मकवानपुर । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।
मङ्सिरमा भएको एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका बादल पूर्वमाओवादी नेता हुन् । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अध्यक्ष केपी ओली सहित प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित भएपछि दलको नेता बन्ने अवसर उनले पाए । यो पटक बादल समानुपातिक बन्दसूचीमा रहेका थिए ।
- को हुन् बादल ?
वि.सं. २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका उनी २०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय सहभागी भएका थिए । चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी-एजी अध्ययनका क्रममा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि बादल माओवादी आन्दोलनलाई अगाडि बढाउन सक्रिय भए । २०५२ सालमा नेकपा माओवादीले सशस्त्र आन्दोलन गर्दा उनी सैन्य योजनाकार थिए । पुराना कम्युनिस्ट नेता अमिक शेरचनबाट बादलले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०७८ सालमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेका थिए । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई तिहाइ नेतृत्वको सरकार बनाएको बेला पार्टीको तर्फबाट संसद्मा प्रभावकारी भूमिका निर्वाचन गर्नुपर्ने चुनौती बादललाई रहेको छ ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठक एक हप्ता भित्र सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
काग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बैठकले एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रदेशसभाको रिक्त सभामुख पदमा कांग्रेसले दाबी गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, प्रदेश उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले पेश गरेको मस्यौदामा छलफल गरेको छ । सोही मस्यौदाअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने विषयलाई सरकारमा सहभागी दुई दलबीच छलफल गरी पारित गर्न सरकारलाई अनुरोध गरिएको छ । मस्यौदाको सुझावमा हाल कायम १३ मन्त्रालयलाई घटाएर ७ मा सीमित गर्ने, ७ निर्देशनालयलाई २ मा झार्ने तथा ५ वटा खारेज गर्ने प्रस्ताव गरिएको थियो ।
बैठकले पार्टीभित्र देखिएका आन्तरिक समस्या सहमति र संवादमार्फत समाधान गर्दै आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सफल बनाउन दुवै पक्षलाई आग्रह गरेको छ । यसैगरी कांग्रेसको विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना दिएको छ ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता, सदस्य तथा शुभेच्छुकहरूलाई प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न मन्त्रालयमा जम्मा नहुन निर्देशन दिएको छ।
रास्वपाले सोमबार जारी गरेको विज्ञप्तिमा अनावश्यक भेटघाट, खादा-फुलमाला लगाउने र फोटो खिच्ने गतिविधिहरू पार्टी अनुशासन विपरीत र भड्किलो हुने भएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिएको उल्लेख छ। केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवा प्रवाह र सरकारको द्रुत कार्यसम्पादन सुनिश्चित गर्न आवश्यक समय खर्च हुने हुँदा, अनावश्यक जमघट र भिडभाडले कार्यसम्पादनमा ढिलाइ, गुणस्तरमा असर र समग्र सरकारी प्रणालीमा कठिनाइ सिर्जना गर्न सक्छ।”
पार्टीले सम्पूर्ण पदाधिकारी र सदस्यलाई उक्त निर्देशन कडाइका साथ पालना गर्न भनेकाे छ ।
मकवानपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परे पछि प्रदर्शन सुरु भएकाे छ । एमालेका भातृ संगठनहरुले प्रदर्शन गरेका हुन् ।
ओलीसँगै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् । ओली र लेखक माथि भदौ २३ को जेनजी आन्दोलनमा भएको हत्याको मुख्य अभियोग लगाइएको छ । अब फौजदारी कानूनअनुसार उनीहरु माथि कारवाही हुने बताइएको छ । जेनजी आन्दोलनमा भएको दमन र तोडफोडको घटना बारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई १० बर्षसम्मको जेल समाज माग गरेको छ । उनीमाथि कस्तो सजाय होला ? अब अदालतले तय गर्नेछ ।
यसैबीच ओली र लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ । आज (शनिबार) अदालत बिदा भएकाले प्रहरीले उनीहरूलाई आइतबार थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ । पक्राउ पछि ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने बताइएकाेमा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि उनी टिचिङ्ग अस्पताल भर्ना भएका छन् ।
पार्टी उपाध्यक्ष राम बहादुर थापाले भेट पछि ओलीलाई पत्थरीकाे समस्या भएकाे जानकारी दिएका छन् । एमालेले सडक सदन र अदालतबाट अध्यक्षकाे पक्राउ विरुद्ध संघर्ष गर्ने निर्णय गरेकाे छ ।
योसंगै विभिन्न कसुरमा पक्राउ पर्ने पूर्व प्रधानमन्त्रीहरुमा ओली सूर्यवहादुर थापा र शेरबहादुर देउवापछि ओली तेस्रो व्यक्ति भएका छन् ।
पूर्व प्रधानमन्त्री थापाको जेल यात्रा
नेपाली राजनीतिको चतुर खेलाडीको रुपमा चर्चित सूर्यबहादुर थापा पहिलो पटक २०२१ साल माघमा प्रधानमन्त्री भएका थिए । पंचायतको समर्थक भए पनि उनले कतिपय घटनाक्रमहरुको भने कडा विरोध गर्ने गर्दथे । त्यसैक्रममा विसं २०२९ मा काठमाडौंको इटुम्बहालमा आयोजित एक सार्वजनिक सभामा राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने भन्दै १३ बुँदे मागसहितको भाषण गरेका थिए।
त्यसको केही समयपछि असोज २०२९ मा उनलाई विभिन्न प्रकरणमा भ्रष्टाचार गरेको सहित विभिन्न आरोपमा पक्राउ गरी नख्खु जेलमा राखिएको थियो । पक्राउको केही महिनापछि जेलभित्रै उनले राजनीतिक सुधारको माग गर्दै २१ दिन लामो भोक हड्ताल समेत गरेका थिए । त्यो हडताल गरेपछि उनी रिहा भएका थिए ।
देउवा भ्रष्टाचारको अभियोगमा जेल
राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शेरहादुर देउवा सरकारलाई वर्खास्त गरि सत्ता आफै हातमा लिए र भ्रष्टाचारका घटनाहरुको छानबिन गर्न भन्दै उच्च स्तरिय आयोग गठन गरे । भक्तबहादुर कोइराला नेतृत्वको उक्त आयोगले मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै २ वर्षको कैद र ९ करोड रुपैयाँ जरिवाना सुनाइएको सुनाउंदै पक्राउ गरेर जेल हालेको थियो ।
उनीसंगै पूर्व मन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंह पनि सो प्रकरणमा परेका थिए । २०६२ फागुन १ गते सर्वोच्च अदालतका ५ न्यायाधीशको विशेष इजलासले शाही भ्रष्टाचार नियन्त्रण आयोगलाई नै असंवैधानिक ठहर गरिदियो। सर्वोच्चको फैसलाको भोलिपल्ट अर्थात् २०६२ फागुन २ गते २००६० देउवा र सिंह हिरासत मुक्त भएका थिए । उनीहरु करिब साढे ९ महिना जेल बसेका थिए ।
यसैगरी विपी कोइराला प्रधानमन्त्री पदमै रहेको बेला २०१७ पुस १ गते सार्वजनिक कार्यक्रमबाटै पक्राउ परेका थिए । उनी राजा महेन्द्रले बहुदलीय व्यवस्था हटाएर निरंकुश पंचायती व्यवस्था लागू गर्ने क्रममा परेका थिए । उनीमाथि राजनीतिक अभियोग थियो, भ्रष्टाचार वा ज्यान मार्ने अभियोग लगायतका कसुर थिएनन् ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीमा नियुक्त शाहले आजै शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।