मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आज शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरिन्।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंकले जनाएको छ ।
‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भने– ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।
किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।
मकवानपुर । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ । घटेको मूल्य विहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति मार्फत जनाएका छन् ।
करिब २८ वर्षअघि भारतको उत्तर प्रदेशमा रहेको बाबरी मस्जिद भत्काउन भूमिका खेलेको आरोपमा ४८ जनामाथि मुद्दा चलाइएकोमा उक्त मुद्दाकाे आज टुंगाे लागेकाे छ । २८ वर्षसम्म टुंगो नलागेको मुद्दाको फैसला आज गरिएको छ। भारतको सर्वोच्च अदालतले आज आडवाणीसहित ३२ जना आरोपीहरुलाई सफाइ दिएको छ।
हिन्दुवादी संगठनले तोडफोड गरी मन्दिर भत्काएको आरोपमा भाजपाका नेताहरुमाथि मुद्दा चलाइयो थियाे। हिन्दुवादी युवाहहरुले मस्जिदको माथिल्लो ढाँचामा टेकेरै मस्जिद भत्काएकाे आराेप लागेकाे थियाे। मस्जिद बनेको स्थानमा राम मन्दिर रहेको दाबी हिन्दुवादी संगठनले गर्दै आएकाे छ ।
भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघले उक्त स्थानमा मन्दिर रहेको दाबीसहित आन्दोलन गरेको थियो। मन्दिर बनाउन पर्ने मागसहित गरिएको आन्दोलनको नेतृत्व गरेका लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी लगायतविरुद्ध मुद्दा चलाइयाे । गत नोभेम्बरमा सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर नै रहेको फैसला सुनाएको थियो। त्यसपछि त्यहाँ गुरु योजना बनाएरै मन्दिर बनाउने काम सुरु भइसकेको छ। बाबरी मस्जिद विवादमा फैसला सुनाउने न्यायाधीश एसके यादवले आज नै अवकाश पाउँदै थिए। २ हजार पन्नाको फैसलामा उनले सबै आरोपीलाई निर्दोष घोषणा गरेका हुन्।
उनले आफ्नो फैसलामा मुद्दा चलाइएका कोहीविरुद्ध सीबीआइले प्रमाणहरु फेला नपरेको उल्लेख गरेका छन्। बाबरी मस्जिदमा भएको घटना अचानक भएको घटना भएको भन्दै अदालतले विवादित मस्जिद अज्ञात व्यक्तिहरुले भत्काएको उल्लेख गरिएको छ। अदालतले पत्रपत्रिकामा लेखिएको विषयलाई प्रमाण मान्न अस्वीकारसमेत गरेको छ।
अदालतले प्रमाणको रुपमा प्रस्तुत गरिएको अडियो टेप, भिडियो विश्वास गर्न लायक नभएको उल्लेख गरिएको छ। अदालतमा प्रस्तुत गरिएका अधिकांश तस्विरहरुको नेगेटिभ प्रस्तुत नगरिएकोले त्यसलाई पनि प्रमाण मान्न नसक्ने अदालतले फैसला गरेको छ। एजेन्सी
सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै आईपीएल क्रिकेटमा जीतको खाता खोलेको छ ।
हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।
राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो ।
१० ओभरमा दिल्लीले जम्मा ५४ रन बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए ।
अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरान हेटमायरले साथ दिएका थिए । उनले पनि १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गर्यो ।
हेटमायर आउट भएपछि क्रिजमा आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा स्टोइनिसलाई आउट गरे । स्टोइनिसले केबल ११ रन बनाउन सके ।
अन्तिम दुई ओभरमा दिल्लीलाई अब ३७ रन आवश्यक थियो तर नौ रन मात्र बटुल्न सक्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार पारेको थियो । हैदरावादका कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले सुरुमा सम्हालिएर खेले । पहिलो पाँच ओभरमा केबल २४ रन बन्यो । बेयरस्टोले अमित मिश्राको बलमा छक्का प्रहार गरे ।
छैटौं ओभरमा एनरिज नोर्जेको बलमा एक छक्का र एक चौका प्रहार गरेर वार्नरले रन बटुल्ने संकेत गरे । यस ओभरमा हैदरावादको स्कोर ५० रन नाघ्यो ।
नवौं ओभरमा वार्नरले एक छक्का प्रहार गरे । तर यसै ओभरको तेस्रो बलमा वार्नर आउट भए । आउट हुनुअघि उनले ३३ बलमा ४५ रन जोडेका थिए । अमित मिश्राले फेरि मनिष पाण्डेलाई कागिसो रबाडाबाट क्याचआउट गराए । पाण्डेले ३ रन मात्र बनाउन सके ।
चौथो नम्बरमा ब्याटिङमा आएका विलियम्सनले १६ औं ओभरमा नोर्जेको बलमा लगातार दुई चौका प्रहार गरे । १७ औं ओभरमा उनले मार्कस स्टोइनिसको बलमा पनि लगातार दुई चौका हाने ।
१८ औं ओभरको पहिलो बलमा बेयरस्टोले दुई रन बटुलेर आफ्नो अर्धशतक पूरा गरे । पाँचौं बलमा भने रबाडाले उनलाई पेभेलियनको बाटो देखाइदिए । ४८ बल सामना गरेका बेयरस्टोले दुई चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । केन विलियम्सनले २० औं ओभरमा ४१ रन बनाएर रबाडाको शिकार बने । २६ बलमा उनले पाँच चौका हाने । अब्दुल समद ७ बलमा १२ रन बनाएर नटआउट रहे ।
दिल्लीका सबैभन्दा कम रन दिने बलर रबाडा रहे । उनले चार ओभरमा केबल २१ रन खर्चिएर दुई विकेट पनि लिए । अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए ।
मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले गत असोज ११ गतेबाट आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।
मंगलबार कार्यालय समयसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ।