मकवानपुर । हेटौंडा ४ स्थित रेडियो थाहा सन्चार ९९ दशमलव ६ मेगाहर्जले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विन्दवासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सोमबार हेटौंडाको बुद्धचोकमा गरेकाे रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र हेटौंडाको सहकार्यमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रमको लागि आइएमई लाइफ इन्स्योरेन्स हेटौंडाका योग्यराज सापकोटा, सन्चो हस्पिटल प्रालिका उदय बिडारी र ऋद्धि सिद्धी सिमेन्ट प्रालिले सहयोग गरेका थिए ।
रेडियोले यसअघि फागुन १ गते पर्यावरण प्रवर्द्धका लागि साइकल र्यालीको आयोजना गरेको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तरगत मंगलबार तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । रेडियाेले चौथो दिन दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया गरिने छ भने पाँचौ दिन ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को’ भन्ने विषयमा मावि स्तरीय वक्तृत्वकला कार्यक्रम आयाेजना गर्नेछ ।
यसैगरी छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने स्टेशन म्यानेर मणिराज गौत्तमले जानकारी दिए । सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने स्टेशन म्यानेर गौत्तमले जानकारी दिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१६, हटियामा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । हेटाैडा उपमहानगरपालिकाले प्रयाेगशाला स्थापना गरेकाे हाे । सोमबार उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रयोगशालाको उद्घाटन गरेका छन् ।
करिब ५ लाखकाे लागतमा प्रयोगशाला स्थापना गरिएको हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक विकास महाशाखाले जानकारी दिएकाे छ । प्रयाेगशालालाई आवश्यक थप उपकरण तथा जनशक्ति ब्यवस्थापनमा उपमहानगरपालिले थप सहयोग गर्ने भएकाे छ । प्रयाेगशालामा किसानहरुले आफ्नो खेतबारीमो माटो निशुल्क रुपमा परिक्षण गर्न सक्नेछन् ।
मकवानपुर । नेपाल कम्युनिष्ट पाटी (एमाले) मकवानपुरका निर्विरोध निर्वाचित सदस्यहरुले साेमबार पद तथा गोपनियताको सपथ लिएका छन् । यस अघी पदाधिकारी र केही सदस्यहरुले मात्र सपथ लिएका थिए । कोरोना संक्रमणका कारण हुन नसकेकाे सपथग्रहण काेराेना संक्रमणकाे जाेखिम कम भएसँगै साेमबार भएकाे हाे ।
एमाले मकवानपुरको गत पुस २३–२५ गते हेटौँडामा सम्पन्न ११ औँ जिल्ला अधिवेशनबाट निर्विराेध भएका सदस्यहरुको सपथ ग्रहण करिब डेढ महिना भएको हो । एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव दुइ जना सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको थियो । तर कोभिडको कारण सपथग्रहण रोकिएको थियो । गत माघ ११ गते जिल्ला पार्टीको कामलाई सहज बनाउ पदाधिकारी सहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएकाहरुको सपथग्रहण गरिएको थियो ।

सपथग्रहण लगतै एमाले मकवानपुर कमिटीको बैठकले जिल्ला कमिटीका सदस्यहरु मनोनित गर्ने निर्णय गरेको छ । मनोनित गरिएकाहरुलाई बागमती प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गरिने र त्यहाँबाट स्वीकृती भएर आएपछी सपथग्रहण गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैगरी बैठकले एमाले मकवानपुरले आफ्ना पार्टीका गतिबिधिहरुलाई जिल्लाका १० वटै स्थानीय तह, प्रत्यक वडासंगै टोलटोलमा पु¥याउने भएकाे छ ।
सपथग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, भारती पाठक, एमाले पूर्व केन्द्रीय सदस्य एवम् पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, बलराम बल, रामचन्द्र राई, रघुनाथ खुलाल, एकराज उप्रेती, अणराज जर्गामगर, कमल विष्ठ, पद्मा पौडेल, भगवती पुडासैनी लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।
सावित्री अधिकारी
प्रिय प्रेम,
मैले तिमीलाई बुझ्न सकिन
या
तिमीले मलाई बुझ्न चाहेनौ?
मैले तिमीलाई भेट्न सकिन
या
तिमीले मलाई भेट्नै चाहेनौ?
आखिर कहाँ बस्छौ तिमी?
मलाई लाग्थ्यो तिमी हृदयमा हुन्छौ
तर यदि हृदयमा हुन्थ्यौ भने
किन खोज्छन् मान्छे तिमीलाई
गुलाफको फूलमा?
अनि राम्रा र महङ्गा उपहारमा?
यदि तिमी मनमा हुन्थ्यौ भने
किन महशुस गर्दैनन् मनहरुले ?
अनि खोज्छन् रुप शरीर र वैंसमा
तिमी त पवित्र हुन्छाै
भन्ने सुनेको थिएँ
तर किन जुठोमा खाेज्छन्
मान्छेहरु तिमीलाई ?
के तिम्रो पनि उमेर हुन्छ?
हुन्छ भने भन्देउ न तिमी
कति देखि कति उमेर सम्म आउँछाै?
आज तिम्रो दिवस अरे
मान्छेहरू तिम्रो स्वागत गर्न
ठुला ठुला होटल र पार्कमा
जम्मा भएका छन्
नाचगान चलेको छ
रुप र यौवनले धपक्क बलेर
खटिएका छन् तिम्रो स्वागतमा
के तिमीलाई पाउन दिवस नै कुर्नु पर्छ ?
अनि अर्कोतिर
एउटा निर्धन, निश्चल
निश्वार्थ, निरिह
पवित्र आत्मा
तिम्रो आगमनकाे बाटो
कुरिरहेछ
के तिमी आउन सक्छौ ??
सुकेधार काठमाडाैैं
मकवानपुर । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ। प्रणय दिवसमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन्।
आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग गर्छन्।
विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन्।
यो पर्व वा दिवसमा गुलाब को फूल अफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रत्येक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५ लाख भन्दा बढी गुलाब को बिक्री हुने गरेकाे छ ।
यसरी सुरु भयाे दिवस
प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन ।
प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ ।
एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ झूटो प्रेम ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसकाे सबैलाई हाम्राे पनि शुभकामना ।