मकवानपुर । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको केन्द्रीय महाधिवेशन लक्षित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ । ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।
पार्टीले कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्न उक्त समितिलाई निर्देशन दिएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गतेसम्म गर्न समयसीमा तोकिएको छ । सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची तय गरेको छ ।
पार्टीले महाधिवेशनको तयारीका लागि विभिन्न ९ समिति गठन गरी सम्बन्धित नेतालाई जिम्मेवारी तोकेको छ । गठन गरिएका समितिमा सामाजिक कार्यपत्र तयारी समिति, आर्थिक कार्यपत्र तयारी समिति, राजनीतिक कार्यपत्र तयारी समिति, कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समिति छन् । सक्रिय सदस्यको नामावली पार्टीको वेबसाइट तथा जिल्ला पार्टी कार्यालयमा राखी सार्वजनिक गर्नुपर्ने छ भने अन्तिम नामावली ३० गते प्रकाशन गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ । केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद भएकाे पार्टीले जनाएकाे छ । अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गर्दै आएकाे छ ।
मकवानपुर । यस वर्षकाे भाइटिका पर्व आज कार्तिक २० गते दिदीबहिनीले दाजुभाइलाई पञ्चरङ्गी अथवा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।
भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आजकाे दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका जनाएकाे छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएता पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा रहेकाे धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सतीले बताए । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेल रोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले किजापूजाका रूपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो । यस वर्ष भने एकै वर्ष परेको जनाइएको छ ।
मकवानपुर । कार्तिक शुक्ल प्रतिपदा अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
हलि एवं गोरु पूजा-वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।
गोवद्र्धन पूजा-आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।
मकवानपुर । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोलको मूल्य वृद्धि गरी १ सय ३३ रुपैयाँ कायम गरेको छ भने डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर १ सय १६ रुपैयाँ पुर्याएको छ ।
आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ ।
एलपी ग्यासमा काठमाडौँको साबिक बिक्री मूल्यमा प्रति सिलिन्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५ सय रुपैयाँ प्रतिसिलिन्डर कायम गर्ने निर्णय गरेको छ ।