जेनजी आन्दोलनका नाममा भएको अपराधिक गतिविधिमा संगल्नलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई धेरै सकस छ । ति दिनहरुमा देशभर घटेका गतिविधिहरूले केवल राजनीतिक असन्तोषको रुप मात्र देखाएका छैनन्, यसले कानून र सुरक्षाको आधारभूत मूल्यमा नै प्रश्न उठाएको छ। आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर जब त्यो अधिकार तोडफोड, आगजनी, जनधनको क्षति र आम नागरिकमा त्रास उत्पन्न गर्ने दिशातर्फ मोडिन्छ ।
त्यो स्वतन्त्र अभिव्यक्तिको अभ्यास होइन स्पष्ट रूपमा अपराधको स्वरूप लिन्छ। तर विडम्बना, यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू अझैसम्म नियन्त्रणमा आएका छैनन्। प्रहरी प्रशासनको ढिलासुस्ती, अनिर्णायकता र मौनताले नागरिकमा गम्भीर आशंका उत्पन्न गरेको छ। आखिर किन प्रहरी निष्क्रिय छ ? के राजनीतिक दबाबका कारण कानुनी प्रक्रिया अवरुद्ध भइरहेको हो ? कि प्रहरीभित्रकै समन्वयहीनता र इच्छाशक्तिको कमीले कारबाही सम्भव हुन सकेको छैन ?
कानूनको शासनमा बस्ने समाजमा कुनै पनि व्यक्ति वा समूह कानूनभन्दा माथि हुन सक्दैन। आन्दोलनका नाममा जथाभावी हिंसा फैलाउने र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरूलाई उन्मुक्त राख्नु भनेको कानुनी शासनको धज्जी उडाउनु हो। प्रहरी प्रशासनले यस्ता घटनापछि तुरुन्तै अपराधी पहिचान, प्रमाण सङ्कलन र पक्राउ प्रक्रिया अघि बढाउनुपर्ने थियो।
प्रहरी संस्थामाथि जनताको विश्वास तब मात्र रहन्छ जब त्यसले निष्पक्षता र जवाफदेहिताको परिचय दिन्छ। अपराधको स्वरूप जुनसुकै होस्, अपराधी जोसुकै होस् कारबाही समान हुनुपर्छ। कुनै राजनीतिक वा प्रशासनिक दबाबका कारण प्रहरी कमजोर देखियो भने त्यसले केवल आजको होइन, भोलिको कानुनी व्यवस्था पनि कमजोर बनाउँछ। राज्यको स्थायित्व, जनविश्वास र कानूनी शासनको प्रतिष्ठा प्रहरीको हातमा छ।अपराधी उन्मुक्त रहे भने जनतामा असुरक्षा र प्रणालीप्रतिको विश्वासको संकट गहिरिंदै जानेछ। मकवानपुर प्रहरीले बुधबार ५ जनालाई नियन्त्रणमा लिएको छ, अब यो कामले निरन्तरता पाओस्, प्रहरीमाथि गौरव गर्न सकियोस् । दबाब र प्रभावमा कारवाही प्रकृया फितलो नहोस् ।
मकवानपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली सडकखण्डको हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ ।
मंगलबार हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले पैदलयात्री ७१ वर्षीय खडक बहादुर घलानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते घलानको उपचारको क्रममा राती ७ बजेर ४५ मिनेटको समयमा हेटौंडास्थित चुरेहिल हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक देवराज विक र मोटरसाइकलमा सवार २० वर्षीय देवराज धानुकी सामान्य घाइते भएका थिए । प्रहरीले मोटरसाइकल चालक बकैया गाउँपालिका–७ का २५ वर्षीय विकलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले उनकाे नाम मधेसको प्रदेश प्रमुखमा नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई गरेकाे नियुक्त र शपथ विवादमा परेपछी उनलाई पदमुक्त गरि लाभलाई नियुक्त गर्न सिफारिस गरिएको हो ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा यात्रुवाहक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त स्थानमा जनकपुरबाट काठमाडौँ जान आइरहेको बा प्र ०३-००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका-८ का ३७ वर्षीय रामबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका-६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरबाट विभिन्न समयमा पार्टी छोडेर गएकाहरुलाई आफ्नो मुल पार्टी फर्कन एमाले मकवानपुरले अपिल गरेको छ ।
पार्टीले अपिल पत्र सार्वजनिक गर्दै भनेको छ “विद्यमान परिस्थितीमा तपाईहरुको योगदानको निरन्तरता, राजनैतिक कृयाशिलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा एमाले नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।”
नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले हामीलाई गर्वबोधको अनुभुती भएको उल्लेख गदै पार्टी उपाध्यक्ष हिदम लामाद्धारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ “भाद्र २३ र २४ गतेको जेन जी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि एमालेको पार्टी कार्यालय र एमाले नेतृत्वको निवासलाई प्रहारको निशाना बनाएको देखिन्छ ।
नेकपा एमालेलाई कमजोर बनाउदा मात्र नेपालको राष्ट्रिय स्वाधिनताको पक्षलाई धक्का दिन सकिन्छ र समृद्धिका सपनाहरुलाई मुर्छित गर्न सकिन्छ भन्ने देशी विदेशी शक्तिहरुको सोच छर्लङग देखिएको अपिल पत्रमा दाबि गरिएको छ।
यो समय राष्ट्रिय राजनितीमा नयाँ तरङ्गहरु देखा परेको र दलहरुमा गठन पुनर्गठन र विघटनका श्रृङखलाहरु सुरु भएको उल्लेख गरिएको छ ।
अपिल पत्रमा भनिएको छ “हिजो नेकपा एमालेमा आवद्ध भई लामो समय यो पार्टी निर्माणमा रगत पसिना बगाउनु भएका कमरेडहरु मकवानपुरमा पनि पार्टी विभाजनको क्रममा एकिकृत समाजवादीमा आवद्ध हुनु भएको थियो तसर्थ, एकिकृत समाजवादीमा आवद्ध मकवानपुरका सम्पूर्ण कमरेडहरुलाई नेकपा एमाले मकवानपुर आफ्नै घर फर्कन हार्दिक आह्वान गर्दछ ।”