मकवानपुर । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी राजेन्द्र पण्डितलाई पक्राउ गरेकाे छ । नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी बस्ने ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
डा. श्रेष्ठलाई २०६७ जेठ ४ गते चितवन जिल्लाकाे भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी बन्धक बनाई राखेका थिए । अपरणकारीले १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी पण्डित फरार रहेका थिए ।
फरार रही भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पण्डितलाई बिदुर नगरपालिका १२ मा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनीउपर तत्कालिन पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । उनलाई फैसला बमाेजिमकाे सजाय कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।
मकवानपुर । नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुने छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता आगामी असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने भएकाे छ । राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब सहभागी हुनेछन् ।
छैटौं संस्करणको एनभीए च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण खेलपाटीले गर्ने भएको छ । नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा छनोट भएर खेलपाटीले प्रत्यक्ष प्रशारण अधिकार प्राप्त गरेको हो ।
बुधबार भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र खेलपाटीका तर्फबाट आशिष पौडेलले प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एनभीए क्लब च्याम्पियनसिप अन्तर्गतको सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रशारणको अधिकार खेलपाटीले प्राप्त गरेको छ ।
संघकी उपाध्यक्ष निरोज मास्केले भलिबल खेलको प्रत्यक्ष प्रशारण अधिकार बिक्री हुनु खुसीको विषय भएको बताईन् । उनले भलिबल खेललाई थप व्यवसायीक बनाउने अभियानमा यसले एउटा कोशेढुङ्गाको काम गर्ने बताईन् ।
खेलपाटीका प्रबन्ध निर्देशक आशिष पौडेलले भलिबलसंग जोडिएर काम गर्न पाएकोमा खुसी ब्यक्त गरे । राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रशारणले भलिबलको प्रबर्द्धन र विकासमा थप टेवा पुग्ने पाैडेलले बताए ।
मकवानपुर / माइती नेपाल मकवानपुरले ४२ औं सामाजिक सेवा दिवसको अवसरमा विद्यार्थीहरूलाई कानुनी सचेतना कक्षा सन्चालन गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा न ९ स्थित युवाबर्ष गंगा आधारभुत बिद्यालयको कक्षा ७ र ८ मा अध्ययनरत छात्रछात्राहरूलाई कानुनी सचेतना कक्षा सन्चालन गरेको हो । दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कानुनी सचेतना कक्षा सन्चालन गरिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । बिद्यालयका प्राध्यानाध्यापक सरद अधिकारी सहप्रध्यानाध्यापक रमाभक्ती कालाखेती समेतको उपस्थिति रहेको कानुनी कक्षामा माइती नेपाल मकवानपुर प्रमुख माया लामा र फिल्ड सुपरभाइजर मन लामाले सहजीकरण गरेका थिए ।
विद्यार्थीहरूलाई मानव बेचबिखनको बदलिँदो स्वरूप, स्थानीय दलालहरूले अपनाउन सक्ने प्रक्रियाका बारेमा जानकारी गराईएको प्रध्यानाध्यापक अधिकारीले बताए ।
यसैगरी माइती नेपाल मकवानपुरले सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक सेवा प्रहरी तथा बसपार्कलगायत क्षेत्रमा सचेतनामुलक ब्रुसरहरू बितरण गरेको लामाले बताइन् ।
मकवानपुर । सरकारले यस अघी नियुक्त गरिएका सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबारकाे मन्त्रिपरिषद् बैठकले अघिल्लाे सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हाे ।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।
ओली सरकारले राजनीतिक कोटामा पठाएका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएसँगै १० मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् ।
ओमानकी राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो ।
तर, आज बसेको मन्त्रिपरिषद् बैठकले यी दुई राजदूतबारे केही बोलेको छैन । जापानी राजदूत राणा प्रधानमन्त्री शेरबहादुर देउवाकै सासु भएकीले उनीबारे के हुने भन्ने टुंगो पनि लागेको छैन ।
फिर्ता बाेलाउने निर्णय भएका राजदुतहरू
१) महेन्द्रबहादुर पाण्डेय -चीन
२) डा. वंशीधर मिश्र -बंगलादेश
३) नारदमुनि भारद्धाज -कतार
४) युवराज खतिवडा -अमेरिका
५) अञ्जान शाक्य -इजरायल
६) उदयराज पाण्डे -मलेसिया
७) दावाफूटी शेर्पा -स्पेन
८) डा. निर्मलकुमार विश्वकर्मा -दक्षिण अफ्रिका
९) नीलाम्बर आचार्य -भारत
१०) लोकदर्शन रेग्मी -बेलायत
यसैबीच मन्त्रिपरिषदको असाेज ५ गते मंगलबारकाे बैठकले विभिन्न ५ निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीका पालामा राजनीतिक रुपमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसदमा लैजान स्वीकृति प्रदान गरेको छ ।
यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्रयाकको काम शुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का ५ निर्णय
१) राजनीतिक नियुक्तिका सबै राजदूतहरू फिर्ता बोलाउने ।
२) कर्णाली करिडोर अन्तर्गत सलिसल्ला, सिमिकोट खण्डको बुल्दिकुनादेखि लालीबगरसम्म सडकखण्डको सात किलोमिटर र लैखुबद्री गाउँदेखि हुकाखोलासम्म १३ दशमलब ५ किलोमिटर सडक निर्माणको ट्रयाक निर्माणण कार्य नेपाली सेनालाई थाल्न स्वीकृति प्रदान ।
३) कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत प्रदान । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान र
४) कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने ।
५) संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिने प्रतिनिधिमण्डलको गठन गर्ने ।
अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ ।
पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले आफ्नो सांगठनिक प्रस्तावमा संशोधन गर्दै सबै पदाधिकारीसहित केन्द्रीय सदस्यहरू निर्वाचित हुने प्रस्ताव समेटेका हुन् । यसअघि अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीबाट अध्यक्षले चयन गरिने उल्लेख गरिएको थियो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको एमाले स्थायी कमिटी बैठकमा पार्टीको राजनीतिक, सांगठनिक तथा वैचारिक कार्यदिशाको विषयले प्रवेश पाएको छ । बैठकमा विधान महाधिवेशन केन्द्रित छलफल सुरु भएको छ । केही समयपश्चात् एमालेले १०औं महाधिवेशन गर्दै छ । १०औं महाधिवेशन अघि एमालेले छुटै विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार विधान महाधिवेशन अघि स्थायी कमिटी, केन्द्रीय कमिटीबाट प्रस्ताव पारित गरेर विस्तृत छलफलका लागि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । विधान महाधिवेशनमा विधान पारित गरेपछि सोहीअनुसार १०औं महाधिवेशनमा नेतृत्वको चयन गरिनेछ ।
यता, नवौंं महाधिवेशनले सक्रिय राजनीतिबाट ७० वर्ष लागेपछि बिदा लिनुपर्ने व्यवस्था गरेको थियो । तर, केही नेताले ७० वर्षको प्रावधान हटाउन खोजेपछि उमेर हदको सो व्यवस्था कायम नै राखिने भएको छ । दोस्रो पुस्ताका नेताहरूको दबाबले उमेर हदसम्बन्धीको व्यवस्था कायम राखिएको हो ।
यस्तै, एमालेले आफ्नो विधानमा सात सदस्यीय सचिवालय गठनको प्रस्ताव गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठन भएको नेकपाजस्तै एमालेमा अब सात सदस्यीय सचिवालय हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भएपछि एमालेमा अब अध्यक्षको नेतृत्वमा सचिवालय रहने व्यवस्था गरिनेछ ।
‘हामीले १०औं महाधिवेशन पछि निर्वाचित अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था विधानमै राख्दै छौं । पार्टीको काम तथा तत्कालै गर्नुपर्ने निर्णय त्यो सचिवालयबाटै हुनेछ,’ ज्ञवालीले भने, ‘यस्तै महासचिवको नेतृत्वमा कार्यालयसम्बन्धी अर्को सचिवालय रहनेछ, त्यसले कार्यालयको काममा केन्द्रित हुनेछ ।’
यसैगरी, उपाध्यक्षको संख्या घटाएर सचिवको संख्या बढाउने प्रस्ताव गरिएको छ । यसअघि उपाध्यक्षको संख्या सात राखिएको थियो भने सचिवको संख्या पाँच रहेको थियो । तर, त्यसमा संशोधन गर्दै उपाध्यक्षको संख्या तीन र सचिवको सात पु¥याउने प्रस्ताव भएको छ । नवौं महाधिवेशनबाट उपाध्यक्ष र सचिवको संख्या पाँच÷पाँच राखिएको थियो । उपमहासचिवको संख्या दुई जना राखिएको छ ।
विधानमा केन्द्रीय कमिटीको संख्या २ सय २५ राखिएको छ । केन्द्रीय कमिटीको एक तिहाइको संख्यामा पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ संख्यामा स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरिएको छ । यद्यपि पोलिब्युरो कमिटी राख्ने कि नराख्ने विषयमा अहिले छलफल जारी नै रहेको छ । त्यसैगरी, महाधिवेशनको प्रतिनिधि राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यलाई बनाउने प्रस्ताव विधानमा गरिएको छ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन यसअघि नै भइसकेको छ । यसैगरी, संगठन विभाग प्रमुख पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन भएको छ ।
एमालेले आउँदो १५, १६ र १७ मा विधान महाधिवेशन काठमाडौंमा गर्दै छ । एमालेभित्र पहिलोपटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दै छ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तुत हुनेछ । राजधानी दैनिकमा प्रकारशित समाचार साभार

