मकवानपुर । त्रिवि क्रिकेट मैदान काठमाडाैंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै टी–२० क्रिकेट सिरिजको उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६ ओभर १ बलमा अलआउट हुदै १ सय १८ रनमा सिमित भएपछि फाइनल नेपालले जितेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिदै ५४ रन बनाए । खेलमा करण केसीले ३ विकेट लिए । केसीले १२ बलमा अविजित ३३ रन बनाए । र कप्तान सन्दीप लामिछाने २ विकेट लिए। ऐरी यो समेत पाँचौ अर्धशतक हो । उनी नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन जोडे । आरिफ शेख र दिलिप नाथ शून्य रनमै आउट भए । आदिलले १५ रन जोडे ।
पीएनजीका सेमो कामेयाले एकै ओभरमा ३ विकेट लिएका थिए । उनले ११ औं ओभरमा आशिफ, आरिफ र दिलिप नाथको विकेट हात पारेका थिए । चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक–एक विकेट लिए । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन जोडे ।
मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकमा ९० किलो लागुऔषध गाँजा ओसार्दै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट ट्रक सहित व्यक्ति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार चितवन जिल्लाबाट मकवानपुर मनहरी तर्फ आउदै गरेको BR-25GA3092 नम्बरको भारतिय ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाई ल्याएको फेला परेको रिमालले बताए । ट्रकका चालक भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षिय असगर अलिलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।
सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।
सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।
यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ ।
– २०७४ मा प्राप्त समानुपातिक मतका आधारमा चिह्न
– मतपत्र हरियो
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था उल्लेख छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न कायम हुने जानकारी दिए ।
‘आयोगले मतपत्रमा चुनाव चिह्न राख्दा दल हेर्दैन, कानुन हेर्छ, कानुनअनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा मतपत्रमा चुनाव चिह्न कायम हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
दलहरूबीचमा मतपत्रमा चुनाव चिह्न राख्ने विषयमा विवाद हुने गरेपछि २०७३ सालमा निर्वाचनसम्बन्धी कानुन बनाउँदा समानुपातिकतर्फ दलले प्राप्त गरेको मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था गरिएको थियो ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत पाएको थियो । एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको थियो ।
यसैगरी, कांग्रेसले दोस्रो बन्दै ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको थियो भने माओवादी केन्द्रले आफ्नो चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको थियो ।
यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले छाता चिह्नमा ४ लाख ७२ हजार २ सय ५४ मत पाएको थियो भने संघीय समाजवादी फोरम नेपालको चिह्न हातले समातेको मसालमा ४ लाख ७० हजार २ सय १, विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६४, राप्रपाले गाईमा १ लाख ९६ हजार ७ सय ८२, राप्रपा प्रजातान्त्रिकले गोलाकारभित्रको हलोमा ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टीले देब्रे आँखामा ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले गिलासमा ६२ हजार १ सय ३३ मत प्राप्त गरेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेका छन् । नेपाल पेट्रोलियम डिलर एसोसिएसन लगायतले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने सरकारी निर्णयकाे विराेधमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री बन्द भए पछी शनिबार पेट्रोलियम पदार्थकाे अभाव हुने संकेत देखिएकाे थियाे ।
एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएरै आन्दाेलन गरेका थिए । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले आयल निगमसँग शनिबार ४ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगम प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने गरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्म सम्बाेधन हुने सहमति भएकाे उपाध्यायले बताए । उनले भने, ‘समहतिसँगै विरोधका कार्यक्रमहरु शनिबारकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी समिति बनाएर आन्दोलन गरेका थिए । ‘हाम्रा मागका सम्बन्धमा निगमसँग ४ बुँदे माग सहमति भएकाे छ’ समन्वय समिति प्रवक्ता विश्व प्रसाद अर्यालले भने– ‘इन्धन ढुवानी तथा विक्री वितरण सहज गराउँछाैं । आम उपभाेक्तालाई आवश्यक इन्धन खरिद गर्न तथा अनावश्यक संचित नगरी दिन आग्रह गर्दछु ।’
रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य बढेपनि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । पेट्रोलियम ढुवानी व्यवसायीहरुले ६ बुँदे माग राख्दै अत्यावश्यक वस्तु इन्धनको ढुवानी नै बन्द गरेका थिए । त्यसकाे मारमा शुक्रबार र शनिबार सर्वसाधरण परेका थिए ।
मकवानपुर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा जनप्रतिनिधिहरूले आफ्नो लोकप्रियता बढाउने अनेक तरिका अपनाउन थालेका छन् ।
यसै बिच मकवानपुरको एउटा गाउँपालिकाका जनप्रतिनिधिले कार्यकालको अन्तिमतिर आउँदै गर्दा आफूहरूले खांदै आएको सरकारी सुबिधा त्यागेको घोषणा गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका हुन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा कार्यपालिकाको अन्तिम बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आआफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । सरकारले आगामी ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दलहरुमा निर्वाचनको चटारो सुरु भइसकेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरु कार्यपालिका बैठककाबीच एकअर्कालाई फूलमाला र अबीर लगाएर बिदा भए ।
“हामीले राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौं तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौं” गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने ।
“अर्को पटक पनि पार्टीले टिकट दिएमा र जनताले पत्याएमा पुनः गाउँपालिकाको काम कारबाही सम्हाल्न हामीमध्ये धेरै दोहोरिन सक्छौं, अहिलेलाई सबै सुविधा त्यागेर उच्च नैतिकता प्रस्तुत गरेका छौं” उनले भने ।
करिब पाँच वर्षसम्मसँगै यात्रा गर्दा कार्यपालिका सदस्यहरुबाट धेरै सहयोग प्राप्त भएको र आफूहरुले सोचेभन्दा धेरै काम गर्न सफल भएको पनि अध्यक्ष मल्लले स्मरण गरे ।
“हामी फरक फरक पार्टीबाट निर्वाचित भएर आएका थियौं । फरक पार्टी र फरक विचार हुँदा काम गर्न अप्ठेरो भएका अन्य स्थानीय तहका धेरै उदाहरण छन् तर, हाम्रोमा कुनै दिन पनि त्यस्तो विवाद भएन । जनताको काममा हामी एक मन भएर लाग्यौं” अध्यक्ष मल्लले भने । उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रका व्यक्तित्व र संघसंस्थाहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरे ।
बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत देवचन्द्र गर्तौलाले जनप्रतिनिधिहरुलाई बिदाई गर्दै आगामी निर्वाचनबाट जोसुकै निर्वाचित भएर आएता पनि कानुन, विधि र प्रक्रियामा रहेर आफूहरु सहयोग गर्न तयार रहेको बताए ।