मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको मोटरसाइकलसहित युवालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा–८ बस्ने २८ वर्षीय राज कुमार लोप्चनले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ना. ६२ प ९६४२ नं. को २२० सि.सि. को पल्सर मोटरसाइकल चोरी भएपछी प्रहरीले फेला पारेको हो । प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ नमुना चोक स्थित डेरा गरी बस्ने वर्ष २३ को बिशाल बिश्वकर्मासहित मोटरसाइकल नियन्त्रणमा लिएको बताएको छ ।
बिश्वकर्माले आफ्नो डेरामा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाइकल फेला परेको प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । उक्त मोटरसाइकल सहित चोरीमा संलग्न भएको आरोपमा हेटौंडा–१० घर भई हाल मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानीमा अटो ग्यारेज सञ्चालन गरि डेरा गरि बस्ने २२ वर्षीय रवि साहलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु दुबैलाई मकवानपुर जिल्ला अदालतबाट १४ दिन म्याद अनुमति लिएर अनुसन्धानको लागि ई थप अनुसन्धान गरिरहेको रिमालले बताए ।
मकवानपुर/पटक पटक स्थागित भएपछि सोमबार भएको नेपाली काँग्रेस मकवानपुरको निर्वाचनमा संस्थापन इतर पक्षको उम्मेदवारहरु विजयी भएका छन् ।
संस्थापन पक्षमै दुइ गुट विभाजन भएर उम्मेदवारी दिंदा इतर पक्षले मौका पाएको हो । जिल्ला सभापतिमा संस्थापन पक्षका बुद्ध लामा सर्वसम्मत चयन भएपनि पदाधिकारीहरुमा भने इतर पक्षको बाहुल्यता रहेको छ । पदाधिकारी तथा अन्य सदस्यहरुमा संस्थापन इतर पक्षका सभापति पदमा उम्मेदवार जयराम लामिछाने समूहको वर्चस्व कायम भएको हो ।
पदाधिकारीमा उपसभापति, सचिव, सह सचिव गरी ६ जना संस्थापन इतर पक्षकाले विजयी हासिल गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । उपसभापतिमा निर्वाचित भएका कठायतले ६ सय ११ र लामिछानेले ६ सय ६ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४ सय ८७, भिम लामाले ४ सय ६३ र रमेश गिरीले ३ सय ५३ मत प्राप्त गरेका छन् ।
कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । विजयी भएका दुबैजना महत र पाठक सभापतिका प्रत्यासी जयराम लामिछाने समूहबाट चुनावी मैदान थिए । सविचमा निर्वाचित महतले ८ सय १३ र पाठकले ७ सय ३५ मत प्राप्त गरे ।
यस्तै सचिवका अन्य उम्मेदवारमा यतिराज सापकोटाले ५ सय ४८, अर्जुनप्रसाद चौलागाईले ३ सय ९७, प्रदिप कोइरालाले ३ सय ६८ र मानबहादुर पाटा मगरले २ सय ५० मत प्राप्त गरेका छन् । कांग्रेस मकवानपुरको सह–सचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई विजयी भएका छन् । सह–सविचमा निर्वाचित न्यौपानेले ८ सय ५० र बजगाईले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै सह–सचिवका अन्य उम्मेदवारहरुमा मिरा स्याङतानले ५ सय २०, रत्नबहादुर गोलेले ४ सय १४, अर्जुनप्रसाद तिवारीले ३६२, कृणप्रसाद दहालले २ सय ६९ र सुमन कार्कीले १ सय २६ मत प्राप्त गरेका छन् । सह–सचिवमा विजयी भएका न्यौपाने सभापतिका प्रत्यासी जयराज लामिछाने समूहबाट चुनावी मैदानमा थिइन भने बजागाई सभापतिमा विजयी लामा समूहबाट चुनावी मैदानमा थिए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सोमबार भएकाे मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । सोमबार राति सम्पन्न मतगणना अनुसार सभापति पदकाे अन्तिम मत परिणाममा सभापति पदका उम्मेदवार बुद्ध लामाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
लामाले ५ सय ९२ मत प्राप्त गरेको कांग्रेस मकवानपुरले जनाएको छ । सभापति पदका अर्का उम्मेदवारद्वय आनन्दराम पराजुलीले ५ सय ४२ मत र जयराम लामिछानेले ५ सय ३१ मत पाएका छन् । कांग्रेसको विधानमा सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत अनिवार्य रहेकाे छ । उक्त मतपरिणाम अनुसार सभापति पदका तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् र निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच दोस्रो चरणको मतदान हुने भएको हो । बुद्ध र पराजुली दोस्रो चरणको निर्वाचनमा जाँदैछन् । ११ मतले जयराम बाहिरिएका हुन् ।
लामा र पराजुली दुवै संस्थापन पक्षबाटै उम्मेदवार रहेका छन् । लामालाई कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानिया र पराजुलीलाई कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाकाे साथ रहेकाे छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर समूहको सहयोग पनि निर्णायक रहने बुझिएको छ । कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, नेतृ रिता खनाल, उमा दाहाललगायतले खुलेरै जयरामलाई सहयोग गरेका थिए । अब लामिछानेले लामा र पराजुली मध्ये कसलाई समर्थन गर्छन उहि विजयी हुने निश्चित देखिन्छ ।
मकवानपुर । हिन्दुहरुकाे प्रमुख चाड महाशिवरात्री पर्व आज मनाइदैछ । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। महाशिवरात्री पर्व मंगलबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न पशुपतिमा आउने गरेका छन् । महाशिवरात्री पर्वमा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो ।
यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
यस पर्वका दिन उपवास गरी ” ॐ नमः शिवाय” मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुधको अभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ।
शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ भने जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दुधले स्नान गराइन्छ। सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ।
सत्तारूढ दलहरूले प्रतिनिधि सभा बैठकबाट १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीलाई सहमतिबाटै अनुमोदन गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध चार दलले एमसीसीमाथि उठेका प्रश्न र संशयलाई समेट्ने गरी ‘व्याख्यात्मक घोषणा’ गर्दै एमसीसी परियोजनालाई आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट अनुमोदन गरेका हुन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस विगतदेखि नै एमसीसीका विषयमा प्रस्ट रहँदै आएको थियो । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, नेकपा एस र जसपाले भने आइतबार मात्रै एमसीसीका पक्षमा मतदान गर्ने निर्णय लिएका थिए ।
आआफ्ना दलको आन्तरिक बैठकपछि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक बसेको थियो । सो बैठकबाट एमसीसीमाथि ‘व्याख्यात्मक घोषणा’ गर्दै एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने निर्णय भएको थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसीका विषयमा उठेका प्रश्नलाई समेट्नेगरी व्याख्यात्मक घोषणा गर्दै एमसीसी परियोजनालाई संसद्बाट अनुमोदन गर्न सत्ता गठबन्धन आबद्ध दलहरू एकसाथ अघि बढेको जानकारी दिए ।
‘गठबन्धनभित्र उठेका अनेक शंका र आशंका मात्रै होइन, एमसीसीमाथिको आशंका र प्रश्नलाई पनि चिर्नेगरी सत्ता गठबन्धनले एमसीसीमाथि व्याख्यात्मक घोषणा गर्दै सहमति गरेको हो, अब गठबन्धन झन् बलियो भएको छ,’ पौडेलले राजधानीसँग भने ।
सत्तारूढ गठबन्धनभित्र एमसीसीकै विषयमा असहमति बढ्दै गर्दा गत शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी परियोजनालाई संसद्बाट व्याख्यात्मक घोषणा गर्दै टुंगो लगाउन सकिने प्रस्ताव गरेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी परियोजनालाई पारित गर्ने निर्णयमा पुगेका हुन् ।
सत्ता गठबन्धन बैठकपछि तयार गरिएको व्याख्यात्मक घोषणालाई मन्त्रिपरिषद् बैठकले पारित गरेपछि संसद्ले त्यसलाई अनुमोदन गरेको हो । संसद् बैठकको पहिलो सत्रमा एमसीसीमाथि भएको सैद्धान्तिक छलफलपछि संसद् भवन नयाँ बानेश्वरमा नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारकार अर्थमन्त्री युवराज खतिवडाले ३० असार २०७६ मा प्रतिनिधि सभामा एमसीसी परियोजनासम्बन्धी सो सम्झौता दर्ता भएको थियो । यस्तै, गत ८ फागुनको बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसद्मा टेबल गरेका थिए । राजधानी दैनिकबाट