मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाजमर्दो राजनीतिमा लागेको बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जाल लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका र केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ।
अध्यक्ष दाहालले एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली माथि उक्त अाराेप लगाएका थिए । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने ! लाजमर्दो राजनीति ‘ थापाले ट्वीटमा उल्लेख गरेका छन्।

मकवानपुर/पत्रकार महासंघ मकवानपुर शाखाले नेपालमै पहिलो पटक पत्रकारलाई पेन्सन प्रदान गरेको छ । सोमबार हेटौंडामा औपचारिक कार्यक्रम गर्दै पत्रकार महासंघ मकवानपुरले पेन्सन वितरण गरेको हो ।
महसंघले जेष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ पेन्सन वितरण सुरु गरेको हो । २० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमगाईले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष समेत रहेका जेष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा पत्रकार महासंघले पेन्सन कोष स्थापना गरेको छ । मेयर महतले कोषमा आगामी वर्षै फेरी बजेट थप गर्ने बताए । महासंघको संस्थागत कामका लागि उपमहानगर तयार रहेको मेयर महतले बताए । नगद रकम दिनका लागि केही कठिनाइ भएपनि फेरी पनि कोष बृद्वीका लागि सहयोग गरिने उनले बताए ।
करिव ४० वर्षसम्म पत्रकारिता गरेर निवृत जिवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैया पेन्सन वापत वितरण गरिएको हो । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताए ।
पत्रकार महासंघ मकवानपुर साखाले बाणिज्य बैकमा यसअघिनै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले बताए । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।
महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको बताए । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको बताए ।
राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताए ।
जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यबिधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्व अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर साखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।
पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, साठी वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने छ । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्घ सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने छ ।
कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकास दाहाल, प्रेस सेन्टर बागमती प्रदेशका संयोजक सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका संयोजक धर्मेन्द्र दाहाललगायतकाको सहभागिता रहेको थियो ।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो । कर्मचारी शर्माको बिद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमा बापतको रकम हस्तान्तरण गरेका छन् । रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिइन् ।
मेगा बैकमा न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।
यसैगरी, कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरेका छन् ।
काठमाडाैं/ सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।
मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर मास्ककाे अनिवार्य र उचित प्रयाेग गर्न तथा साबुन पानी राम्राेसँग हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्न आग्रह गरेकाे छ ।
‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी काेभिड–१९ काे सङ्क्रमण राेकथाममा सहयाेग गर्न सराेकारवाला सबैमा अनुराेध छ’, विज्ञप्तमा भनिएकाे छ ।

(उज्यालाेबाट )

