मकवानपुर । डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुदेखिनै पिप्लेका खेलाडी हिमालयन सामु हाबी भएका थिए । सुन्दर फिनिसिङका साथ मैदानमा रहेका पिप्लेका खेलाडी आक्रामक अवस्थामा देखिए । पिप्लेले खेलको १५ औँ मिनेटमा रूपक लामाको गोलबाट अग्रता बनाएको थियो । ४० यार्ड टाडा पाएको फ्रिकिकलाई पिप्लेका रूपक लामाले कुनै गल्ती नगरी हिमालयनको जाली चुमाउन सफल भए ।
पहिलो हाफमा १–० को अवस्था बनाएको पिप्लेले दोस्रो हाफको ४ मिनेटमै दोस्रो गोल थप्यो । रूपक लामाको क्रसमा कुलदिप कार्कीले हेडमार्फत पिप्लेका लागि दोस्रो गोल गरे । दोस्रो हाफ पछि पनि पिप्लेका खेलाडी पुरा समय लयमै खेलिरहे ।
यस्तै खेलको अतिरिक्त समयमा पिप्लेका रितिक खड्काले पाएको वान टु वानको अवस्थालाई सहजै गोलमा परिणत गर्दै टिममलाई ३–० को अवस्थामा पुर्याए । पिप्लेले खेलमा दुई गोल गरेपछि हिमालयन केही दबाबमा देखिएको थियो । सुरुदेखिने निकै कमजोर फिनिसिङ खेलेका हिमालयन सेर्पाको खेलमा फर्कने लगातारको प्रयास असफल भयो । सुरुदेखिनै लयमा खेल्न नसकेको हिमालयन त्यस पछि पनि खेलमा फर्कन सकेन ।
खेलमा हिमालयनका खेलाडीले बनाएको केही राम्रा अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । खेलको ७ औँ मिनेटमा हिमालयनका विकास मेरागिलले गरेको सशक्त प्रहार पिप्लेका गोल रक्षक अशोक बरालले असफल गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका दिवस ओरओले सुन्दर हेड गरे । तर, क्रसबारमा ठोकिएर फक्रियो ।
दोस्रो हाफको ३२ र ३३औं मिनेटमा हिमालयनका सत्य शर्माले पिप्लेको गोल पोस्टमा दुई वटा सशक्त प्रहार गरे । तर, सफल भएनन् । बल क्रमशः पहिलो बारमा र क्रसबारमा लागेर फर्कियो । त्यस पछि पनि हिमालयनका खेलाडीले केही राम्रो अवसरहरू तयार गरे । तर सदुपयोग गर्न सकेनन्, योसँगै हिमालयन सेर्पाले उपाधि होडबाट बाहिरिनु पर्यो ।
पिप्लेको लागि पहिलो गोल गरेका रूपक लामा म्यान आफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार समेत प्राप्त गरे । उद्घाटन खेलमा धु्रवतारा सर्पोटिङ झापालाई पराजित गर्दै हिमालयनले पिप्लेसगँको भेट पक्का गरेको थियो । एक खेल बाइपाएको पिप्लेले सिधै क्वाटरफाइनल खेलेको हो । यस प्रतियोगिता अन्तरगत सोमवार दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस र सुदूर पश्चिम–११, धनगढी खेल्ने छन् ।
पुलिस नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुदूर पश्चिम–११, एक खेल बाई पाएर अन्तिम चारमा रहेको थियो । १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
मकवानपुर/ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको चुनौतीलाई समाजले अस्वीकार गरेको गुनासो गरिएको छ । परिवारले हुर्काइको क्रममा, समाजले सामाजिकीकरणको सवालमा, स्कुलले शिक्षा आर्जनको समयमा यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुमाथि विभेद गरिरहेको उनीहरुले बताएका हुन् ।
“संविधानले प्रदान गरेको अधिकार पनि कार्यान्वयनमा छैन”, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघको उपाध्यक्ष भूमिका श्रेष्ठले भनिन् “पाइलै पिच्छे विभेद र तिरस्कार सहेर पनि हामी संघर्ष गरिरहेका छौ ।” अमेरीकी सरकारबाट विश्वको साहसी महिलाहरुको सूचिमा सुचिकृत भइ हालै सम्मानित भएकी भूमिका श्रेष्ठले हेटौंडामा आयोजित एक कार्यक्रममा भनिन् “संघर्ष गर्न नडराएकै कारण आज हाम्रो समाज विस्तारै परिवर्तन हुदै आएको आभाष गर्दछौं ।”
आफ्नो पहिचान बताएपछि विभिन्न प्रकारको विभेद खप्नु परेको उनले बताइन् । नेपाल सरकार जनसेवा श्री पाँचौबाट पनि २०७८ द्वारा विभूषित भएकी श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई संविधानतः प्रदत्त अधिकारको उपभोगमा समेत समस्या भएको बताइन् । आफ्नो इच्छा चाहाना भन्दा फरक तरीकाले बाँच्न बाध्य रहेको उनले गुनासो गरिन् ।

“स्कुलको पाठ्यक्रममा पनि विभेदीत शब्दावली छन्, बाटो घर परिवार स्कुल सबैतिर हेपिएर बाँचेका छौ, अवार्ड पाउँदा एकदम खुसि भएँ, विगतको दिन सम्झिएँ’ पुरस्कृत हुँदाको अनुभव स्मरण गर्दै उनले भनिन् ‘नीतिगत रूपमा र कानुनी रूपमा सुधार आवश्यक छ, सामाजिक न्याय संबिधानले दिएको छ, हामीलाई छैन, समानताको हक छ, हामीले पाएकै छैनौ, अवार्डले जिम्मेवारी बोध गराएको छ ।” हाम्रो समाजमा महिला र पुरूष बाहेक पनि मान्छे छ भन्ने समुदायलाई बुझाउन बाँकी रहेको उनले बताइन् ।
पहिचानको आधारमा नागरिकता दिन अझै पनि मेडिकल प्रमाण माग्ने गरेको, वैवाहिक सम्बन्ध बसाउन हक संविधानले दिए पनि व्यवहारमा नभएको उनले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको चुनौती र समाधानका उपायबारे हेटौंडामा भएको कार्यशालामा श्रेष्ठले यस्तो बताएकी हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी मनिषा ढाकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले भोग्दै आएको समस्याबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी निल हिरा समाज अध्यक्ष पिंकी गुरुङले सामाजिक, बहिस्कार, शिक्षा आर्जनमा असहजता, यौन दुव्र्यवहारका बाबजुत पनि आफूहरु निरन्तर संर्घषमा लागिरहेको बताइन् ।
प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाएर कार्यान्वयमा ल्याउनु पर्ने र यसको लागि आफूहरुले सहकार्य गर्न तत्पर रहेको गुरुङले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, महिला तथा बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नीति निमार्ण तहमा संलग्नहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको चुनौतीबारे जानकारी गराउन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाउन सहकार्य गर्न आफूले समन्वय गर्ने बताए । यसैगरी सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखाकी चन्दकुमारी व्यान्जनकार जिल्लाका सञ्चारकर्मीहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध र नगद सहित एक युवालाई नियत्रन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा वडा १४ घर भइ हेटौंडा २ मा बस्दै आएका २१ वर्षीय अजय गोलेलाई नियन्त्रणमा लिएको हो ।
उनलको डेराकोठामा चेकजाँच गर्दा लुकाई राखेको लागुऔषध डाईजेपाम ५८ एम्पुल, फेनारगन ५७ एम्पुल, नफिन ५७ एम्पुल बरामद गरिएको थियो । यसैगरी उनको साथबाट लागुऔषध नाईट्रोभेट ८१ ट्बलेट, लागु औषध ओनारक्स ३ बोतल, ट्रमाञ्जोल २१ क्याप्सुल र नगद २९ हजार ६ सय ५० फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
मकवानपुर/वडा कार्यालयमा गरिएको तोडफोड तथा वडा अध्यक्षको कुर्सी सडकमा फ्याँक्ने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा कार्यालयमा शुक्रबार गरिएको तोडफोड विरुद्ध कारवाहीको माग गर्दै स्थानीयहरुले ज्ञापन पत्र बुझाएका हुन् । वडावासीले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई आज ज्ञापनपत्र बुझाएका हुन् ।
गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुर्व्यहार भएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको छ । टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्याँकेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । शुक्रबारहेटौंडा उपमहानगर –८ को वडा कार्यालयमा तोडफोड गर्दै अध्यक्ष गोपालबहादुर श्रेष्ठको कुर्सी फालिएको थियो । स्थानीय सेवाग्राहीले वडाअध्यक्ष श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै तोडफोड गरेको दाबि गरेका थिए ।
वडा अध्यक्ष श्रेष्ठ एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् । पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउन मनसायले पार्टीको काममा बढि ध्यान दिन थालेको स्थानीयले बताए छन् । प्रशासनमा नाराबाजीपछि बुझाएका स्थानीयहरुको साथमा अहिले सहायक प्रमुख जिल्ला अधिकार गैह्रेको अध्यक्षता सर्वदलीय संयन्त्रको बैठक बसिरहेको छ ।
निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् ।
आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीना दिनुपर्ने उल्लेख छ ।
‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउनेगरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सांसदको निर्वाचन हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिका मेयर वा अध्यक्षले सेवा नै प्र्रभावित हुनेगरी किन राजीनामा दिनुपर्ने भन्दै प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नुपर्दैन । स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयर चाहिं पद खाली गरेर चुनावमा जानुअघि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’ रिजालले प्रश्न गरेका छन्, ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’
उनले निर्वाचन आयोगलाई स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाप्रति पनि ध्यानाकर्षण गराएका छन् । निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ने भए पनि सेवा नै रोक्नेगरी आचारसंहिता बनाउन उचित नहुने उनले बताए ।
‘कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर जनप्रतिनिधिको अवधि सकिनु दुई महिनाअघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुनविपरीत पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने ?’ रिमालले प्रश्न गरेका छन् ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले स्थानीय जनप्रतिनिधिले उम्मेदवारी दिनु पहिले नै राजीनामा दिनुपर्ने व्यवस्था विभेदकारी रहेको टिप्पणी गरेका छन् ।
‘स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद छ’ रिजालले भनेका छन्, ‘के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका मन्त्रीले पहिल्यै राजीनामा दिनुहुन्छ ?’
उनले यस्तो आचारसंहिताअनुसार त सरकारबिना नै चुनाव गराउनुपर्ने अवस्था आउने उल्लेख गरेका छन् ।
‘चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री–मन्त्री नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो । स्थानीय तहमा एमालेका जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरूले नै जित्ने हुन् भन्ने नाममा यति हास्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो,’ उनले भनेका छन् ।
सत्तारूढ नेपाली कांग्रेसले आयोगले गरेको व्यवस्थाप्रति प्रश्न उठाउँदै राजीनामा दिनुपर्ने आवश्यक नभएको जनाएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मनोनयन दर्ता गर्नुअगावै स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानका कारण स्थानीय निकाय लामो समय जनप्रतिनिधिविहीन हुने बताए ।
‘यस्तै हो भने केन्द्र सरकारले पनि राजीनामा दिनुपर्ने हो, खाली राख्ने हो मुख्यसचिवले चलाउने हो कि के हो ? राजीनामा गर्नुपर्ने औचित्यमाथि प्रश्न गर्दै प्रवक्ता महतले भने, ‘सरकारमा÷पदमा बसिरहे पनि सम्बन्धित व्यक्तिले आचारसंहिता पालना गर्न परिहाल्छ । सरुवा, बढुवा, कुनै पनि घोषणा गर्न पाउँदैनन् ।’
आयोगले आचारसंहिता जारी गर्नुअघि राजनीतिक दलसँग सल्लाह गरेको भए यस्तो विवाद नआउने उनले बताए । राजनीतिक दलसँग सल्लाह, परामर्श गरेर आयोगले आचारसंहिता जारी गरेको भए प्रभावकारी हुने उनले बताए ।
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) का कार्यकारिणी सदस्य मनीष सुमनले आयोगले जारी गरेको आचारसंहिता विभेदकारी भएको टिप्पणी गरेका छन् ।
‘पाँचवर्षे कार्यावधि नसकिँदै मधेस प्रदेशका स्थानीय तहमा समेत निर्वाचन हुँदै छ । त्यसमा पनि उम्मेदवारी दर्ता गर्नुभन्दा अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाले मधेसका जनप्रतिनिधिको हकमा न्यायसंगत छैन’ सुमनले भने, ‘संविधानमा भएको व्यवस्थाअनुसार समेत जनप्रतिनिधिले आफ्नो काम गर्न नपाउनु विभेदकारी हो ।’
कानुनअनुसार नै आचारसंहिता
राजनीतिक दलले निर्वाचन आचारसंहिताको विरोध गर्दै गर्दा आयोगले त्यसको बचाउ गरेको छ । अहिलेको कानुनी व्यवस्थाअनुसार नै निर्वाचन आचारसंहितमा राजीनामाको व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दाबी गरेका छन् ।
स्थानीय निर्वाचनलाई अझ स्वतन्त्र, निष्पक्ष र प्रभावरहीत बनाउने उद्देश्यका साथ नयाँ व्यवस्था गरिएको दाबी पौडेलले गरेका छन् ।
‘उम्मेदवारले राज्यका स्रोतसाधनको प्रयोग नगरून् र सबै उम्मेदवारले समान रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनोस् भन्ने नै आयोगको उद्देश्य हो’ प्रवक्ता पौडेलले भने, ‘यो व्यवस्थाप्रति आपत्ति जनाउनुपर्ने त्यस्तो कुनै कारण नै छैन ।’ राजधानी दैनिकबाट