मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका तत्कालिन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घिमिरे सहित सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र दिनेशप्रसाद जयसवलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
जिल्ला वन कार्यालय, बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि, बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि खरिद गर्दा रकम हिनामिना गरेको देखिएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध ४ लाख ९० हजार रुपैयाँ विगो मागदावी गरिएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय (घ) बमोजिम सजाय माग गरिएको छ ।
मकवानपुर /माईती नेपाल रोकथाम गृह मकवानपुरले किशोरीहरूलाई जीवन उपयोगी तालिम प्रदान गरेको छ ।
मकवानपुरको विभिन्न गाउँपालिकाका १७ जना किशोरीहरूलाई माइती नेपाल मकवानपुरले ४ महिने आवासीय सिपयुक्त तालिमपछी ५ दिने जीवन उपयोगी सिपबारे प्रशिक्षण गराएको हो । तालिममा प्रशिक्षक बच्चुराम बस्नेतले किशोरीहरूलाई निर्णयको सीप, सोचाइ सीप, सिर्जनात्मक सीप, समालोचनात्मक सीप, किशोरी प्रजनन प्रणाली तथा स्वास्थ प्रणाली, आत्माबल बढाउने सीप जस्ता बिषयमा प्रशिक्षण गराएका थिए ।
तालिमको समापन कार्यक्रममा माइती नेपाल केन्द्रिय कार्यालयका कार्यक्रम प्रबन्धक रामशरण पौडेल, अवलोकन तथा मुल्यांकन अधिकृत रविन्द्र सापकोटा, माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा, फिल्ड सुपरभाइजर मन लामा, व्यवसायीक प्रशिक्षक सरिता लामालगायतको उपस्थिती रहेको थियो ।
तालिम बोनो र चान्स स्वीसको आर्थिक सहयोग तथा माइती नेपाल मकवानपुरको आयोजनामा भएको थियो ।
मकवानपुर । नेकपा एमालेले दशौं महाधिवेशन मंसिर दोस्रो साता गर्ने भएको छ । स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ ।
बैठकले महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको बताइएकाे छ । मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।
असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत भएको छ ।
साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने नेकपा एमालेले जनाएकाे छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले विपन्न परिवारलाई जस्तापाता सहयाेग गरेका छन् । अध्यक्ष काेइरालाले १ विपन्न परिवारकाे लागि घर छाउन जस्तापाता सहयोग गरेका हुन् ।
हेटौंडा-१६ घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा वर्षाको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले व्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेका हुन् ।
सहयोगी मन नेपालको सहजीकरणमा जस्तापाता हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, जनप्रिय मावि हटियाका व्यवस्थापन समितिका सदस्य रमेश ढकाल, कृष्ण पनेरु,गुणराज राना लगाएतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित २ जना पक्राउ गरेकाे छ । हेटाैडा १० बसपार्क प्रहरी चाैकीबाट खटिएकाे प्रहरी चेकिङ टाेलीले भदाै ८ गते लागुऔषध फेनारागन एमपुल–९, डाईजोपाम एमपुल–९, नुरफिन एमपुल–९ सहित एमपुल उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
विरगंजबाट चितवन तर्फ जाँदै गरेकाे ना ५ ख ३९४३ नं. काे बस चेकजाँच गर्दा उक्त परिमाणकाे लागुऔषध सहित चितवन रत्ननगरपालिका १० का दमन थापा र विनाेद चाैधरीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
ना ५ ख ३९४३ नं. काे बसमा सवार थापाकाे साथबाट उक्त परिमाणकाे लागुऔषध फेला परेकाे तथा थापासँगै सवार चौधरी समेतकाे संलग्नता रहेकाेले दुवै जनालाई नियन्त्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।