कपिलवस्तु । कपिलवस्तुमा रहेकाे साहित्य तीर्थ कपिलधाममा प्रा.डा. विष्णुराज आत्रेय (लाटोसाथी), पं. रश्मिराज अर्ज्याल तथा हिमलाल ज्ञवालीको प्रतिमा अनावरण गरिएकाे छ ।
नेपालका दर्जनौं साहित्यकारहरूको प्रतिमा राखिएको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाममा नेपाली संस्कृत एवम् अवधि वाङ्मयका विद्वान प्राज्ञ प्रा.डा. विष्णुराज आत्रेय तथा साहित्यकार एवम् समाजसेवी हिमलाल ज्ञवाली र विद्वद्वर पण्डित रश्मिराज अर्ज्यालको प्रतिमा शनिबार अनावरण गरिएकाे हाे । नेपाल सरकारका पूर्व परराष्ट मन्त्री तथा साहित्यकार प्रदिपकुमार ज्ञवाली (शीतविन्दु) र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा प्रतिमा अनावरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञवाली, विशिष्ट अतिथि मुख्यमन्त्री आचार्य, प्राज्ञ मधुसुदन गिरी, प्राज्ञ बाबा बस्नेत, ऋषि आजाद, पोमनारायण पौडेल, विष्णु भण्डारी, पार्वती शर्मा, अलका आत्रेय चूडाल र सिर्जना ज्ञवाली लगायतले विष्णुराज आत्रेय र हिमलाल ज्ञवालीको व्यक्तित्व, कृतित्वकाे चर्चा गरेका थिए ।
साेही अवसरमा बमबहादुर थारु, दुर्गा थापा मगरलाई स्रष्टा सम्मान अर्पण गरिएको थियो । यस्तै टङ्कप्रसाद पराजुलीलाई “पाणिनीय व्याकरणे विष्णुराज आत्रेयस्य योगदानम्” शीर्षकको आचार्यस्तरको शोधपत्रका लागि प्रा.डा. विष्णुराज आत्रेय (लाटो साथी) अध्ययन-अनुसन्धान पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेको कविता सङ्ग्रह ‘लेखनी’ प्रीति आत्रेय ज्ञवालीको स्मृतिकाव्य ‘लाटो साथी’ तथा डा. अलङ्कार आत्रेयद्वारा लिखित लघुकथा सङ्ग्रह ‘अनवरत प्रेम’ तथा कपिलधामको संक्षिप्त परिचय पुस्तिकाको पनि लोकार्पण गरिएको थियो । न्यौपाने र ज्ञवाली दिदीबहिनी र अलंकार भाइ हुन् ।
कार्यक्रम प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठान तथा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानको संयुक्त आयोजना कार्यक्रम भएको हाे ।
मकवानपुर । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य प्रारम्भ गरेकाे छ । अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा आयोगले अनुरोध गरेको छ ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक गर्न लागिएकाे आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको उनले बताइन् ।
नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न सकिने समेत आयोगले जनाएकाे छ । आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए दिन सकिने छ ।
त्यसैगरी एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट https://election.gov.np मा प्रकाशन भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने बताइएकाे छ । यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने पनि आयोगले स्पष्ट पारेको छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ ।
दुर्घटना भएको बसका चालक बारा जिल्ला कोल्हबी नगरपालिका–११ बस्ने २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको स्टेरिङ लक भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । घाइतेको विवरण तथा बसमा रहेको यात्रुको संख्या यकिन हुन सकेको छैन ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ३ रुपैयाँ घटाएको हो ।
३ वैशाख बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।भारतबाट इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५९ रुपैयाँ र तेस्रो वर्गका लागि १६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्ग कायम गरेको छ ।