मकवानपुर । युरोकप अन्तरगत आजबाट क्वाटरफाइनल खेलहरु सुरु हुँदैछन् । आज स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच क्वाटरफाइनलका २ खेल हुनेछन् ।
पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।
प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५-३ ले पराजित गरेको थियो । यस अघी स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
२०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको स्पेन सन् १९६४ को दोस्रो संस्करण तथा सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जितेकाे थियाे ।
अर्को खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२:४५ बजे जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।
समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले पराजित गरेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो ।
विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
बाँकी दुई क्वाटरफाइनल खेलमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

