मकवानपुर । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी राजेन्द्र पण्डितलाई पक्राउ गरेकाे छ । नुवाकोट बिदुर नगरपालिका-१२ मुलाबारी बस्ने ४५ वर्षीय राजेन्द्र कुमार पण्डित भन्ने राजेन्द्र पण्डितलाई घटनाको ११ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
डा. श्रेष्ठलाई २०६७ जेठ ४ गते चितवन जिल्लाकाे भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकबाट १२/१५ जनाको अज्ञात समूहले अपहरण गरी बन्धक बनाई राखेका थिए । अपरणकारीले १९ दिनसम्म बन्धक बनाई राखेकोमा फिरौती वापत १ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३ किलो सुन लिएपछी जेठ २२ गते अपहरण मुक्त गरी पण्डित फरार रहेका थिए ।
फरार रही भारतको विभिन्न स्थानहरुमा लुकीछिपि बसेकोमा नेपाल आएको भन्ने सूचनाको आधारमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पण्डितलाई बिदुर नगरपालिका १२ मा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनीउपर तत्कालिन पुनरावेदन अदालत हेटौंडाबाट २०७० माघ २१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । उनलाई फैसला बमाेजिमकाे सजाय कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।

