विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्नेक्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७-७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र पुँजीगत (विकास) खर्च गरेको छ ।
यो चालू आवका लागि कुल विनियोजित बजेटको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र विकास खर्च हो । सरकारको यस्तो कमजोर कार्यशैलीअनुसार आर्थिक वर्ष समाप्ति हुने अबको १७ दिनमा कुल विनियोजित बजेटको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि कोरोना महामारीले समयमा काम नसकिएको बहाना बनाउँदै आएको सरकारले आगामी १७ दिनभित्र कुल विनियोजित विकास बजेटको लक्ष्य भेटाउन अझै ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्तिको अन्तिम महिना असारे वर्षा र भेल बाढीको कुनै प्रवाह नगरी विकासे खर्चको दबाबमा परेको सरकारले हाल दैनिक अर्बौं रुपैयाँ बजेट हतारमा कमसल काम गरेर वर्षाको भेलसँगै त्यसै बगाइरहेको छ ।
चालू आवको अन्त्यतिर आएर हतारमा ह्वात्तै खर्च बढाउन कसिएको सरकारले अहिले १३ असारको दिन आइतबार एकदिनमा मात्र १७ अर्ब १ करोड ५० लाख रुपैयाँ विकास खर्च गरेको छ । गत १२ असारको दिन शनिबारसम्म जम्मा १ खर्ब ५६ अर्ब ६६ करोड ११ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको सरकारले आइतबार एकदिनमै १७ अर्ब १ करोड ५० लाख रुपैयाँको विकास खर्च सिध्याएर १३ असारसम्म १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पु¥याएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
– चालू आवको अन्त्यतिर आएर हतारमा ह्वात्तै खर्च बढाउने पुरानै प्रवृत्ति कायमै
– आइतबार एक दिनमै १७ अर्ब १ करोड ५० लाख रुपैयाँको विकास खर्च सकाइयो
– चालू आवका लागि कुल विनियोजित पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ
– अहिलेसम्म जम्मा १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र खर्च
आर्थिक वर्ष समाप्तिको अन्तिम समयमा आएर हतारमा विकास खर्च बढाउन हाल दैनिक अबौं रुपैयाँ पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको अन्तिम महिना असार लागे यताको दुई साताको अवधिमा पुँजीगत (विकास ) खर्च २९ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ भएको छ । हालसम्म चालू आवका लागि विनियोजित कुल पुँजीगत खर्च लक्ष्यको जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्रै खर्च भएको छ ।
चालू आवका लागि सरकारले कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ अनुमानित पुँजीगत खर्च विनियोजन गरेको छ । सो पुँजीगत खर्चमध्ये अहिलेसम्म जम्मा ४४ दशमलव ८८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न आगामी १७ दिनभित्रमा ५५ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ ।
यो लक्ष्य भेट्टाउन अझै सरकारले दैनिक अर्बाैं रुपैयाँ विकास खर्च असारे भेलमा बगाउँदै छ । अन्तिम समयमा आएर जसरी पनि काम सम्पन्न गर्नुपर्ने चापमा परेको सरकारले विकास बजेट खर्च गर्न उही पुरानै परम्परागत शैली अपनाइरहेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यसरी असारे वर्षासँगै हतारमा गरिएको विकास निर्माणको काम टिकाउपूर्ण नहुने भएकाले मुलुकको ढुकुटी रित्याउने काम मात्र भइरहेको दाबी गर्दै आएका छन् ।
नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत १६ वैशाखदेखि जारी भएको निषेधाज्ञाको असर मुलुकको विकास खर्चमा मात्र नभएर अहिले सम्पूर्ण क्षेत्रमा नराम्रोसँग देखिएको छ ।
यस्तो अवस्थामा विनियोजित बजेटको चालू खर्च भने ७७.३९ प्रतिशत खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षको संघीय बजेटमा पुँजीगत शीर्षकमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । जसमा अहिलेसम्म जम्मा १ खर्ब ५८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ । अबको बाँकी १७ दिनमा १ खर्ब ९४ अर्ब ५४ करोड १४ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । यो लक्ष्य भेटाउन अझै दैनिक न्यूनतम ११ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ खर्च गर्नुपर्नेहुन्छ ।
आइतबारसम्म ९ खर्ब ६७ अर्ब २ करोड ६६ लाख रुपैयाँ कुल बजेट खर्च भएको छ । यसमा चालू बजेट खर्च धेरै छ । सरकारले चालू आर्थिक वर्षका लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । विनियोजित बजेट खर्च गर्ने तरिकामा समेत कमजोर साबित हुँदै आएको सरकारले यो वर्ष पनि अनेक बहाना मात्र बनाएर विनियोजित बजेटको लक्ष्य भेट्न नसक्ने देखिएको छ ।
समयमै सकिएको कामको भुक्तानी असारमा धेरै गरिने हुनाले अन्तिम महिनामा आएर धेरै बजेट खर्च भएको देखिने सरकारको दाबी छ । यस्तो अवस्थामा अर्थविद्हरू भने आर्थिक वर्षको अन्तिममा आएर हतारमा बजेट सकाउन गरिने गुणस्तरहीन काम टिकाउ नहुने भएकाले आर्थिक वर्षको अन्तिममा खर्च हुने परम्परा रोक्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरूले अन्तिममा आएर हतारमा हुने विकासका काम गर्ने पुरानो शैलीमा परिवर्तन गर्नकै लागि अहिलेको नयाँ संवैधानिक व्यवस्थाअनुसार अनिवार्य १५ जेठमै आगामी आवको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानविपरीत सरकारले पुरानै किसिमले काम गर्नु गलत भएको बताएका छन् । उनीहरूले नयाँ प्रावधान भए पनि अझै मुलुकको विकास खर्चमा गर्ने तरिकामा पुरानै निरन्तरता कायम रहनुमा सरकार नै जिम्मेवार नभएको बताएका छन् । राजधानी दैनिकबाट साभार
मकवानपुर । मकवानपुर जिल्लाभित्र कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि २०७८ साल असार १४ गते राती १२ः०० बजेसम्म निषेधाज्ञा कायम गरिएकोमा पुनः एक साता थप गरिएकाे छ ।
जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मिति असार १४ गते साेमबार सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई मिति २०७८ साल असार १४ गते सोमबार राती १२ः०० बजेदेखि मिति २०७८ साल असार २१ गते सोमबार राती १२ः०० बजेसम्म केही खुकुलाे गर्दै निषेधाज्ञा थप गरिएकाे छ ।
मकवानपुर जिल्लाभर निम्न बमोजिम हुने गरी परिमार्जन गरिएको छः
१. अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, नगराउने ।
२. पसल व्यवसायको सन्दर्भमा
२.१. औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्नुपर्ने,
२.२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ४ः०० बजेदेखि विहान १०ः०० बजेसम्म मात्र खोल्न पाइने,
२.३. पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने । तर, फुटपाथमा पसल राख्न नपाउने,
२.४. प्रेस तथा फोटोकपी पसलहरू र फोटो स्टुडियोहरू विहान १०:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र खोल्न पाइने,
२.५. रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म खोल्न पाइने,
२.६. पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने । उल्लेखित जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा उक्त पसल तथा व्यवसाय निषेधाज्ञा अवधिभरको लागि बन्द गरिनेछ ।
२.७. माथि उल्लेखित बाहेकका अन्य सबै प्रकारका पसल तथा व्यवसायहरू बन्द रहने ।
३. यातायात सञ्चालन सन्दर्भमा
३.१. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने,
३.२. निजी यात्रुबाहक सवारी साधनहरू ९मोटरसाइकल समेत० र मयुरी, अटो, ट्याम्पो (दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी) गते अनुसार जोड बिजोड प्रणालीका आधारमा सञ्चालन गर्न पाइने,
३.३. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलनरसम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन र आवतजावत गर्न दिइने,
३.४. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने,
३.५. औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १०ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने ।
४. अत्यावश्यक सरकारी सेवाहरू भिडभाड नहुने सुनिश्चितता गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्ने ।
५. बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी विहान १०ः०० बजेदेखि दिनको २ः०० बजेसम्म मात्र सञ्चालन गर्ने । वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने, गराउने कार्य पूर्णरूपमा बन्द हुनुपर्ने ।
६. होटलरलज, शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, सपिङ मल, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने ।
७. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने ।
८. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिने ।
९. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग सञ्चालन गर्न सक्ने ।
विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।
युरोकपको क्वाटरफाइनलमा बेल्जियम प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।
बेल्जियमको जितमा खेलको ४२औ मिनेटमा थोर्गन हजार्डले गरेको गोलनै निर्णायक गोल बनेको थियो । योसँगै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।
यस युरोकपमा बेल्जियमसँगै इटाली अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै, डेनमार्क वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै र चेक रिपब्लिक नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन् ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छ । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग भीड्ने छ ।
मकवानपुर । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेकोले देशभर मनसुनी वायुको प्रभाव परेकाे छ। मनसुनी वायुको प्रभाव देशभर सामान्यदेखि पूर्ण वदली रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशभर माैसम बदली रहि गण्डकी प्रदेश तथा प्रदेश नं १ को थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले भनेकाे छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असार १४ गते सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार १५ गते मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार १६ गते बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
