मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन गरेकी छन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले विक्रम सम्बत १८ सय २४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले करिब ७ करोड रुपिया लगानीमा निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै उद्घाटन गरिएकाे हाे ।
सिन्धुलीगढी युद्ध संग्रहालय निर्माणको भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फास्टक्चर प्रा.लि धुलिखेलले गरेको छ ।
उक्त संग्रहालय काठमान्डौ बाहिर बनाईएको पहिलो संग्रहालय हो । युद्धकालिन अवस्थाका पत्रहरु, सिन्धुलीगढी युद्धको टाईमलाईन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्रीहरु, चरणवद्ध युद्धका चित्रहरु, तत्कालिन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालिन हातहतियार, अंग्र्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, व्रिटिस योद्धाहरु, नेपाली योद्धाका आर्ट तस्वीरहरु, मिथिला आर्ट, विट्रेनहरुको नाममा बनाईएका स्तम्भहरु, युद्धकालिन शिलालेखहरु, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तकालय संग्रहालयमा राखिएको छ ।
नेपाली सेनाको वर्द बहादुर गणले निर्माणको कामको व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । यो संग्रहालय सञ्चालन व्यवस्थापनको जिम्मा नगरपालिकाको रहने छ । सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धि अघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा (लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको) नक्सा समेत राखिएको छ । २०७३ कार्तिक २४ गते पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गरेसँगै निर्माणले तीव्रता पाएको थियो ।
यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धाहरु वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र विरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरि प्रतिस्थापन समेत गरेको छ । नगरपालिकाको ४९ लाख लागतमा उक्त शालिक निर्माण गरेको हो ।
नेपाल एकीकरणका क्रममा विसं १८ सय २४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहासमा पढ्न पाइन्छ ।

