मकवानपुर । विन्दामाया तामाङ ओखलढुंगाले फेसबुकमा आमा सम्वन्धमा यसरी भाव व्यक्त गरिन् ।
आमाको प्यार बेच्ने अनि किन्ने कुनै खानदान नभईदियोस
ममता नै उच्छिन्ने त्यत्ती सम्मको अरु वरदान नभईदियोस
सयौं – हजारौं आमाको आँसु झरेको सर्वत्र देखेकी छु मैले
विन्ती छ भगवान आफ्नै आमा नचिन्ने सन्तान नभईदियोस ।
याे मुक्तकिलाे भावले समेत आमाकाे महत्व अमुल्य रहेकाे बताउँछ । आमाकाे मुख हेर्ने दिन आजकाे लागि उनकाे भावले भने जस्तै आमालाई भगवानकाे अर्काे रुपले पुज्ने गरिन्छ । त्यसाेत आज विहानै देखि आमाकाे नाममा समाजिक संजाल भरिएका छन् ।
यसैगरी वृन्दा ढुगानाले फेसवुकामा आमाकाे नाममा यसरी मुक्तक राखेकी छन् ।
आफू बरु भोकै बसेर सन्तान अघाउने आमा
मष्तिस्कमा नै पसेर माया सद्भाव जगाउने आमा
सकिंदैन वयान गरेर महिमा अपरम्पार आमाको
आफ्नो चाहना कसेर आफ्ना सजाउने आमा।
आज वैशाख कृष्ण औंसीको दिन । नेपालमा हिन्दू संस्कृति अनुसार आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा मनाइने गरिन्छ। आमालाई सम्मान गरी बैशाख १७ गते शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । आमालाई श्रद्धा, भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।
आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा नहुनेहरू भने यस दिन काठमाडौँ उपत्यकाको पश्चिम दिशातर्फ पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ।
मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ बुढापाकाको छ । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्ना आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सो कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ ।
स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतिदेवीको अङ्ग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
यसै गरी भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेका थिए। उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गङ्गामाताको स्तुति गर्न थाले। ‘माता गङ्गासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो भन्ने अर्काे धार्मिक विश्वास समेत पाइन्छ।
त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने गरिन्छ ।
स्थानीय तहको निर्वाचनकोे मिति नजिकिँदै गर्दा मकवानपुर जिल्लामा चुनावी सरगर्मी बढेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकालाई स्थानीय तह निर्वाचनका लागि चासोको विषयले हेरिएको छ । हेटौँडा उपमहानगरपालिकामा १ जना मेयरका लागि २१ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौँडाले कुन राजनीतिक दलबाट स्थानीय सरकार पाउला भन्ने सबैको चासो छ ।
त्यसो त हेटौँडाको मेयरका लागि नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका अनन्त पौडेल र गठबन्धनका दलबाट उम्मेदवारी दिएकी मीनाकुमारी लामाबीच टकराव पर्ने देखिन्छ । पूर्वसंविधानसभा सदस्यसमेत रहेका पौडेल गठबन्धनसँग एमालेले डराउनु नपर्ने तर्क गर्दै आइरहेका छन् । आफू संविधानसभा सदस्य हुँदा निर्माण गरेको संविधानलाई स्थानीय तहमा कार्यान्वयन गर्न हेटौँडामा मेयरको उम्मेदवारी दिएको बताउँदै आएका पौडेलसँग हेटौँडाको लागि रहेका योजना, गठबन्धनको चुनौतीलगायत विषयमा केन्द्रित रहेर सुनिता विष्टले गरेको कुराकानी ः
हेटौँडा उपमहानगरपालिमामा तपाईंको उम्मेदवारी किन ?
हेटौँडाको मेयरमा मेरो उम्मेदवारी यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासमो निम्ति हाम्रो उम्मेदवारी हो । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको छ । अघिल्ला समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि मेरो उम्मेदवारी हो । विषेशगरी हेटौँडा प्रदेशको राजधानी पनि भएको छ । अब यसको स्तरोन्नतिका लागि पनि हेटौँडाको मेयरमा मेरो उम्मदवारी हो ।
तपाईंको नेतृत्वमा हेटौँडाको स्थानीय सरकार बन्यो भने मुख्य एजेण्डा के हुनेछ ?
हेटौँडा उपमहानगरपालिका जितिरहँदा हेटौँडाका जनताले स्वास्थ्य, शिक्षा र भौतिक विकासमा पछि परेका वडाहरुको संरचना निर्माणलगायत विकास गर्ने योजना छ । हेटौँडाको केही वडाहरु यस्ता छन्, जहाँ जान अहिले पनि अर्को पालिकाको बाटो भएर मात्रै पुगिन्छ । यस्ता ठाउँमा साँच्चै सफा, सुन्दर र विकासले कायापलट गरेको उपमहानगरपालिका हो भन्ने बनाउने उद्देश्य छ ।
संविधानसभा सदस्य भइसकेको मान्छे स्थानीय तहमा आउनुको कारण ?
विकास जहाँ बसेर पनि गर्न सकिन्छ । संविधानसभाको सदस्यमा म संविधान बनाउन गएको थिएँ । त्यो संविधानको स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा म स्थानीय तहको सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्न आउन चाहेको हुँ ।
गठबन्धनलाई पराजित गर्न एमालेका एजेण्डा कस्ता छन् ?
नेकपा एमाले पटक–पटक गठबन्धनसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेको पार्टी हो । कहिले कांग्रेस र राप्रपाको गठबन्धन भएको थियो । कहिले माओवादी र कांग्रेसको गठबन्धन भएको थियो । ०७४ सालको निर्वाचनमा पनि हेटौँडामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकै थियो । तर, पनि हामीले जित हासिल गर्यौं । यो वर्ष हामीबाट असन्तुष्ट भएका केही मान्छे गठबन्धन गर्न उता गएका हुन् । एमालेलाई हराउने एउटा मात्रै लक्ष्य बोकेर हिँडेको गठबन्धनको भित्र स्वार्थ भाव लुकेको छ । अहिले असन्तुष्ट भएर गठबन्धनमा गएका मान्छेको संख्या जे छ, त्यसलाई म्यानेज गरिसकेका छौँ ।
एमालेलाई हेटौँडामा आफ्नो नेतृत्व बनाउन चुनौती त होला नि ? चार राजनीतिक दल एक हुँदा एक्लो एमालेले जित्ला त ?
अहिले यो राजनीतिक दलको गठबन्धनसँग जनता वाक्क भएका छन् । गठबन्धनले केन्द्रीय तहको सरकारमा पनि अस्थिरता ल्यायो । यो गठबन्धनले प्रदेश तहको सरकारमा पनि अस्थिरता ल्यायो, र यो अस्थिरताले मुलुकलाई केही पनि दिन सकेन । यो अस्थिरताले थप महँगी, थप शोषण, थप उत्पीडन दियो र मुलुकलाई टाट पल्टाउने परिस्थिति निम्त्याएको । त्यसले गर्दा अब यो केन्द्र र प्रदेशमा भइरहेको अस्थिरतालाई स्थानीय तहमा पनि सार्ने प्रयास भइरहेको छ । यो मुलुकका लागि कलंकको विषय हो । हामीले जनतालाई बुझाउन सक्यौँ भने गठबन्धनलाई हामी हराउन सक्छौँ । जनतालाई महसुस गराउन हामीले सक्नुपर्यो । यति भयो भने गठबन्धनसँग एमालेलाई चुनाव जित्न कुनै चुनौती हुने छैन । हामीले सजिलै जित हासिल गर्न सक्छौँ ।
एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीकी मीना लामा गठबन्धनबाट तपाईंको प्रतिद्वन्द्वी बन्दा एमालेलाई घाटा कति छ ?
हामीलाई हराउनकै लागि आफ्नो पुरानो घर छाडेर अरु सँग मिल्न गएकाहरुसँग एमाले डराएको छैन । गठबन्धन हुँदैमा जित्ने निश्चित पनि हुँदैन । एमाले लामो समयदेखि हेटौँडाको ठूलो दलको रुपमा स्थापित छ । भोलि पनि रहिरहनेछ । समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै पार्टीसँग असन्तुष्टि भएर राजीनामा दिएको अवस्थामा हामी किन डराउनु ! समाजवादीको लामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिइरहँदा यतिबेला हेटौँडामा एमालेलाई घाटा शून्य बराबर नै छ भन्दा पनि फरक पर्दैन । झन् फाइदा हुन्छ ।
एमालेको निर्वाचन केन्द्रित प्रचार–प्रसार कसरी भइरहेको छ ?
हेटौँडामा एमालेको स्थानीय तहको सरकार बनाउनको लागि उपमहानगरपालिकासँगै १९ वटै वडामा चुनाव प्रचार–प्रसार कार्यालय खोलेका छौँ, समिति गठन पनि गरेका छौँ । अब त्यसको मार्फत १६ गतेबाट जनताको घरघरमा मत माग्न जानेछौँ । १६ गते पनि उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि आधिकारिकता पनि प्राप्त हुन्छ । त्यसपछि हामी व्यापक प्रचार–प्रसारमा लाग्नेछौँ । समय थोरै मात्रै बाँकी भएको कारण घर दैलो भ्याइएन भने पनि प्रत्येक टोल र वडामा जाने काम हुनेछ । समयको सीमिततालाई ख्याल गरेर निर्वाचन प्रचार गर्नुपर्ने हुन्छ । फरकधारबाट
मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफुहरु निर्वाचित भएको खण्डमा हेटौंडाको शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने बताउनुभएको छ ।
बिहिबार भएको `विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार´ कार्यक्रममा विद्यार्थीहरुको प्रश्नको उत्तर दिनुहुँदै उहाँहरुले हेटौंडामा प्राबिधिक तर्फ उच्च शिक्षासहित बिश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताउनुभयो ।
नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार पौडेलले सामुदायिक विद्यालय घर अगाडि हुँदापनि सोही क्षेत्रमा निजि विद्यालयहरुका बसहरु प्रवेश गरि विद्यार्थी निजि तिर जाने काम भइरहेकोले अब अभिभावक आफैले सामुदायिक विद्यालयमा आफ्नो छोराछोरी पढाउन मन लाग्ने खालको विद्यालयको वातावरण सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
आफू २३ वर्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदा र हाल पनि मकवानपुर बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्ष भइरहँदा धेरै अनुभव प्राप्त भएकाले सोही अनुसार शिक्षाको विकासमा जोड दिने उहाँको भनाई छ । एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निशुल्क उच्च शिक्षाको ब्यवस्था गर्ने उल्लेख गरिएको पनि बताउनुभएको छ ।
उपमेयरकी उम्मेदवार काफ्लेले विद्यार्थीहरुलाई विद्यालयमा अध्ययनका क्रममा आइपर्ने हरेक समस्यालाई समाधान गर्ने गरि उपमहानगरपालिका अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । सुरुवातमै एकैपटक सबै विद्यार्थीलाई समेट्न नसकिएपनि टाढाबाट अध्ययन गर्न हेटौंडा आउने विद्यार्थीलाई सहज रुपमा छात्रावास लगायतको कार्यक्रमहरुको सुरुवात गर्ने, प्राबिधिक शिक्षा लिइरहेका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्नका लागि आवश्यक समन्वय गर्ने, सबैको पहुँचमा शिक्षा पुर्याउने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका बर्तमान मेयर हरिबहादुर महतले आफ्नो ५ वर्षको कार्यकालमा बिरोधीहरुले बिरोध गर्न नसक्ने गरि काम भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, `हामीले यो ५ वर्षमा हेटौंडाको १९ वटै वडामा यति काम गरेका छौं कि नेकपा एमाले फेरि भोट माग्न जाँदा बिरोधीहरुले बिरोध गर्ने कुनै कुरा नै छैन ।´
उहाँले शिक्षाको क्षेत्रमा शिक्षालाई अपग्रेड गर्न शिक्षकहरुलाई अपग्रेड गराएको र अपग्रेड हुन नसकेका शिक्षकहरुलाई सम्मानजनक रुपमा अवकास प्रदान गर्ने कार्यक्रम ल्याएको, विद्यालयहरुमा नयाँ ज्ञान भएका शिक्षकहरुलाई अवसर प्रदान गरेको बताउनुभयो ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, अनेरास्ववियु मकवानपुर इन्चार्ज किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य नितेश लामिछाने लगायत हेटौंडाका विभिन्न बिद्यालयबाट विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा ७ नागस्वतीमा बर्ड फ्लु भेटियो, कुखुरा नस्ट गर्न टोली जांदै
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएको छ ।
नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।
उनको फार्ममा रहेका ४ हजार कुखुरा मध्ये सयौको सङ्ख्यामा कुखुरा मरिसकेको बताईएको छ । ९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि आज बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको प्रमुख डाक्टर ठाकुरले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा जांदै गरेको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए ।
आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नस्ट गरिने उनले बताए । बर्ड फ्लू प्रमाणित भएको रिपोर्ट आएपछि बर्ड फ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नस्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
र्यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले आक्रोश व्यक्त गरे। र्यापिड टेस्टलाई आधार मानेर क्षतिपूर्ति दिन सकेमात्र किसानलाई राहत हुने अधिकारीले बताए । “राज्यले परीक्षण खर्च बचाउन खोज्दा किसान मारमा परे, र्यापिड टेस्ट गर्दा ज्यूदो रहेको कुखुराको राज्यले क्षति पाउनुपर्छ, नत्र रिपोर्ट आउदा खोर खालि हुन्छ” उनले भने “किसानलाई न्याय दिइन्न भने हामी व्यवसायीको साथ प्रशासनलाई पनि हुन्न ।”
बैठकमा पशुपंछि तथा मत्से बिकास निर्देशनालयका निर्देशक मोगलप्रसाद साहले बर्ड फ्लु नियन्त्रण नियमावली २०७६ अनुसार नियन्त्रण तथा नियमन गरिने र कानुनतः किसानलाई राहत उपलब्ध हुने बताए ।
बैठकमा प्रहरी निरीक्षक बलराम श्रेष्ठ, कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेललगायतको उपस्थिति थियो । बैठकमा सहभागी किसानहरूले रिपोर्ट ढिलो प्राप्त हुदा नोक्सान बढ्ने गरेकोमा टिप्पणी गरेका थिए । बैठकले छिटोछिटो रूपमा रिपोर्ट उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
