मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् ।
आक्रोशित स्थानीयहरुले निर्माण कम्पनी कालिका कन्ट्रक्सनमा आगजानी तथा तोडफोड गरेका हुन् । मंगलबार राती स्थानीयले सोही कन्ट्रक्सनको बोलेरोमा आगजनी गरेका थिए । मकवानपुरको बागमती गाउँपालिका वडा ८ स्थित कालिका कन्ट्रक्सन नजिकको खाल्डोमा जमेको पानीमा डुबेर फापरबारी शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो मृत्यु भएको थियो । त्यसपछि स्थानीयले नजिक रहेको कन्ट्रक्सनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
स्थानीयले कन्ट्रक्सनले बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्सनको एक बोलेरो सवारीमा आगजानी, जेसिबि र कार्यलय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताए । उनका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैया गाउँपालिका ८ स्थित खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
खेत जोत्ने क्रममा प्रदेश नं ३–००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना भइ ट्याक्टरले थिच्दा चालक बकैया–३ का २२ वर्षीय बुद्ध भोलोनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुर जनाएको छ ।
यस्तै बकैया गाउँपालिकाकै एउटा सामुदायिक वनमा मानव कंकाल भेटिएको प्रहरीले जनाएको छ । बकैया गाउँपालिका ४ को गुराँस सामुदायीक वनमा मानव कंकाल (हड्डी) फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । भेटिएको मानव कंकालमा मानवको कम्मर तलको भाग रहेको र कंकाल नजिकै पुरुषको कपडा पनि फेला परेको हुँदा कंकाल पुरुषको हुन सक्ने प्रवक्ता रिमालले बताए ।
प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन गरेकी छन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले विक्रम सम्बत १८ सय २४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले करिब ७ करोड रुपिया लगानीमा निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै उद्घाटन गरिएकाे हाे ।
सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फास्टक्चर प्रा.लि धुलिखेलले गरेको छ ।
उक्त संग्रहालय काठमान्डौ बाहिर बनाईएको पहिलो संग्रहालय हो । युद्धकालिन अवस्थाका पत्रहरु, सिन्धुलीगढी युद्धको टाईमलाईन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरु, चरणवद्ध युद्धका चित्रहरु, तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालिन हातहतियार, अंग्र्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, व्रिटिस योद्धाहरु, नेपाली योद्धाका आर्ट तस्वीरहरु, मिथिला आर्ट, विट्रेनहरुको नाममा बनाईएका स्तम्भहरु, युद्धकालिन शिलालेखहरु, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तकालय संग्रहालयमा राखिएको छ ।
नेपाली सेनाको वर्द बहादुर गणले निर्माणको कामको व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । यो संग्रहालय सञ्चालन व्यवस्थापनको जिम्मा नगरपालिकाको रहने छ । सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धि अघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा (लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको) नक्सा समेत राखिएको छ । २०७३ कार्तिक २४ गते पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको थियो ।
यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरु वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र विरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरि प्रतिस्थापन समेत गरेको छ । नगरपालिकाको ४९ लाख लागतमा उक्त शालिक निर्माण गरेको हो ।
नेपाल एकीकरणका क्रममा विसं १८ सय २४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहासमा पढ्न पाइन्छ ।
मकवानपुर । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मगलबार दिउँसाेकाे मन्त्रिपरिषद् बैठकले ती प्रदेशका प्रदेश प्रमुखहरु सिता कुमारी पाैडेल र धर्मनाथ यादवलाई पदमुक्त गर्दै गुरुङ र शेरचनलाई नियुक्त गर्न सिफारिस गरेकाे थियाे ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुको नियुक्त गरेको राष्ट्रपति कार्यालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
नेपालकाे संवीधान अनुसार प्रदेश प्रमुख प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेकाे छ ।

मकवानपुर । नेपालमा काेराेनाे भाइरस (कोभिड–१९) को डेल्टा प्रजातिको अर्को नयाँ भाइरस भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जनाएको छ । त्यस मध्य ३ वटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको हाे । पुष्टि भएका ३ वटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ ।
मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।
भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले जनाएको छ । भाइरसको नयाँ स्वरुप भेटिएसंगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मकवानपुर । संघीय सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तनकाे लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे ।
मङ्गलवारकाे मन्त्रिपरिषद् बैठकले २ वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ सिफारिस गरेको हो । यसअघि ओली सरकारले गण्डकीका अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले पाैडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्तीकाे सिफारिस गरेकाे छ ।
यसै गरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्तीकाे लागि सिफारिस गरेकाे हाे । नेपालकाे संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने व्यवस्था रहेकाेले शेरचनलाई पुनः गण्डकीकाे प्रदेश प्रमुखमा नियुक्त नगरी लुम्बिनी प्रदेश पठाइएको हो ।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।