मकवानपुर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष पदबाट राजीनामा दिएका हुन ।
मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन् ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।
यस्तो छ मिश्रको वक्तव्यको पूर्णपाठ
विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा
स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ। गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु।
हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु। तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिन। तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु।
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईँहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ।
मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो। सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु। त्यस्तै, सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिनुभएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गर्दछु।
पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निसङ्काेच क्षमा याचना गर्दछु। पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु। सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ।
नेपालको जय होस्!
रवीन्द्र मिश्र
विवेकशील साझा पार्टी
११ जेठ २०७९
मकवानपुर । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि प्रदेश राजधानी हेटौंडा र मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकामा समेत मुल्य वृद्धिको बिरोधमा प्रदर्शन भइरहेको छ ।
आज जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिका थिए ।
सोमबा हेटौंडाको वडा नम्बर ९ मा विरोध प्रदर्शन गरिएको थियो भने आज मंगलबार साझ हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम राखिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको सयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गर्न लागिएको हो ।
सोमबार नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले बिरोध प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेललगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हरप्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्छे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।
मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित मिनाकुमारी लामाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।
मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश डिल्लिरत्न श्रेष्ठले नगरप्रमुखमा निर्वाचित लामालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आफूले पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगतै लामाले उपमेयर राजेश बानियाँ, १९ वटा वडाका अध्यक्षहरु र १९ वटै वडाका सबै वडासदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

आफूले मुलुक र जनताको हितको लागि काम गर्ने प्रण पहिले पनि गरेको र अहिले सपथ लिएपछि झनै जिम्मेवारी आभाष भएको लामाले बताइन् । सपथ ग्रहणपछि छोटो मन्तव्यमा दिंदै नगरप्रमुख लामाले बिजयी गराउनको लागि भूमिका खेल्ने मतदाताहरुको मन नदुख्ने गरी कानुन बमोजिम काम गर्ने बताइन् । उपमेयर, वडा अध्यक्षहरु र सदस्यहरुलाई पनि यसै अनुरुप काम गर्न उनले निर्देशन दिइन् ।

पद तथा गोपनीयताको सपथ लिएसँगै सबै जनप्रतिनिधिहरुले आजैबाट आफ्नो जिम्मेवारी बहन गर्ने छन् । नगरप्रमुख भएपछि लामाले पहिले पटक नीतिगत निर्णय सदर गर्दै कार्यभारको सुरुवाती गर्ने कार्यक्रम रहेको छ ।

आजै सबै जनप्रतिनिधिहरुलाई विजयी प्रमाणपत्र पनि वितरण गरिएको छ । कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महतले विजयी जनप्रतिनिधिहरुलाई अबको ५ वर्ष निष्ठा पूर्वक काम गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी क्रियाकपालमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम र लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको प्रवक्त प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले बताए ।
मकवानपुर हेटौडा उपमहानगरपालिका १५ पिपलबोट स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा संभावित लागु औषध भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना १४ प ३१६४ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा ११ बस्ने २८ वर्षिय सविन पहाडीले लुकाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला परेको बताएको छ ।
यसैगरी हेटौडा ४ पारिजातपथ स्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने १९ वर्षिय युवराज चौलागाईलाई पनि शंकास्पद लागेर जाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाईइएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट फेला पारेको पछि प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा १० बसपार्कमाबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षिय लक्ष्मण घलानलाई पनि नियन्त्रणमा लिएको छ ।
घलानको झोला जाँच गर्दा लागु औषध नुर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट फेला परेकोले लागु औषध सहित उनलाई नियन्त्रणमा लिएको प्रवक्त कार्की बताए ।
मकवानपुर । आइतबार देशका विभिन्न भागमा आज हावाहुरी र चट्याङ्सहित बर्षाको सम्भावना रहेको छ । बिहानै सुरु भएको बर्षा अहिले कम भएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले हावाहुरी तथा चट्याङ सहितको क्षणिक बर्षा हुँदै आएको जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
देशका अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देस भरका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकोछ ।
