मकवानपुर । मकवानपुरमा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएकाे छ ।
अस्पतालका अनुसार काेराना संक्रमण पुष्टि भइ मृत्यु हुनेमा कैलाश गाउँपालिकाका ६५ वर्षीय पुरुष र बारा जिल्लाको निजगढ नगरपालिकाको ७५ वर्षीया महिला रहेकी छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा गरिएको पिसिआर परीक्षणमा २३ जना र ९१ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३७ जना गरी थप ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ११ हजार १ सय ७९ जना पुगेको छ ।
जिल्लामा हालसम्म १० हजार १ सय १६ जना कोरोना निको भएका छन् । जिल्लामा हाल ८ सय ८८ जना सक्रिय संक्रमित उपचाररत रहेको छन् ।
यस्तै मकवानपुरमा ९० जना कोरोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९० जना संक्रमण मुक्त भएका हुन् । याे संगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार १ सय १६ पुगेको छ ।
मकवानपुर । युरोकप अन्तरगत आजबाट क्वाटरफाइनल खेलहरु सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच क्वाटरफाइनलका २ खेल हुनेछन् ।
पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।
प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो । यस अघी स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
२०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको स्पेन सन् १९६४ को दोस्रो संस्करण तथा सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जितेकाे थियाे ।
अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।
समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो ।
विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
बाँकी दुई क्वाटरफाइनल खेलमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।
हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेकोले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुन सक्रिय भएकाेले मकवानपुर सहित देशका अधिकांश भाग वर्षा भइरहेककाे छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारि वर्षा भई बाँकी प्रदेशका १/२ स्थानमा हल्का देखी मध्यम वर्षा भईरहेको महाशाखाले जनाएकाे छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जानकारी दिएकाे हाे ।
उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।
३ दिनको मौसम पूर्वानुमान
असार १८ गते शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार १९ गते शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
असार २० गते आइतबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा अति भारि बर्षाको पनि संभाबना रहेको छ।
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ ।
नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन । १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विकल्पबारे सोच्न सकिन्थ्यो ।
अहिले अधिकांश विद्यालयका शिक्षकले खोप लगाउन नपाउँदा हामीलाई खोप कहिले ? भन्दै सरकारसमक्ष प्रश्न तेस्र्याएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको कोभिड १९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा पनि शिक्षकलाई समेटिएको छैन ।
नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले खोप लगाउन सरकारले शिक्षकलाई प्राथमिकतामा नराखेको बताए । उनले भने, हामी विद्यार्थीसँग प्रत्यक्ष जोडिने व्यक्ति हौं । सरकारलाई पटकपटक खोप दिलाउन लिखित र मौखिक आग्रह गरे पनि सरकार गम्भीर देखिँदैन ।’ सरकारले खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने भन्दै यो अवस्थामा वैकल्पिक विधिबाट मात्रै पठनपाठन गराइने बताए ।
काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षकहरूलाई कोरोनाविरुद्ध खोपको प्राथमिकतामा राखिनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरूलाई खोप लगाउनबाट सरकारले बेवास्ता गरेको छ । शिक्षकहरू अभिभावक, विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्नेहुन्छ । त्यसैले पनि शिक्षकलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने हो ।’
सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । केही दिनमै सरकारले खरिद गरेको १० लाख डोज भेरोसिल खोप चीनबाट नेपाल भित्रिँदै छ । तर, सो खोप लगाउने सूचीमा पनि शिक्षक प्राथमिकतामा छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ लाख ७७ हजार ९ सय ६५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, ७ लाख ४९ हजार १ सय ३६ जनाले खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् ।
शिक्षक रामराज बस्नेतले सरकारले खोप अभियानमा शिक्षकलाई बेवास्ता गरेको बताए ।
यस्तै, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षाको समयतालिका सार्वजनिक भएको छ । तर, त्रिविका शिक्षक कर्मचारीले पनि खोप लगाउन पाएका छैनन् । केही शिक्षकहरूले खोप उपलब्ध नगराए दबाब निर्माण गरेर संघर्ष गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको पहिलो प्राथमिकीकरण सूचीमा स्वास्थ्यकर्मी, सार्वजनिक सफाइकर्मी, नेपाल सरकार बैंक तथा संस्थानका कर्मचारी, कैदीबन्दी रहेका छन् । यस्तै, खोप लगाउने दोस्रो प्राथमिकताको सूचीमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षका दीर्घ रोगी रहेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेकाे समाचार साभार गरिएकाे
मकवानपुर । संगीतकार संघ नेपालले अजर अमर सम्मान–२०७८ बाट वरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापीतलाई प्रदान गरेकाे छ । नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पु-याएकोमा गायक एवं संगीतकार माणिक त्नलाई सम्मानित गरिएको हाे ।
ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमै पुगेर विहीबार संघका तर्फबाट उक्त सम्मान प्रदान गरिएको हो । माणिकरत्नलाई संघका तर्फबाट १ लाख १ सय ११ रुपैंयाँ नगदसहित अजर अमर सम्मानबाट सम्मानित गरिएकाे हाे । संघका संरक्षक तथा वरिष्ट संगीतकार शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले उनलाई सम्मान प्रदान गरेका हुन् ।
गायक एवं संगीतकार माणिकरत्नले लामो समयको उपचारपछि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोना महामारीका कारण सिर्जित परिस्थिति सामान्य भएपछि विशेष सभा वा कार्यक्रममार्फत सम्मानलाई औपचारिता दिइने संगीतकार संघले जनाएको छ ।
गायक माणिक रत्नका ‘त्यो खोलाको संलो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आऊ जुन कोठामा राति’जस्ता दर्जनौं गीत लोकप्रिय छन् । माणिकरत्नको संगीत, प्रेमध्वजको स्वर रहेको ‘गोरेटो त्यो गाउँको’ गीत निकै लोकप्रिय छ ।