काठमाडौ । नेपाल विवेकशील पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन गरेको छ । काठमाडौको विशालनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिंहबहादुर मोक्तानको अध्यक्षतामा २१ सदस्यीय संघीय समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा संगीता बाटाजु, सचिव (प्रशिक्षण तथा क्षमता विकास) रितेश मल्ल, सचिव (अभियान तथा संजाल) सिता कुमारी मैनाली, र सदस्यहरूमा कृष्ण देव भण्डारी, प्रधुम्न अर्याल, किरण साह, कपिल अर्याल, विजय कुमार तामाङ, सुरजनारायण सिंह थापा, विकास उगरकोटी, महमद आमिन, दान बहादुर थिङ्ग, बिनु कुमार बराल, बिनिता कुमारी चौलागाई, शिशिर दर्शन धारी, सोर्णिका मोक्तान, मुना वस्नेत, अजिता राई, विकास रञ्जित, आशिष राई रहेका छन् ।
देशभरका प्रतिनिधिहरूको सहभागितामा भएको महाधिवेशनले भावी कार्यदिशा, योजना तथा कार्यक्रमहरूसमेत पारित गरेको छ । गतिशील मध्यमार्ग राजनीतिक सिद्धान्त भएको पार्टीले प्रमाण र मूल्यमा आधारित राजनीतिक संस्कारलाई व्यबहारमा अवलम्बन गर्ने नवनिर्वाचित सदस्य कृष्णदेव भण्डारीले जानकारी दिए ।
महाधिवेशनका अतिथिहरू पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री शैलेन्द्र बज्राचार्य र आशुतोष तिवारीले शुभकामना दिएका थिए ।
- मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी)
राजनीतिमा नयाँ पुस्ताकाे बहस चलिरहेकाे बेला मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा २५ वर्षीय युवाले उम्मेदवारी दिएका छन् । रास्वपाबाट उम्मेदवारी दिएका नवयुवा पुस्ताका उम्मेदवार हुन् प्रशान्त उप्रेती।
- उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
- मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रमा आफैँले गरेको कार्यले उनलाई उद्यमशीलताका चुनौतीहरू सिकाएको बताउँछन् ।
- आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
- संविधानलाई संघर्षको प्रतिफल मान्दै र संविधानको अक्षर र भावनाको रक्षाको लागि अडिग भएकाे बताउँछन्।
- झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरु जस्तैः पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ।
- आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
- ‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् ।
- ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनकाे भनाई छ ।
- Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाेले मतदाताहरूका लागि प्रशान्त केवल एक उम्मेदवार मात्र नभई राजनीतिमा ‘परिवर्तनको एउटा बलियो आशा’ भएकाे पार्टीकाे धारणा रहेकाे छ ।
युवा मात्रै नभई देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्क एजेन्डाहरू समेत भएकाले निर्वाचन २०८२ मा मकवानपुर २ बाट जित्ने आत्मविश्वास भएकाे उनी बताउँछन्। रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका भरत पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको छ ।
क्षेत्र नं. २ मा पुराना र नयाँ दलका उम्मेदवार बिच प्रतिष्पर्धा हुने छ । प्रशान्तले २०७९ सालमा प्रतिनिधि सभा सदस्य पदमा विजयी महेश बर्तौला, नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामा, थाहा नगरपालिकाका २०७४ सालमा मेयर पदमा वियजी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लवशेर विष्टलगायत अन्य पार्टी र स्वतन्त्र गरी २० जनासँग प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल उम्मेदवार छन् । दलतर्फ जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान र रामबहादुर थोकर उम्मेदवार छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतान उम्मेदवार छन् ।
२०७९ काे निर्वाचनकाे मत परिणामः
प्रतिनिधिसभा निर्वाचन–०७९ मा एमाले महेश बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका थिए । यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
दीपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)
मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिंह उम्मेदवार छन् । उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यका साथ उम्मेदवार बनेका हुन् । यस अघी उनी २०७९ सालकाे निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
* बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहबाट २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दिपक बहादुर ७/८ बर्षको हुँदा आमाबुबा परिवारसहित हेटौंडा बसाइ सरी आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौंडा – २ बनेकाे छ । उनी हेटौंडाका उद्योगी व्यवसायी हुन् ।
* माध्यामिक शिक्षा हेटौंडा-४ स्थित भुटनदेवी माविबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका छन् । उनका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण घरमा राजनीतिक वातावरण थिएनन् । तर दिपक राजनीतिमा २४ बर्षको उमेरदेखि नै लागेका हुन् ।
* २४ बर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अहिले पनि अनवरत छ । विभिन्न संघसंस्थामा आवद्ध उनी राजनीतिकाे सुरुवात देखि नै राप्रपामा छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणी पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।
*त्यस्तै २०७० सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए । २०५६ सालमा नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ उनी फेरि पराजित भएका थिए । त्यस्तै २०६४ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए ।
* २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । यस भन्दाअघि ६ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पदमा उम्मेदवार छन् । २०७९ सालको निर्वाचनमा २७ हजार ८१६ मत हासिल गरी सिंहले चुनाव जितेका थिए ।
* उनकाे प्रतिषपर्धी काँग्रेसकी महालक्ष्मी डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।
उनले यो पटक २०७९ सालकै प्रतिस्पर्धी काग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना, रामेश्वर राना (एमाले), विजय गौतम (नेकपा), प्रकाश गौतम (रास्वपा), विद्या श्रेष्ठ (श्रम सस्कृती पार्टी) सहित २३ जना उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको कारण सिंह चुनाव जित्ने दावी गर्छन् । राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सात प्रदेशका ७ जना कविहरुले रचना वाचन कार्यक्रम आयोजना गरिएकाे छ । शनिबार प्रगतिशील लेखक संघ (प्रदेश) मकवानपुरको आयोजनामा देशका सातै प्रदेशका ७ जना कविहरुले कविता वाचन कार्यक्रम भएकाे हाे ।
कोशी प्रदेशकी सीता तुम्खेवा, मधेस प्रदेशका यश लामा, बागमती प्रदेशका डा. निमेष निखिल, गण्डकी प्रदेशकी लक्ष्मी थापा, लुम्बिनी प्रदेशकी सुमिना, कर्णाली प्रदेशकी कवि कोकिलाकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका खेम बतासले आ-आफ्ना प्रतिनिधिमूलक कविता वाचन गरेका थिए । सहभागी कविहरुले सामाजिक विसंगति, समस्या, मौलिक चिनारी लैंगिक उत्पीडन लगायत कविता सुनाएका थिए ।
प्रलेश मकवानपुरले ७ प्रदेशका कविहरुकाे कविता सुनिने कार्यक्रममा एक सय रुपैंयाकाे टिकट राखेकाे थियाे । प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष विशाल अधिकारी (आशुतोष) को सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यसेवी मुक्तिगोविन्द बैद्य, प्रगतिशील लेखक संघका बागमती प्रदेश सचिव डीबी बर्तौला, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देललगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रेमी विद्यार्थीहरुको उपस्थिति थियो ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
रामेश्वर राना (नेकपा एमाले)
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानालाई मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । झण्डै ५० वर्ष राजनीति गरेर संगठनमा महत्वपूर्ण योगदान पुर्याएका राना यसपटक भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने आकांक्षासहित अगाडि बढेका छन् ।
- २०३६ सालको आन्दोलनबाट प्रभावित भएर २०३७ सालमा अनेरास्ववीयु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट उनको राजनितिक यात्रा सुरु भएको हो । २०३८ मा अखिलको जिल्ला कमिटि उपाध्यक्ष हुंदै जिल्ला कमिटी अध्यक्ष समेत बने । २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका राने पार्टीको शाखा कमिटि हेटौंडा नगर कमिटी हुंदै जिल्ला कमिटी सदस्य भए । २०५१ मा एमाले मकवानपुर सचिब भए । ३ कार्यकाल एमाले मकवानपुरको नेतृत्व गरेको अनुभब रानासँग छ।
- बागमती प्रदेश कमिटी सदस्य हुदै ४ कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका छन् । एमालेको ११ औं महाधिबेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भए । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा हेटौंडा नगरपालिका ११ नं वडा अध्यक्ष निर्बाचित भएका राना ईमान्दार, कर्मठ सादगी नेताका रुपमा मकवानपुरमा परिचित छन् ।
- २०५४ सालमा जिल्ला बिकास समिति मकवानपुरको सभापति निर्बाचित भएका थिए राना । २०६४ को संविधान सभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका लडेका राना पराजित भएका थिए । त्यस यता उनले २ पटक सिफारिसमा परेर पनि नेतृत्वका लागि अबसर पाएनन् ।
- २०७९ सालको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट कमल थापालाई अघि सारिए पछि उनले अन्तिम समयमा संसदीय चुनाब लड्ने अवसर गुमाएका थिए । पटक पटक अबसर खोसिदा समेत पार्टीको जिम्मेवारीमा निरन्तर छन् राना । २०५४ सालमा जिविसस सभापति हुंदा चुरे संरक्षण, सडक संजाल निर्माण सहित मकवानपुरको एकिकृत बिकासको अबधारणा उनले अघि सारेका थिए ।
- घरदैलो अभियानमा जुटेका रानाले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् ।
- उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दावी छ ।
निर्वाचन क्षेत्रमा समेत आफ्नो बलियो पकड बनाएका रानाले आफूले अन्य उम्मेद्वारलाई पन्छाउदै जित हाँसिल गर्ने दावी गर्दै आइरहेका छन् । लामो समयसम्म राजनीतिमा भिजेका नेता रानाले सोहि क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएकी कांग्रेसमा लामो समयदेखि क्रियाशील र पूर्व सांसद समेत रहेकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेद्वार विजय गौतम, राप्रपाबाट यसअघि निर्वाचित दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्र्टीका यूवा नेता प्रकाश गौतमसँग बलियो प्रतिष्पर्धा गनुपर्ने छ ।
निर्वाचन क्षेत्र नम्बर–१ मा रानासहित २३ जनाको उम्मेद्वारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेद्वार हुन् भने १० जना स्वतन्त्र उम्मेद्वार छन् ।