चितवन । चितवनको भरतपुरमा ‘गजलसँग’ कार्यक्रमको १० औँ शृङ्खला आयोजना हुने भएको छ । नेपाली गजलको प्रवर्द्धन गर्ने तथा सर्जकहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले गजल मञ्च चितवनले ‘गजलसँग’ कार्यक्रमको १०औँ शृङ्खला आयोजना गर्ने भएको हो ।
आगामी ९ चैत शनिबार हुने उक्त कार्यक्रम गजल मञ्च चितवनले यस अघि ९ औँ शृङ्खला आयोजना गरिसकेको मञ्च अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । उनका अनुसार कार्यक्रम भरतपुर- ८ शरदपुरस्थित होटल काव्या इनमा आयोजना गरिनेछ ।
यसपटकको शृङ्खलामा विभिन्न स्थानबाट स्थापित र उदाउँदा गजलकारहरूको विशेष प्रस्तुति रहने भएको छ । कार्यक्रममा गुल्मीका प्राञ्जल, मकवानपुर हेटौंडाका सागर तिमिल्सिना, जाजरकोटका प्रकाश किरण र चितवनकी सरला जोशी गजल प्रस्तुत गर्ने उनले बताए । कार्यक्रमबाट नेपाली गजल साधना र श्रवण संस्कृतिलाई अझ प्रवर्द्धन गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । अनायासका अनुसार गजल मञ्च चितवनले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनेछ ।
साहित्यप्रेमी, गजल अनुरागी तथा सर्जकहरूलाई कार्यक्रममा उपस्थित भई गजलको भाव र सौन्दर्यमा रमाउन अध्यक्ष अनायासले सबैलाई आग्रह समेत गरेका छन् । गजल मञ्च चितवनले लामो समयदेखि गजल साधकहरूलाई एकत्रित गर्ने काम गर्दै आएको बताइएको छ ।

