मकवानपुर । लघु, घरेलु तथा साना उद्योगहरू देशको अर्थतन्त्रको बलियो जग भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ । नेपालको लघु, घरेलु तथा साना उद्योगहरूको प्रबर्द्धन र संरक्षणका लागि समर्पित राष्ट्रिय स्तरको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कैलाली जिल्लाको २३ ओँ बार्षिक साधारणसभा एवं ११ औं जिल्ला सम्मेलनमा बोल्नु हुँदै बुधबार उहाँले यस्ताे बताउनु भएकाे हाे ।
स्थानीय स्रोत साधन र कच्चा पदार्थको प्रयोग, कृषि र उद्यमको परस्पर निर्भरता, स्वरोजगार तथा रोजगारी सिर्जनामार्फत् गरीबी निवारण र आत्मनिर्भरतालाई साना तथा घरेलु उद्योगले बढावा दिएको उहाँले बताउनु भयाे । कृषि क्षेत्रले ग्रहण गर्न नसक्ने जनशक्ति साना उद्योगमा प्रयोग गर्न सकिने उहाँले बताउनु भयाे ।
जब औद्योगिक विकासको कुरा आउँछ, ठुला र मझौला उद्योगको प्रबर्द्धनमा जोड दिनुपर्ने उहाँले बताउनु भयाे । नेपाल जस्तो विकासोन्मुख देशमा ठुला उद्योगको दाँजोमा साना तथा घरेलु उद्योग नै प्रभावकारी रहेकाे उहाँले बताउनु भयाे । वैदेशिक रोजगारीमा गएका नेपाली विविध कारणले देश फिर्ता आउनुपर्ने समय अहिलेको विश्व परिस्थिति हेर्दा अनुमान गर्न सकिने उहाँले बताउनु भयाे ।
‘अग्ला हिमाल चढ्नुपूर्व साना /साना हिमाल आरोहण अनिवार्य भए जस्तै औद्योगिक छलाङ्ग मार्न साना तथा घरेलु उद्योग विकासमा जोड दिनुपर्दछ’ उहाँले भन्नुभयाे । साना तथा घरेलु उद्योग स्थापना र बिस्तारमा थुप्रै चुनौतिहरू बिद्यमान रहेकाे उहाँले बताउनु भयाे । पूंजी, कच्चापदार्थ, प्रविधि, दक्ष जनशक्ति, बजारीकरण र नीतिगत तहका समस्याहरूसङ्ग जुझ्नुपर्ने उनले बताए ।
‘स्टार्टअप र निरन्तरता अथवा टिकाउ दुबै पक्षमा विभिन्न अवरोधहरू आउँछन् तर सरकार वा कमजोर नीति नियम भन्दै दोष थुपारेर बस्नुहुदैन’ उहाँले भन्नुभयाे । व्यवसायिक यात्रा निकै चुनौतीपूर्ण हुने तर आत्तिन नहुने उहाँले सुझाव दिनुभयाे । उत्पादीत वस्तुमा सुपथ मूल्य र गुणस्तर कायम गर्न सक्नुपर्ने उहाँले बताउनु भयाे ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोईनसहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका ८ र हेटौंडा १० बाट एकैदिन प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।
हेटौंडा ८ ओमनगरस्थित रनिश थापाको घरबाट लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मंगलबार ३७ वर्षीय रनिशसहित ३५ वर्षीय सुनिल खड्गी र हेटौंडा–१५ का ३२ वर्षीय धन सिंह वाईबालाई नियन्त्रणमा दिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुको साथबाट २ ग्राम २९० मिलि ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरेको थियो ।
यस्तै हेटौंडा–१०, न्युरेनीस्थित हुम बहादुर थापा मगरको घरबाट लागूऔषध खैरो हेरोईन कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार नै ४३ वर्षीय हुम बहादुर हेटौंडा–२ चौकीटोलका २४ वर्षीय बिजय आले मगर तथा हेटौंडा–१८ का २० वर्षीय रविन सुनारलाई नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरीले उनिहरुको साथबाट १ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरेको जनाएको छ । लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चितवन । चितवनको भरतपुरमा ‘गजलसँग’ कार्यक्रमको १० औँ शृङ्खला आयोजना हुने भएको छ । नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले गजल मञ्च चितवनले ‘गजलसँग’ कार्यक्रमको १०औँ शृङ्खला आयोजना गर्ने भएको हो ।
आगामी ९ चैत शनिबार हुने उक्त कार्यक्रम गजल मञ्च चितवनले यस अघि ९ औँ शृङ्खला आयोजना गरिसकेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उनका अनुसार कार्यक्रम भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।
यसपटकको शृङ्खलामा विभिन्न स्थानबाट स्थापित र उदाउँदा गजलकारहरूको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा गुल्मीका प्राञ्जल, मकवानपुर हेटौंडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशी गजल प्रस्तुत गर्ने उनले बताए । कार्यक्रमबाट नेपाली गजल साधना र श्रवण संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । अनायासका अनुसार गजल मञ्च चितवनले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ ।
साहित्यप्रेमी, गजल अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा उपस्थित भई गजलको भाव र सौन्दर्यमा रमाउन अध्यक्ष अनायासले सबैलाई आग्रह समेत गरेका छन् । गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई एकत्रित गर्ने काम गर्दै आएको बताइएको छ ।
मकवानपुर । महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको मार्गमा अघि बढाउन ३९० घण्टाको आधारभूत ब्युटिपार्लर तालिम सुरू गरिएको छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु गरिएको हो । स्थानीय महिलाहरूलाई सौन्दर्य व्यवसायमा नयाँ अवसरको लक्ष्यसाथ तालिम गरिएको मन्त्रालयले जनाएको छ ।
सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट १३६ जना इच्छुक महिलामध्येबाट २० जना सहभागीहरू छनोट भएका छन्।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले तालिमको उद्घाटन गर्दै प्राकृतिक सौन्दर्य सामग्रीहरूको प्रयोगद्वारा सौन्दर्य व्यवसायलाई अझ व्यावसायिक बनाउन यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।
“महिलाहरू आफ्नै ठाउँमा सीप सिकेर आत्मनिर्भर बनून् भन्ने हाम्रो चाहना हो,” प्रमुख लामाले भनिन्।
प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) का प्रमुख एवम् कार्यक्रमको विशिष्ट अतिथि शान्ति लामाले पनि महिलाहरूलाई आफ्नै ठाउँमा सीप सिकेर स्वरोजगार बन्ने अवसरलाई गुम्न नदिन आग्रह गरिन्।
तालिमका प्रशिक्षकहरू सुमित्रा मुडवरी र लक्ष्मी लामालगायले सौन्दर्य सेवा व्यवसायमा आवश्यक सीप र प्रविधिको प्रशिक्षण दिनेछन्। कार्यक्रम संयोजक मेनका श्रेष्ठले ६०/४० आर्थिक साझेदारीमा सञ्चालित यस तालिमले स्थानीय महिलाहरूलाई सीपमूलक उद्यमतर्फ उन्मुख गराउने बताइन्।
सूर्यमणि प्राविधिक शिक्षालयका प्रमुख श्याम कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उद्योग शाखा प्रमुख महेन्द्र चापागाई, हेटौंडा उपमहानगरपालिकाको गरिमा सिग्देलले सहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्वरोजगार र आत्मनिर्भरता निर्माणको मार्गमा अग्रसर भएको यो तालिम स्थानीय महिलाहरूका लागि उज्यालो भविष्यको आधारशिला बन्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताइन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मतदान भइरहेकाे छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
मकवानपुरको हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा–४ स्थित हेटौंडा क्याम्पस, हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पस थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन हुँदैछ । बंशगोपाल र मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेकाे छ ।
मतदानका तस्विरहरुः


