरको ३ राउण्ड गोलीसहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सिहुहर जिल्ला धनहरा ग्रामका २२ वर्षीय धिरज कुमार र बिहार मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपक कुमार रहेका छन् ।
रौतहटको गौरबाट चितवनतर्फ जान आउँदै गरेकेा गरेको ना. ८ ख ८७७३ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा धिरज र दीपकको साथबाट एक राउण्ड गोली लोड भएकोे अटो पेस्तोल, थप २ थान गोली गरी ३ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । उनीहरुलाई हातहतियार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।