मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको श्रीपुरमा अटो दुर्घटना हुँदा एककोे मृत्यु भएको छ । मकवानपुर प्रहरी अनुसार दुर्घटनामा घाइते भएका १ जनाको। मृत्यु भएको हो भने अन्य २ जना घाइते भएका छन् ।
बुधबार दिउँसो भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटो बकैया–५ श्रीपुर स्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–५, भनौरका ४५ वर्षीय सन्तबहादुर माझी, उनका ४० वर्षीय श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ बस्ने ८ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि घाइते दम्पतीलाई भरतपुर रिफर गरिएको थियो । भरतपुर लैजादै गर्दा बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएर हेटौंडा अस्पतालमा ल्याइएमा बुधबार बेलुका डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । मृत्तककी श्रीमति शान्तिमायाको भने हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
अटो चालक बकैया –४ बस्ने ५१ वर्षीय राम काजी माझी जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको बताइएको छ ।

