मकवानपुर । आगामी ५ दिनसम्म देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने भएकाे छ । ५ दिनसम्म देशकाे हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी ५ दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
महाशाखाले आगामी तीन दिन र कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
हेटौंडामा १ जनाको झुन्डिएर मृत्यु, १ जना घाइते
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा १ जनाको झुन्डिएर मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । हेटौंडा –८ मा श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् भने श्रीमती घाइते अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान ४५ वर्षीय शंकर कार्की घरभित्र मृत अवस्थामा र उनकी श्रीमती चरिमाया कार्की (४० वर्षीय) घाइते अवस्थामा फेला परेका हुन्।
घरको ढोका भित्रबाट बन्द रहेको सूचना पाएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा ढोका फोडेर हेर्दा शंकर झुण्डिएको अवस्थामा र उनकी श्रीमती भान्सा कोठामा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घाइते चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवनतर्फ लगेको बताइएको छ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको श्रीपुरमा अटो दुर्घटना हुँदा एककोे मृत्यु भएको छ । मकवानपुर प्रहरी अनुसार दुर्घटनामा घाइते भएका १ जनाको। मृत्यु भएको हो भने अन्य २ जना घाइते भएका छन् ।
बुधबार दिउँसो भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटो बकैया–५ श्रीपुर स्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनका ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ बस्ने ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि घाइते दम्पतीलाई भरतपुर रिफर गरिएको थियो । भरतपुर लैजादै गर्दा बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएर हेटौंडा अस्पतालमा ल्याइएमा बुधबार बेलुका डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । मृत्तककी श्रीमति शान्तिमायाको भने हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
अटो चालक बकैया –४ बस्ने ५१ वर्षीय राम काजी माझी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको बताइएको छ ।
आज वडा दशैंको दोस्रो दिन अर्थात एकादशी । आज पनि मान्यजनबाट टीका र आर्शिवाद ग्रहण गरिदैछ । चाडपर्व नेपाली समाजको सांस्कृतिक पहिचान, पारिवारिक एकता र सामाजिक सद्भावका प्रतीक हुन्। दशैँ, तिहार, छठलगायतका पर्वले परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने अवसर प्रदान गर्छन्। तर, चाडपर्वको यही उल्लासका बीच जुवातास, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र लापरबाहीले निम्त्याउने दुर्घटनाले पर्वको खुसीलाई दुःखमा बदल्ने गरेका छन्। त्यसैले चाडपर्व मनाउँदा मनोरञ्जनसँगै जिम्मेवारी र सावधानीलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ।
मनोरञ्जनका रूपमा सुरु भएको खेल कतिपय अवस्थामा आर्थिक लेनदेन, हारजितको तनाव, पारिवारिक कलह र ऋणको बोझसम्म पुग्छ। छिट्टै धनी बन्ने लोभ र हारेको रकम फिर्ता पाउने आशाले मानिसलाई थप जोखिममा धकेल्छ। चाडपर्वको खुसीलाई पैसाको हारजितसँग जोड्नु दुखद हुन्छ । जुवातासबाट टाढा रहँदै परिवारसँग समय बिताउने, सांस्कृतिक गतिविधिमा सहभागी हुने र सामाजिक सद्भाव बढाउने कदमले खुसी बढाउँछ । जुवाजन्य गतिविधि नियन्त्रण गर्नु राज्यको दायित्व हो भने त्यसबाट टाढा रहनु नागरिकको पनि जिम्मेवारी हो।
अर्कोतर्फ, चाडपर्वमा सवारीसाधनको चाप बढ्ने भएकाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्छ। तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र लामो दूरीको यात्रा गर्दा पर्याप्त विश्राम नलिने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउँछ। केही मिनेट छिटो पुग्ने हतारले जीवनभरको पीडा निम्त्याउन सक्छ। चालकले गति नियन्त्रण गर्ने, हेल्मेट तथा सिटबेल्ट प्रयोग गर्ने, सवारीको अवस्था जाँच गर्ने र ट्राफिक नियम पालना गर्नुपर्छ। यात्रुले पनि चालकलाई नियम उल्लङघन गर्न दबाब दिनु हुँदैन।
सरकार, सुरक्षा निकाय र ट्राफिक प्रहरीले निगरानी, जनचेतना र प्रभावकारी नियम कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ। नागरिकले पनि आफ्नो व्यवहारमा जिम्मेवारी देखाउनुपर्छ। चाडपर्वको वास्तविक खुसी महँगो भोज, तडकभडक वा जुवाको हारजितमा होइन, सुरक्षित यात्रा, स्वस्थ परिवार र शान्तिपूर्ण समाजमा निहित छ। यसपालिको चाडपर्वलाई जुवातास तथा मदक पदार्थरहित, सडक अनुशासन पालना गर्ने पर्व बनाऔँ। आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। खुसी बाँडौँ, जोखिम घटाऔं ।